ताजा अपडेट »

बुटवल उपमहानगरको ‘हाम्रो बुटवल’ पुस्तकमा त्रुटिनै त्रुटि, कमजोरी बारे सम्बन्धित निकाय माैन

सोमबार, ३२ साउन २०७८, १५ : ०८
282 Shares
सोमबार, ३२ साउन २०७८
282 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यक्रममा आधारित ‘हाम्रो बुटवल’ पुस्तक प्रकाशनमा त्रुटिनै त्रुटी भेटिएको छ । उपमहानगरका सबै विद्यालयहरुमा अनिवार्य गरिएको पुस्तकमा उल्लेख गरिएका सामग्रीहरु नै गलत भएपछि उनीहरुले कस्तो शिक्षा पाउँछन् सहजै अनुमन गर्न सकिन्छ ।

पुस्तकमा राखिएको गलत सामग्रीले बालबालिकामा गलत शिक्षा जाने भएपनि सम्बन्धित निकायले भने त्यसतर्फ कुनै ध्यान दिएको छैन । लाखौ रकम खर्च गरी प्रकाशन गरिएको पुस्तकमा भेटिएको लापरबाहीप्रति बुटवल उपमहानगर तथा महानगरको शिक्षा शाखा मौन रहनु आश्चार्यको विषय बनेको छ । सावैजनिक खरिद ऐन अन्तरगत टेन्डर प्रक्रियाबाट छपान गरिएका पुस्तकमा कमजोरीहरु भेटिए पनि सुधारका लागि सम्बन्धित पक्षलाई जानकारी नगराउनु र सम्बन्धित पक्षले समेत अहिलेसम्म कुनै प्रतिक्रिया नजनाउनुले मिलोमतो र अनियमितताको आशंका बढेको छ ।

स्थानीय निकायहरुले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम विकास गरी लागू गर्न पाउने शिक्षा नियमावली अन्तरगत प्रकाशन गरिएको कक्षा ३ को अँग्रेजी संस्करणको ‘आवर बुटवल’ विषयको पुस्तक छापाईमा गम्भीर लापरबाही भेटिएका छ । उक्त पुस्तकको पाठ तीनमा ‘आवर टुरिस्टस साइटस’ (हाम्रो पर्यटकीय स्थलहरु) शिर्षकको पाठमा बुटवलको मणिमुकुन्द पार्क (फुलबारी) को तस्विर राखी ‘लुम्बिनी बसपार्क’ भन्दै व्याख्या गरिएको छ ।

पुस्तकको पेज नम्बर ९ मा रहेको उक्त पाठमा लुम्बिनी बसपार्कको तस्विर हुनु पर्नेमा मणिमुकुन्द सेन उद्यान (फुलबारी)को तस्विर राखेर ब्याख्या गर्दा बालबालिकाले गलत शिक्षा पाउने भएका छन् । यसअघि कक्षा २ का बालबालिकाहरुका लागि प्रकाशित ‘हाम्रो बुटवल’ पुस्तकमा भेटिएको कमजोरी बारे ग्लोबल आवाजमा समाचार प्रकाशन भइसकेको छ ।

कक्षा २ को ‘हाम्रो बुटवल’ विषयको पुस्तक प्रकाशनमा बुटवलको जीतगढी किल्लादेखि उत्तरमा रहेको बुटवलसँगै जोडिएको तिनाउ गाउँपालिका–२ मा अवस्थित नुवाकोट गढीको विषयमा जानकारी गराउने उद्देश्यले तयार पारिएको ‘वल्ड बुटवल’ (पुरानो बुटवल) शिर्षकको पाठमा नुवाकोट चिन्हाउन प्रयोग गरिएको तस्विरमा नेपालकै नुवाकोट जिल्लामा अवस्थित नुवाकोट दरबारको तस्विर छापिएको थियो । ८८ पेजमा प्रकाशित उक्त पुस्तकको पेज नम्बर ४८ मा सो तस्वीर छापिएको छ ।

बुटवल उपमहानगर शिक्षा समितिले पाठ्यक्रम तयार पारी पुस्तक लेखन तथा प्रकाशनका लागि बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. नारायणप्रसाद पन्थ सहितको समूहलाई दिएको थियो । पुस्तकको लेखन तथा प्रकाशन टिममा डा. लक्ष्मी पोखरेल, खिमानन्द भण्डारी, छवि नेपाल, राजेन्द्र प्रसाद आचार्य र गोविन्द ज्ञवाली रहेका छन् । पुस्तकको भाषा रुपान्तरण तथा सम्पादकको रुपमा मनोज प्रसाद सापकोटा र दिनेश पन्थी रहेका छन् ।

पुस्तक छपाई तथा वितरणको जिम्मा आदर्श छापाखाना भक्तपुर मल्टि कलर प्रिन्टर्स प्रा.लिले लिएको थियो । कक्षा २ का लागि पुस्तकको बिक्री मूल्य १२३ र कक्षा ३ का लागि १२४ रुपैयाँ राखिएको छ । पुस्तक बुटवलका कक्षा दुई र तीनमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुले खरिद गरि सकेका छन् ।

पुस्तकमा भेटिएका कमजोरी बारे समाचार बाहिरिए पनि बुटवल उपमहानगरले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । रुपन्देहीलाई शैक्षिक क्षेत्रको अब बनाउमा महत्वपूर्ण भूमिका रहेको बुटवलमै सरकारी स्तरबाट प्रकाशित पुस्तकमा भएको त्रुटिले कस्तो सन्देश जाला ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।