लुम्बिनी, शान्तिको मुहानका रुपमा विश्वसामु परिचित छ । मुलुक संघीय पद्धति र संरचनाअनुसार अघि बढिरहँदा प्रदेश ५ को नामपनि बुद्ध जन्मस्थल लुम्बिनीकै नामबाट नामाकरण गरियो । जुन स्वागतयोग्य मानियो र निर्विरोध रहयो ।
विश्वभर शान्तिको सन्देश दिएका शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको स्थल लुम्बिनीमा लुम्बिनी सरकार तथा प्रतिपक्ष र लुम्बिनीका नेताले देखाएको गैरारजानीतिक आचरण र गरेको गतिविधिले यतिबेला लुम्बिनीबासी मात्रै नभई देशवबासी नै गम्भीर छन् । जनताले चुनेका जनप्रतिनिधि र बहुमतको ५ वर्षे सरकार सम्हालेका नेतृत्वको आपसी असमझदारी र टुट्फुटले लुम्बिनी प्रदेशमा राजनीतिक विचलन ल्याएको छ ।
त्यसैगरी सरकार र विपक्षी गठबन्धन बीचको सत्ता प्रतिष्पर्धाले संवैधानिक र राजनीतिक आचरणका सीमा नै नाघेर सोही अनुसार गतिविधि बढ्दा कुनै अश्लिल हर्कत भन्दा कम देखिएको छैन । नीतिहरुमा अग्र मानिने राजनीतिक गतिविधि भन्दा बाहिर गएर किनबेच र अपहरणसम्मका गतिविधिले राजनीतिमा अश्लिलता देखिएको छ । र, लुम्बिनीलाई अश्लिल राजनीतिको ‘क्रिडा स्थल’ बनाइएको छ ।
आवधिक निर्वाचन–२०७४ मा चुनावी तालमेल गरेर २०७५/२/३ मा देशका दुई राजनीतिक दल एमाले र माओवादी केन्द्रको गर्भधारणबाट जन्मिएको सन्तान नेकपा यसका अभिभावकको उचित संरक्षण र स्याहार–सुसार नपाएर २०७७/११/२६ मा मृत्युवरण गरेपछि बा आमाले ओेैपचारिक रुपमा सम्बन्ध बिच्छेद गरे । त्यसको असर संघीय र प्रादेशिक सरकार सञ्चालनमा देखा परिरहेका छन् । बहुमतको संघीय सरकार अहिले बहुदलिय बनेको छ । जसको न्वारन त गरिएको छ भने उसले आफ्नो परिवारका सम्पूर्ण सदस्यलाई देख्न पाएको छैन । मानौँ उ कोरोना कहरको अवस्थामा एकान्तबासमा बसेर दैनिकी चलाएको छ ।
विश्व समुदायका बीचमा लुम्बिनी शब्द उच्चारण हुँदा बडो आनन्द र गौरवका साथ गौतम बुद्धको जन्मस्थल र विश्व शान्तिको मुहान भनेर बुझ्ने गरिन्छ । विडम्बना वर्तमान समयमा देशको राजनीतिका नराम्रा गतिविधि घटनाक्रम र लुम्बिनी नाम राखिएको प्रदेश भित्रका राजनीतिका नाममा गरिएको गैर–संवैधानिक तथा मानव अधिकारका आधारभुत सिद्धान्त विपरीतका कदमले गर्दा आज विश्व मानव समुदायका अगाडि लुम्बिनी शब्द लज्जित छ ।
‘देश विकास गर्न भनी राजनीति गरेका हौ’ भन्ने राजनीतिज्ञले व्यक्तिगत तथा आस्थावान पाटिको स्वार्थलाई केन्द्रमा राखेर पछिल्लो समय लुम्बिनी प्रदेशमा गरिएका क्रियाकलाप अत्यन्त दुःखद घटनाका रुपमा सथापित भएको छ । यो घटनामा दुवै पक्षहरु बराबर जिम्मेवार रहेका छन् । दार्शनिक ओसोका भनाई अनुसार कुनै पनि गल्ती घट्नुका पछाडि दुई पक्षको ५०/५० प्रतिशत गल्ती रहन्छ ।
लुम्बिनीमा जन्मिएको शान्तिको मन्त्रले पनि कुनै पनि दुःख र गल्तीको कारण तिमी स्वयम् र तिम्रो संगत हो भनेको पाइन्छ । यी विचारहरुका आधारमा लुम्बिनी प्रदेशका बारेमा अनेकौं प्रश्न आउनुका पछाडि यहाका राजनीति दल र तिनका सिमित नेतृत्व जिम्मेवार छन । अर्थात् जसरी पनि सत्ता टिकाउन चाहने अहिलेको सत्तापक्ष र कुनै पनि हालतमा सत्तामा पुग्ने र आफूहरुको सान प्रमाणित गर्न चाहने प्रतिपक्ष, दुवै पक्षको अडानले गर्दा सांसद अपहरण काण्ड घट्न पुगेको हो भन्ने तथ्यलाई अस्विकार गर्न सकिँदैन ।
अन्तराष्ट्रिय अवधारणा, प्रयोग तथा व्यवहारको अध्ययन गर्दा राजनीति गर्नुको मुख्य उद्देश्य देश र जनताको सेवामा निस्वार्थ मनोभावनाले सामाजिक कार्य गर्नु बुझिन्छ । नेपालको सन्दर्भमा पहिलो संविधान सभाको निर्वाचन पछि राजनीति अकुत सम्पत्ति कमाउने आफ्ना आसेपासेलाई ठेक्का पट्टा दिलाउने र यसका माध्यमबाट धनी बन्ने पेसाका रुपमा स्थापित भएको छ । जुन कुरालाई पछिल्लो समयको संघीय सरकार काण्ड र लुम्बिनी प्रदेशको ताजा घटनाले प्रमाणित गरेको छ ।
विश्व समुदायमा शान्तिको सुत्र प्रतिपादकका रुपमा प्रख्यात गौतम बुद्धको जन्मस्थलको नामलाई सम्झिएर प्रदेशको नाम लुम्बिनी राखेपछि यसको सैद्धान्तिक, व्यवहारिक महत्त्व र विश्व समुदायले यस प्रति देखाउने माया सद्भाव, सम्मान प्रति पनि यस प्रदेशका राजनीति पाटि तथा नेता कार्यकर्ता पूर्णरूपमा सचेत हुनुपर्छ । लुम्बिनी एउटा पर्यटकिय स्थलका रुपमा मात्रै नभएर ऐतिहासिक, पुरातात्त्विक, धार्मिक तथा त्यो भन्दा बढी विश्व समुदायका अगाडि शान्तिको सन्देश सिर्जना गर्ने ठाउँका रुपमा चित्रित छ ।
यसकारण लुम्बिनी प्रदेशको सरकार तथा सम्पूर्ण राजनीति दलले विगतमा प्रदेशको नामाकरण गर्दा लुम्बिनी किन राखिएको थियो र अहिले हाम्रा क्रियाकलापले हाम्रो त्यो प्रतिबद्धतालाई आत्मसाथ गरेको छ वा छैन भनेर गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने समय आएको छ ।
प्रतिक्रिया