ताजा अपडेट »

विज्ञापन विधेयक पारित : क्लिनफिड व्यवस्था लागू हुने

बुधबार, ०४ भदौ २०७६, २२ : ३७
20 Shares
बुधबार, ०४ भदौ २०७६
20 Shares

भदौ ४,
काठमाण्डौं । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले तत्कालै क्लिनफिड (अर्थात् विज्ञापनरहित) लागू हुने व्यवस्थासहितको विज्ञापन विधेयक पारित गरेको छ ।यसअघि राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मिति तोकेपछि मात्र क्लिनफिड लागू हुने व्यवस्था गर्दै विज्ञापनसम्बन्धी विधेयक पारित गरेको थियो ।

तर, प्रतिनिधिसभाको विकास समितिले त्यसलाई संशोधन गर्दै क्लिनफिड तत्कालै लागू हुने व्यवस्था राखेर बुधबार विधेयक पारित गरेको हो ।ऐन लागू हुँदा प्रशारण सम्झौता भइसकेका च्यानललाई भने एक वर्ष समय दिइएको छ । ऐन प्रारम्भ हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रशारण गर्न सम्झौता गरेका संस्थाले एक वर्षभित्र विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले हाल प्रशारण भइरहेका विदेशी च्यानललाई एक वर्षसम्म क्लिनफिड लागू हुने छैन । नयाँ सम्झौता गर्ने विदेशी च्यानलका लागि भने यो तत्कालै लागू हुनेछ ।विधेयकमा सरकारी विज्ञापन एकद्वार प्रणालीबाट वितरण गर्ने व्यवस्था पनि गरिएको छ । सबै प्रकारका सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत वितरण हुने व्यवस्था गरिएको हो ।

ऐन विपरीत विज्ञापन गर्नेविरुद्ध बोर्ड वा स्थानीय तहमा उजुरी गर्न सकिनेछ । सजायँ हुने कसुर सम्बन्धी शुरु कारबाही र किनारा गर्ने अधिकार भने सम्बन्धित जिल्ला अदालत र स्थानीय तहलाई दिइएको छ । समितिले सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा आधिकारिकता खोज्नुपर्ने व्यवस्था पनि गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।