बुटवल । गाउँमा बाटो बनेपछि घर अगाडिको बाटोहुँदै बस गुड्ने भएपछि मख्ख थिए, तत्कालिन अर्घाखाँचीको जुकेना गाविस–८ र ९ का स्थानीय । गोरुसिंगे सन्धिखर्क सडक खण्ड अन्तरगत अमराईबाट १४ किलोमिटर उत्तरमा रहेको साविक जुकेनाको शिवादहसम्म मोटर गुड्ने भएपछि बाजागाजासहित भव्य उत्सवनै मनाइयो । वि.स. २०६५ सालमा गाउँमा बनेको मोटरबाटो हुँदै बस पुगेपछि गाउँलेहरुले तामझामका साथ स्वागत गरे । त्यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले प्रमुख अतिथि भएर गाउँमा आएको बसलाई स्वागत गर्दै रिबन काटे ।
मोटरलाई स्वागत गर्न रिबन काटेर खुसी मनाइरहँदा घर अगाडि चुहिने धाराका पाइप लाइन पनिसंगै काटिएका थिए । मोटर बाटो बनाउने क्रममा गाउँसम्म पुग्ने पानीका पाइपहरु छिन्नभिन्न हुने गरी काटिएपछि घर अघिको धारा सुख्खा हुने नै भयो । गाउँमा यसरी एक आवश्यकता पूरा गर्दा अर्को आवश्यकताको पूर्वाधरमा असर गरे पनि छिट्टै मर्मत हुने अपेक्षा गरिएको थियो । तर, दशक वित्दा पनि रिवनसँगै काटिएका पानीमा धाराहरु सुख्खा नै रहे ।
दुन्धुरे खानेपानी आयोजनाको खासगरी जुकेनादेखि शिवादहसम्मको पाइप पूर्णरुपमा नै छेतविक्षेत भए । दुन्धुरे पानी लगभग साविक जुकेना गा.वि.स. सबै र जलुके गा.वि.स.का केहीस्थानीयले २०६२ देखि २०६४ सालसम्म उपभोग गरेका थिए । त्यसपछि अन्य वैकल्पिक खानेपानीको स्रोत नभएका क्षेत्रहरु लामो समयदेखि मारमा परेका छन् । यो आयोजना लामो समयसम्म सम्पन्न नहुदाँ यहाँका बासिन्दा पीउने पानीका लागि घण्टौको पैदल यात्रा गरेर गाग्रोमा बोक्नु पर्ने अवस्था छ । यद्यपी कालिमाटी, गल्दा, सानादह लगायतका स्थानीयले भने अहिले पनि दुन्धुरे खानेपानी उपभोग गर्दै आएका छन् ।
खानेपानी आयोजनाको लागि भन्दै वर्षेनी लाखौँ बजेट आएपनि एक दशक बढी समय बितिसक्दा पनि मर्मतको काम नहुँदा जनता मारमा परेका छन् । धेरै जसो खानेपानीका ट्याङकी र धाराहरु जिर्ण अवस्थामा पुगेका छन् ।
घण्टौ लगाएर पानी लिन जान बाध्य छन् स्थानीय
सितगंगा नगरपालिका–६ (साविक जुकेना गा.वि.स.वडा नम्बर ९) टावर टोल निवासी पार्वता आचार्य बिहान ४ बजे उठछिन् । उठ्ने वित्तिकै उनलाई चिन्ता एउटै कुराको हुन्छ, अब कसरी पानी ल्याउने । घरबाट करिब ४५ मिनेट लाग्छ उनलाई, पानी लिन ठूला पँधेरामा जान ।
उनको घर नजिकै दुन्धुरे खानेपानी आयोजनाको ठूलै ट्याङ्की छ । जुन एकदमै जिर्ण अवस्थामा पुगिसकेको छ ।उक्त ट्याङ्कीमा पानी जम्मा गर्न पाए आफूहरुलाई धेरै सजिलो हुने उनी बताउँछिन् । खानेपानीका लागि समस्या भएको भन्दैआफूहरुले वडाध्यक्ष र नगर प्रमुखलाई पटक–पटक गुनासो राख्दा पनि माग सम्बोन्धन नगरेको उनको गुनासो छ ।
यस्तै टावर टोलकी बेल कुमारी भट्टराई पनि विहानको झिसमिसेमै गाग्रो बोकेर पँधेरो धाउछिन् । उनलाई विहानको पाँच नबज्दै कसरी पँधेरो पुगेर पानी ल्याउने र हतार–हतार भान्छाका काममा लाग्नु पर्ने चिन्ताले पिरोल्छ। उनको घर नजिकै रहेको ठूलो पानी ट्याङ्की र धाराले प्यास मेटाउन छाडेको दशक बढी भयो । ‘पानी आए मात्रै पनि हामीलाई धेरै सजिलो हुने थियो ।’ उनी भन्छिन्‘टावर टोलका स्थानीय त पानी नपाएर काकाकुल नै हुने भयौं ।’ चुनाबमा सबै गर्छौ भनेर आश्वासन दिएका नेता चुनाव जितेपछि एक पटक पनि जनताका समस्या बुझन नआएको भन्दै उनले गुनासो गरिन् ।
