काठमाडौँ । एमाले विधान महाधिवेशनले भावी नेतृत्वको स्वरूप निर्धारण गर्ने देखिएको छ। दसाैं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ। त्यसअघि विधान महाधिवेशन बोलाइएको छ।
विधान महाधिवेशनबाट पार्टीको कार्यकारी नेतृत्व, पदाधिकारी संख्या, केन्द्रीय कमिटीको आकारप्रकार निर्धारण हुनेछ। स्थायी कमिटीको शनिबारको बैठकले असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन सारेर १५ देखि १७ सम्म गर्ने निर्णय लिएको छ। भावी नेतृत्व कस्तो हुने, कस्तो बनाउने, केन्द्रीय कमिटी र पदाधिकारी कति सदस्यीय हुने, सांगठनिक संरचना कस्तो बनाउने भन्ने विषयको निर्धारण विधान महाधिवेशनले गर्नेछ।
नवौं महाधिवेशनले एमालेमा उमेरहद ७० वर्ष तोकेको छ। उमेरहदको यो व्यवस्था कायमै रहे दसौं महाधिवेशनपछि पहिलो पुस्ताका धेरैजसो नेताले राजनीतिक अवकाश पाउने भएकाले पनि आगामी विधान महाधिवेशन अर्थपूर्ण रहनेछ। ‘अहिले ७० वर्षे उमेरहदको प्रावधानलाई केही गर्नु नपर्ने भएकाले यो व्यवस्था कायमै छ। प्रतिनिधिहरूले अधिवेशनमा कस्तो मत जाहेर गर्छन् तर हामीलेचाहिँ ७० वर्षे प्रावधान आवश्यक देखेकाले यथावत राखेका छौं’, एमाले सचिव प्रदीप ज्ञवालीले भने।
उमेरहदको यो प्रावधान कायम गर्नुपर्ने पक्षमा नेताहरू छन्। एमालेमा महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्रै निर्वाचित हुने व्यवस्थाले भने थप बहस सिर्जना गरेको छ। आठौं र नवौं महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवसहित सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था थियो। अहिले तयार पारिएको संशोधित विधान मस्यौदामा भने सो व्यवस्था हटेको छ। ‘अध्यक्ष १, उपाध्यक्ष २, महासचिव १, उपमहासचिव २, सचिव ७ हुनेछन्’, संशोधित विधानमा उल्लेख छ। संशोधित विधानमा उपाध्यक्षको संख्या घटाइएको छ। विधान मस्यौदामा सचिवको संख्या भने बढाइएको छ। यसअघि पाँच सचिव निर्वाचित हुने व्यवस्था थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया