भाद्र ९,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश विश्व विद्यालय स्थापनाका लागि प्रक्रिया अघि बढीसकेको बताएका छन् । संघीय सरकारसँगको छलफलमा विश्वविद्यालयहरुको वर्गीकरण गरी विद्यालयको संख्या थप्नेभन्दा पनि भएका विश्व विद्यालयहरुलाई व्यवस्थित गर्नेतर्फ छलफल भइरहेको उनले बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयले यसै वर्षदेखि प्रदेशमै पहिलो पटक सुरु गर्न लागको बीए,एलएलबी, विषयको अध्यापनका लागि प्रदेश सरकारले सहयोग गरेको बताउँदै उनले सहकार्य निरन्तर हुने समेत स्पष्ट पारे । लुम्बिनी बौद्ध विश्व विद्यालयले यसै वर्षदेखि सुरु गर्न लागेको बीए,एलएलबी, शिक्षा कार्यक्रमका बारेमा जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरालले कुनै पनि विषयमा अध्ययनका लागि प्रदेश बाहिर तथा विदेशमा समेत जान नपर्ने स्थिती सिर्जना गर्नेतर्फ प्रदेश सरकार लागिरहेको बताए । बीए,एलएलबी अध्ययनका लागि सुर्खेत र काठमाण्डौं जानुपर्ने विद्यार्थीको बाध्यतालाई मध्ययनजर गर्दै मन्त्री बरालकै पहलमा बुटवलमा सो विषयको शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो ।
प्रदेश ५ सरकारको समेत आर्थिक सहयोग रहनेगरी लुम्बिनी बौद्ध विश्व विद्यालयले सो विषयमा अध्यापन सुरु गर्दै छ । आगामी असोज १ गतेदेखि औपचारिक रुपमा कक्षा सञ्चालन हुने जानकारी गराउँदै विद्यालयका उप कुलपति हृदय रत्न बज्राचार्यले विश्व विद्यालयले आवश्यकताका आधारमा नयाँ विषयहरु थप्दै जाने बताए । लुम्बिनी र बुद्ध धर्मबारे अन्तराष्ट्रिय स्तरमा पहिचान गराउनका लागि विश्व विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गर्दै बज्राचार्यले विद्यालयको शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए । विद्यालयमा थप गरिएको नयाँ शैक्षिक कार्यक्रम बीएएलएलबी अध्ययनका लागि ७० जनाको कोटा रहेकोमा ३ जना महिला, २ जना आदिवासी तथा जनजाती, २ जना मधेशी तथा दलित, आपङ्ग, दुर्गम जिल्ला, मुस्लिम समुदाय, थारु र अन्यमा एक–एक जना गरी १३ जनाका लागि छात्रर्वत्तीको व्यवस्था गरिएको छ । ५ वर्षे शैक्षिक कार्यक्रमका लागि प्रति विद्यार्थी ३ लाख ९७ हजार ६ सय २५ रुपैयाँ शुल्क लाग्ने कलेजका रजिष्टार तिलकराम आचार्यले जानकारी गराए ।
प्रतिक्रिया