यस्तो गुनासो गर्ने टावर टोलका स्थानीय मात्रै छैनन् । फुर्सामाटा, खमारी, देउराली, कलमकोट, दाङसिङ्ग,शिवादह, कैवाङ्ग र जुवाकोट लगायतका स्थानीयको व्यथा उस्तै छ ।
दशक बढीदेखि सुख्खा बनेका धारामा अझै पानी चुहीएन
वि.स. २०४६/४७ सालबाट सुरु भएको खानेपानी आयोजना २०५३/५४ सालमा सम्पन्न भएको थियो । पोखरी, डाँडापारी लगाएतका १५० घर धुरीले पहिलो पटक सार्वजनिक धारोबाट दुन्धुरे खानेपानी उपभोग गरेका थिए । सुरुमा सानो आयोजनाको रुपबाट सुरु भएको दुन्धुरे खानेपानी आयोजनामा सिरनेरी मूलको पानीलाई समावेश गरी साविक जुकेना गा.वि.स. र जलुकेको गा.वि.स.का केही क्षेत्रमा समेत खानेपानी पुर्याउने लक्ष्य रहेको थियो ।
यस्तै २०५५ मा आयोजनालाई विस्तार गरी गल्दा, करापु, दाङसिङग हुँदै जलुके गा.वि.स. वडा नम्बर १ का केही स्थानीय गरी २५० घरधुरीले खानेपानी पानी उपभोग गरेको थिए ।वि.स. २०६२ सालमा विस्तार हुदैँ यो आयोजनाको पानी फुर्सामाटा, देउराली, कलमकोट, दाङसिङ्ग, शिवादह, कैवाङ्ग र जलुकेको जुवाकोटसम्म पुगेको थियो । वि.स. २०६२ देखि २०६४ सालसम्म साविक जुकेनाका धेरै स्थानीयले दुन्धुरेको पानी उपभोग गरेका थिए । तर, २०६४ सालदेखि यता सो क्षेत्रका स्थानीय यो खानेपानी उपभोग गर्नबाट बञ्चित भएका छन् ।
दुन्धुरे खानेपानी आयोजना बजेट अभाबका कारण भने मर्मत बिलम्ब भएको होइन् । स्थानीय तहका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका नेता र स्थानीय उपभोक्ता समितीको आ–आफ्नै स्वार्थका कारण लामो समयसम्म योजना सम्पन्न हुन नसेको हो । साथै अनुगमन गर्ने सम्बन्धीत निकायले लामो समयसम्म योजना के–कति कारणले पुरा भएको छैन भनेर अध्ययन नगर्नु पनि गम्भीर लापरवाही हो ।
दुन्धुरे खानेपानीको मर्मतका लागि सरकारले आर्थिक वर्ष २०७०/७१ सालसम्म नियमित रुपमा बजेट दिइदै आएको थियो । त्यसपछि भने केन्द्र सरकारले सो खानेपानी आयोजनाका लागि बजेट बिनियोजन गरेको छैन् ।लामो सयमसम्म पनि काम सम्पन्न नभएको र लाखाँै बजेट खर्च भएकाले सरकारले बजेट रोकेको थियो ।
आर्थिक वर्ष २०७५/७६ बाट लुम्बिनी प्रदेश सरकारले दुन्धुरे खानेपानीका लागि बजेट उपलब्ध गराउँदै आएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पा, साइट अर्घाखाँचीका इन्जिनियर राम भरोष यादवका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशबाट ७० लाख बजेट आएको थियो । जसमध्ये ३८ लाख ४४ हजार २३६ रुपैँया बजेट खर्च भएको थियो भने बाँकी रकम फ्रिज भएको थियो । यस्तै २०७६/७७ मा ७० लाख बजेट आएकोमा आपसी विबादका कारणले कुनै पनि काम नभएर सबै बजेट फ्रिज भएकोे थियो । आर्थिक वर्ष २०७७/७८ मा ९१ लाख ८८ हजार बजेट आएकामा ८६ लाख ४८ हजार ६४० खर्च भएको थियो भने ४ लाख ६० हजार १८५ रुपैँया फ्रिज भएको थियो । आर्थिक वर्ष ७८/७९ का लागि भने अझै बजेट सिलिङ्ग नभएर नआएको यादवले बताए ।
चुवानी नारामै सिमित
बि.स.२०७० साल र २०७४ सालको निर्वाचनामा सबैले त्यस क्षेत्रमा खानेपानी ल्याइदिने चुनाबी नारा नै बनाए । २०७० को दोस्रो संबिधानसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार डा. दुमन सिंह थापा, नेपाली कांग्रेसकी पुष्पा भुषाल र माओवादी केन्द्रका विष्णुहरि शर्माले चुनाव अघि खानेपानी ल्याउने आश्वासन दिए ।
