ताजा अपडेट »

मोटोपन र कम फुर्तिलो भएपछि प्रहरी बिहानै दौडिदै

मंगलबार, ०१ भदौ २०७८, १० : ११
18 Shares
मंगलबार, ०१ भदौ २०७८
18 Shares

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपन र कम फुर्तिलो हुन थालेपछि दैनिक बिहान ५ देखि ७ किलो मिटर प्रहरीलाई दौड सँगै अन्य व्यायाम गराउने सुरु गरेको छ । जिल्लामा प्रहरी प्रमुख भएर आएपछि एसपी सुरेश काफ्लेले यो अभियान शुरु गरेका हुन् ।

प्रहरीमा मोटोपना धेरै र कम फुर्तिलो देखिएपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत माथिल्लो तहका प्रहरी अधिकारीदेखि जवान सबैलाई शारीरिक रूपमा फिटनेस हुन यो अभियानमा सहभागि हुने गर्दछन् । विगतका दिनमा व्यक्तिगत रुपमा थोरै मात्रामा शारीरिक व्यायाम हुने भएयता पनि अहिले अनिवार्य रुपमा सामूहिक शारीरिक अभियान सुरु भएको प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले बताए । उनका अनुसार शारीरिक र मानसिक रुपमा स्वस्थ रहन व्यायाम एक तत्व हो ।

नेपाल प्रहरी २४सै घण्टा जनताको सेवामा अहोरात्र खटिने भएकाले पनि शारीरिक र मानसिक फिट हुन पर्दछ । ‘अहिले हामीले आफ्नो डिउटीमा रहने बाहेक सबै प्रहरी कर्मचारीहरू दैनिक एक घण्टा दौडिन शुरु गरेका छौँ,’ उनले भने, ‘पहिला व्यक्तिगत रुपमा प्रहरी कर्मचारीले गर्ने भएयता पनि अहिले सामूहिक रुपमा गर्दै आएका छौँ । प्रहरी फुर्तिलो र चनाखो हुनु पर्ने हाम्रो मान्यता छ । त्यसमा पनि अहिले कोरोना महामारी भइरहेको बेला दैनिक व्यायाम र खानपिनलाई ध्यान दिएमा धेरै फाइदा हुने भएकाले पनि यो अभियान शुरु भएको हो । ’

त्यस्तै उनले शारीरिक रूपमा चुस्त र फुर्तिलो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीमा फिटनेसको कमी हुँदै गएको प्रति सङ्गठनभित्र चिन्ता बढेको समयमा यो अभियानले धेरै महत्व लिने समेत बताए । जिल्ला सरुवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डीएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरी दौडिन र व्यायाम गर्न थालेका छन् । उनका अनुसार कतिपय जिल्लाहरूमा यस्तो अभियानहरू भएयता पनि मुख्य गरी कार्यालय प्रमुखमा भर पर्ने हुन्छ । अहिले नयाँ कार्यालय प्रमुख जिल्लामा आएपछि यो अभियान शुरु भएको समेत उनको भनाइ छ । उनले भने, ‘नयाँ कार्यालय प्रमुख आएपछि अब समुहमा यसरी शारीरिक व्यायाम गरौँ भने ।

त्यही अनुसार नै हामीले यसरी दैनिक रुपमा दौडसँगै व्यायाम गर्दै आएका छौँ । तर, सबैलाई नियमित व्यायाम गर्नुपर्छ भन्ने मनमा लागेको भएयता पनि थोरै जनशक्ति भएको ठाउँमा कामको धेरै लोड पर्ने भएकाले पनि गर्न सकिदैन । तर, जिल्ला प्रहरी कार्यालयमा जनशक्ति धेरै भएकाले पनि यो अभियान गर्न सहज भएको हो ।’ त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत इन्स्पेक्टर झविन्द्र परियारले यो शारीरिक व्यायाम पिटी नियमित प्रक्रिया भएको बताए ।

उनले अहिले सामूहिक रुपमा दैनिक करिब ७ किलो मिटर दौड्ने र कार्यालयमा आएर शारीरिक व्यायाम पिटी गर्ने गरेको बताए । उनले पहिला व्यक्तिगत रुपमा गर्दै आएको भएयता पनि यसरी सामूहिक रुपमा शारीरिक व्यायाम र पिटी गर्दा आफूहरू आनन्द हुने समेत बताए । पहिला यसरी जिल्ला प्रहरी कार्यालय दाङले मात्र होइन जुनसुकै ठाँउमा ड्युटीमा रहेका प्रहरीहरूलाई दैनिक अभ्यासको आवश्यकता पर्ने आम नागरिकहरूको बुझाई छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी