ताजा अपडेट »

सेतो पुतलीबाट सापु रोगको जोखिम : दृष्टि नै गुम्न सक्ने खतरा

आइतबार, २७ भदौ २०७८, ०९ : ४०
104 Shares
आइतबार, २७ भदौ २०७८
104 Shares

काठमाण्डाै । आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहेको सापु रोगका बिरामी बढ्न थालेका छन् ।पछिल्लो  समय पहाडी जिल्ला गुल्मी, पाल्पा, कास्कीलगायत काठमाण्डौ उपत्यकामा समेत सापु रोगका बिरामीहरु बढ्न थालेका हुन् । सापु रोगको सङ्क्रमण बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

सिजनल हाइपरएक्युट पानुभिआइटिस अर्थात सापु रोगको सङ्क्रमण सेतो पुतलीबाट हुने दृष्टि विषेशज्ञ डा. अरुण ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार पुतलीलाई छोएर आँखामा हात लगेमा सङ्क्रमण हुन सक्छ ।

बत्तीको वरिपरि घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको असरले आँखाको दृष्टि नै गुम्ने भएकाले जोगिन डा. ढुङ्गानाको सुझाव छ । विशेषगरी भदौदेखि मंसिर महिनासम्म सेतो पुतलीको प्रजनन सुरू हुने भएकाले यो बेला सापुका बिरामी धेरै देखिने गरेका उहाँले बताउनुभयो ।

कहिलेकाहीँ र कमैमा देखिने भए पनि यो आँखामा लाग्नेमध्येको खतरनाक रोग रहेको आँखा विशेषज्ञले बताएका छन् ।आँखाको दृष्टि नै गुम्ने खतरा भएकाले सकेसम्म सेतो पुतलीको सम्पर्कमा नआउनु नै सापु रोगबाट बच्ने एकमात्र उपाय हो ।सेतो पुतलीले छोएको दुई दिनभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा धेरै हुने भएकाले सचेत हुन डाक्टर ढुङ्गानाको सुझाव छ । नेपालमा २०३२ सालमा पहिलो पटक यो रोग देखिएको थियो।

यो रोगको निदान तथा उपचार आँखा विभाग तथा अस्पतालहरुमा मात्र गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रियामार्फत् समेत गरिन्छ । समयमा उपचार भएमा मात्र आँखा निको हुन्छ । नत्र आँखाको दृष्टि नै गुम्न सक्छ।

लक्ष्यणहरु :

-एक्कासी  एउटा आँखा रातो हुने 

-उज्यालोमा हेर्न गाह्रो हुने

-आँखाको कालो भागको बीचमा सेता दाग देखिने

-चिप्रा नलाग्ने 

-दृष्टि कम हुँदै जाने

-उपचारमा ढिलाइ भएमा कालो नानीमा सेतो देखिनु 

बच्ने उपाय :

-सेतो पुतलीबाट जोखिने

-कोठामा पुतली पस्न नदिन झ्यालढोकामा जाली लगाउने

-झुल लगाएर सुत्ने 

-सेतो पुतलीलाई सिधै हातले नछुने

-हातले छोइहाले साबुनपानीले राम्ररी हात धुने 

-हात नधोइकन आँखामा छुँदै नछुने 

-झुक्किएर छोइहाले आँखा सफा गरेर तुरुन्तै आँखा अस्पताल जाने ।

-रोगको लक्ष्यण देखा परेमा वा शङ्का लागेमा तुरुन्तै आँखा विभाग, अस्पताल जाने 

-आफूखुसी कुनै पनि आँखाको औषधि तथा जडीबुटी नराख्ने

-डाक्टरको सल्लाहमा उपचार गर्ने 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।