भाद्र ४,
बुटवल । रुपन्देहीको बुटवल-१० कालिकानगरमा अवस्थित कालिका मानव ज्ञान उच्च माविमा बुधबारदेखि १५ औं ब्याचको राष्ट्रिय सुरक्षा दल (एनसीसी) को सिनियर तहको प्रवचन कार्यक्रम सुरु भएको छ ।
सय दिन चल्ने सो तालिमको उद्घाटन गर्दै गरुण दल गणका सहायक गणपती अभयनाथ पाण्डेले तालिममा सिकेका सीपले जीवनका हरेक लक्ष्य प्राप्तिका लागि सहयोग गर्ने उल्लेख गरे । अनुशासीत जीवन शैली, राष्ट्रको सुरक्षा तथा विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्ती र समस्याहरुमा समेत उद्धार र सहयोगका लागि यो तालिमले उत्प्रेरणाको काम गर्ने उनले बताए । कार्यक्रममा बोल्दै वडा नम्बर १० का अध्यक्ष पदम बहादुर थापाले अनुशासीत र मेहनती भएर तालिममा सहभागि हुन विद्यार्थीलाई आग्रह गरे । अविभावककोतर्फबाट बोल्दै क्या. किसनबहादुर थापाले तालिममा सहभागि विद्यार्थीलाई लक्ष्यप्रति इमान्दार हुन आग्रह गरे । जीवनमा कुनै पनि लक्ष्य हासिल गर्नका लागि अनुशासन र निरन्तर अभ्यासको खाँचो औल्याउँदै उनले तालिममा सहभागी वद्यार्थीलाई बधाई ज्ञापन गरे ।
विद्यालय प्राचार्य घनश्याम पाठककले तालिममा सहभागि विद्यार्थीलाई समय सही व्यवस्थापन गरी अगाडी बढ्न विद्यार्थीलाई आग्रह गरे । समयको सही व्यवस्थापन गर्ने कला तालिमभित्र रहेको जानकारी गराउँदै उनले पठनपाठनमा कुनै असर नगर्ने गरी तालिम सञ्चालन हुने हुँदा विद्यार्थीलाई निश्चिन्त भएर तालिममा सक्रिय सहभागिताका लागि आग्रह गरे । विगत वर्षदेखि नै एनसीसीको तालिम सञ्चालन गर्दै आएको यस विद्यालयमा २ सय जना विद्यार्थीले आवेदन दिएकोमा १८ छात्रा र त्यती नै छात्र गरी ३६ जना विद्यार्थी छनोटमा परेका छन् ।
प्रतिक्रिया