संघीय संरचना अनुसार संघीयता कार्यान्वयनको सुुरुवाती वर्षमा स्थानीय आवश्यकता र विवकासका काममा गति लिन नसकेको भन्दै मुलुकका अधिकांश स्थानीय तह आलोचना र चर्को विरोधका शिकार बने । तर,सुरुवातदेखि नै जनताका आधारभुत आवश्यकतालाई महत्व र दिगो विकासको लक्ष्यलाई योजना बनाउँदै नौला योजना र कार्यान्वयन गर्दै अघि बढेको स्थानीय तह हो तिलोत्तमा नगरपालिका । रुपन्देहीको ठूला दुई शहर बुटवल र भैरहवाका बीचमा रहेको यस नगरपालिका नीति तथा कार्यक्रम , बजेट कार्यान्वयन र नौला सुरुवातका कारण देशकै उदाहरणीय र चर्चित र सफलतातर्फ उन्मुख स्थानीय तहका रुपमा चर्चित बनेको छ ।
साविकका सात वटा गाविस (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया, टिकुलिगढ) मिलेर बनेको तिलोत्तमा नगरपालिका तिव्र शहरीकरण भैरहेको क्षेत्र हो । आगामी असोज ९ गते तिलोत्तमा लगानी सम्मेलनका लागि तयारीलाई तीब्रता दिएको छ । नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्राउने मुख्य लक्ष्य रहेको सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु सहभागी हुने अपेक्षा गरिएको छ । आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरिएको तिलोत्तमा नगरले जनाएको छ । यसै विषयमा रहेर ग्लोबल आवाजका लागि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेसँग डि.बी. सुस्लिङले गरेको कुराकानी :
प्रदेश ५ को स्थानीय निकायमा लगानी सम्मेलनको पहिलो अभ्यास पनि हो, तयारी के–कसरी हुँदै छ ?
–यो सम्मेलन सरकार, स्वदेशी तथा विदेशी निजी क्षेत्रबीच नेटवर्किङ स्थापित गर्ने एउटा सुनौलो अवसर हो । उद्योगी व्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया, स्थानीय स्तरमा रहेका सम्भावनाहरुको अध्ययन तथा मूल्यांकन गरी २२ वटा भन्दा बढी कार्यक्रमहरु तय गरेका छौं । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, यातायात लगाएत क्षेत्रहरु अन्तर्गत पर्ने ती कार्यक्रमहरुलाई सम्मेलनमा छलफलका लागि लैजान प्राविधिकहरु मार्फत विश्लेषण तथा विषय वस्तु छनौका काम भैरहेका छन् । अबको २ चार दिन भित्रै ती विषयहरुको टुङ्गो लाग्ने छ । लगानी सम्मेलनमा स्वदेशी विभिन्न औद्योगिक तथा व्यापारिक घरानाहरुका साथै भारत, चीन, बंगलादेश लगाएतका देशका लगानीकर्ताहरुसँग पनि छलफल भइरहेको छ ।
लगानी सम्मेलनका लागि खर्च अनुमान र कति लगानी भित्राउने लक्ष्य राख्नुभएको छ ?
–सम्मेलनका लागि करिव ३० लाख खर्च हुने अनुमान गरिएको छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैंयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य रहेको छ । सम्मेलनमा आयोजकसहित संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्च पदस्थ प्रतिनिधि, नेपाल स्थित विदेशी कूटनीतिज्ञ नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्ता समेत गरी ५ सय जनाको सहभागिता रहने छ । सम्मेलनबाट ५० अर्ब बढीको लागनी भित्राउन सकिन्छ भन्ने हाम्रो अनुमान हो ।
सम्मेलनबाट स्वदेशी लगानी कर्ताहरुले कसरी फाइदा लिन सक्छन् त ?
–विशेष त, स्वदेशी तथा निजी क्षेत्रका लगानीकर्ताहरुलाई आकर्षित गर्ने उद्देश्यले नै लगानी सम्मेलनको अयोजना गर्न लागिएको हो । निजी क्षेत्र र नेपाल तथा अन्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउन पनि सम्मेलन फलदायी हुने विश्वास छ । लगानीका क्षेत्रहरु पहिचान तथा सम्भाव्यताका बारेमा लगानीकर्ताहरुसँगको छलफल र सहकार्यले पक्कै पनि स्वदेशी लगानीकर्ताहरुलाई धेरै मात्रामा सहयोग र हौसला प्रदान गर्न सकिने छ ।
लगानी सुरक्षाको प्रत्याभूति गराउनका लागि संघीय तथा प्रदेश सरकारसँग पनि त सहकार्य गर्नुपर्ने होला नि !
–यो सम्मेलन हाम्रो लागि नयाँ अभ्यास हो । भोली लगानीकर्ता नगरमा भित्रिन चाहेको समयमा लगानी सुरक्षाको प्रत्याभूति गराउने जिम्मा हाम्रो रहन्छ । त्यसैले संघीय सरकारका विभिन्न विषयगत मन्त्रालयहरु तथा प्रदेश सरकारका मुख्य मन्त्रीहरुलाई समेत सम्मेलनमा सहभागि गराई सहयोग र सहकार्यका लागि आग्रह गर्दैछौ । नेपाल सरकारको लगानी बोर्ड तथा उद्योग मन्त्रालय लगाएतका निकायहरुसँगको सहकार्यमा नै यस क्षेत्रमा लगानी हुने भएकाले परस्पर समन्वय स्वभाविक रुपमा नै हुन्छ ।
लगानी सम्मेलनमा हुुने प्रतिबद्धताहरु कार्यान्वयनमा आउन ढिलाई गर्ने तथा कार्यान्वयन नहुने समस्याहरु पनि हुन्छ कि ?
–लगानीकर्ताहरुले लगानी प्रतिबद्धता गरेपछि कार्यान्वयनमा आउन ढिलाई हुने तथा काम हुनै नसक्ने अवस्था आउन पनि सक्छ । त्यसका लागि हामीले सम्मेलनमा नै कडा निर्देशिका तथा कानून बनाई परिपक्क डिल गर्यो भने त्यो समस्या आउँदैन । एक्शनमा जान सक्ने गरी नै लगानी सम्झौताहरु हुन्छन् । सम्मेलनमा भएका लगानी प्रतिबद्धताहरुलाई सत प्रतिशत कार्यान्वयनमा आउने गरी लगानीकर्ताहरुसँग प्रतिवद्धताको माग हुन्छ ।
प्रतिक्रिया