चुनावमा एमालेका डा. थापाले जिते तर चुनाव जिते पछि सबै चुनावमा गरेका बाचा भुले । यस्तै २०७४ सालको स्थानीय, प्रदेश र केन्द्रको चुनावमा पनि त्यस क्षेत्रका नागरिकलाई सोही आश्वासन दिए राजनीतिक दलका नेताहरुले ।
संघको चुनाबमा तत्कालिन बाम गठबन्धनका उम्मेदवार टोप बहादुर रायमाझीले जिते भने प्रदेशमा पनि बाम गठबन्धनकै रामजी घिमिरेले जिते । तर, स्थानीय तहको प्रमुखमा नेपाली कांगेसका सुर्यप्रसाद अधिकारीले जिते । चुनाब जिते पछि सबैले आफूले निर्वाचनका बेला स्थानीयसँग गरेका आवश्वास पुरा गरेनन् । प्रतिनिधीसभाका संदस्य टोप बहादुर रायमाझी निर्वाचित (हाल पदमुक्त) भए पछि एक पटक पनि गाउँमा गएनन् । केपी ओली नेतृत्वको सरकारमा उर्जा मन्त्री हुदाँ नौमुरे जलविद्युतको उद्घाटन गर्न रायमाझी त्यहीबाटो हुँदै मात्रै गएका थिए । तर, गाउँ घरका समस्या बुझ्नका लागि भने एक पटक पनि फर्केर नआएको स्थानीयहरुको गुनासो छ ।
५० प्रतिशत काम सम्पन्न
दुन्धुरे खानेपानी आयोजनाको काम अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पा, साइट अर्घाखाँचीका इन्जिनियर रामभरोष यादवले बताए । गतवर्ष विबादका कारण काम रोकिँदा धेरै काम हुन नसेको यादवले बताए । आर्थिक वर्ष २०७८÷७९ मा योजना सम्पन्न गर्ने गरी काम तयारी भएको इन्जिनियर थापाले बताए ।
यस्तै दुन्धुरे खानेपानी आयोजनाका उपभोक्ता समितीका अध्यक्ष गोबिन्द्र पौडेलले आफू अध्यक्ष बने पछि कामले तीव्रता पाएको दाबी गरे । विभिन्न विबादका कारण रोकिएका कामलाई विबाद हल गरि काम सुचारु गरेको दाबी गरे । अझै केही स्थानमा पाइप लाइन र ट्याङ्की बनाउन बाँकी रहेको र यी काम सम्पन्न भएपछि सबै घरमा धारा बनाउने काम सुरु गर्ने बताए ।
शिवादह लगायत केही स्थानमा सर्वे नभएको अध्यक्ष पौडेलले बताए । आफूले सर्वे हुनु पर्ने क्षेत्रमा नभएको भन्दै खानेपानी कार्यालयमा निवेदन दिएको र सो क्षेत्रका पनि सर्वे गरेर छिट्टै काम सुरु गर्ने बताए । यता खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख शिव कुमार श्रेष्ठले सर्वे भूलबस छुटेको बताए ।
छिट्टै केही व्यवस्था हुन्छ: नगर प्रमुख अधिकारी
सितगंगा नगरपालिका मेयर सूर्य प्रसाद अधिकारीले छिट्टै जसरी भए पनि केही विकल्प खोज्ने बताए । ‘अहिले खास वडा नम्बर–६ को टावर टोलमा धेरै नै खानेपानीको लागि समस्या रहेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै नगरप्रमुख अधिकारीले भने‘ अल्पकालीन योजनाका माध्यमबाट भए पनि त्यहाँ पानिको व्यवस्था गर्न तयारी भइरहेको छ ।’
टावर टोलका लागि खानेपानीको व्यस्था गर्नका लागि नगर आफैले १० लाख बजेट छुट्टाएको बताए । तर,टावर टोल धेरै डाँडोमा भएका कारण मोटर लगाएर पनि पानी तान्न नसकिएको नगरप्रमुख अधिकारीले बताए । साथै उनले दुन्धुरे खानेपानी आयोजना प्रदेश मातहतमा रहेको र स्थानीय तहमा अधिकार नभएकाले समस्या भएको बताए । नगरभित्र खानेपानीको समस्या भएका क्षेत्रमा अल्पकालिन योजनाबाट पानी व्यवस्था गर्ने तयारी भइरहेको बताए ।
प्रतिक्रिया