ताजा अपडेट »

२०वर्षसम्म पालेको भालेको मृत्युपछि हिन्दु परम्पराअनुसार दाहसंस्कार

शुक्रबार, २२ साउन २०७८, १५ : ३८
26 Shares
शुक्रबार, २२ साउन २०७८
26 Shares


दाङ । दाङमा लामो समय पालिएको भाले मरेपछि एक व्यक्तिले सोही भालेको दाहसंस्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ पहरुवा निवासी शिव सुवेदीले त्यो भालेलाई १९ वर्ष १० महिना पाले । असोजमा त्यो भाले २० वर्ष पुग्थ्यो । तर, साउन १६ गते म¥यो । भाले मरेपछि उसलाई पनि परिवारको सदस्य जस्तै मानेर दाहसंस्कार गरिएको सुवेदी बताउँछन् ।

‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्य जस्तै मानेर पाल्यौ’, उनले भने ‘त्यसैले गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गर्यौं ।’ सुवेदीले भाले मरेपछि गाउँका २०÷२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए ।

हिन्दु परम्परा अनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ्, सोही अनुसार नै त्यो भालेलाई पनि अन्त्येष्टी गरिएको उनले बताए । उनले भने ‘कपाल खौरिएको छु, नुन छोडे, सेतो कपडा लगाए ।’ भाले मरेपछि घरपरिवारमात्रै नभई गाउँ समाज समेत भावुक बनेको उनले बताए । भाले मरेपछि गाउँका मान्छे पनि रोएका थिए । भाले २० बर्ष बाँचेपछि त्यसप्रतिको सम्मान र माया पनि उत्तिकै बढेकाले पनि भावुक हुने अबस्था आएको सुवेदी बताउँछन् ।

गाउँका केहीले त भाले मरेको खबर नगरेको भनि असन्तुष्टि पनि जनाएको उनले बताए । ‘भाले मरेपछि धेरैको फोन आयो, केहीले मानो ल्याएर कहिले आउने भनेर पनि भने, उनले भने ‘केहीले किन खबर नगरेको भनि असन्तुष्टि पनि जनाउनु हुन्थ्यो ।’
यसले पशुपंक्षीलाई पनि सम्मान गर्नुपर्छ, भन्ने भावना बढाएको समेत उनले बताए ।

सुवेदीमा लामो समय भाले पाल्ने कुनै योजना पनि थिएन । तर, परिस्थितले त्यस्तै पा¥यो । उनका वुवा ‘रिटायर्ड’ सरकारी शिक्षक थिए । वुवाको पेन्सन घरमै आएर दिने शिक्षक थिए, घोराहीका डेमकान्त अधिकारी । तिनै अधिकारीलाई खुवाउन त्यो भाले पालिएको थियो । तर, त्यो भाले पालेको ५÷७ बर्षसम्म पनि अधिकारीलाई खुवाउने कुनै अवसर परेन । त्यतिबेलासम्म भाले १४ बर्ष पुगिसकेको थियो । भाले १४ बर्ष पुगेपछि सुवेदीलाई ‘भाले कति बर्ष बाँच्दो रहेछ त’ भनेर खुल्दुली जाग्यो र, उनले भालेलाई जति बाँच्छ, त्यति पाल्ने निधो गरे ।

भाले १७ वर्षको हुँदा यूट्यूव तथा सामाजिक सञ्जालमा चर्चा पायो । त्यही बखत उनले गिनिज वुक अफ वल्र्ड रेकर्ड राख्ने पनि योजना बनाए । ‘गिनिज बुकमा नाम लेखाएर नेपालकै नाम विश्वमा चिनाउने योजना बनाएको थिएँ’, उनले भने‘ तर, धेरैले खर्चिलो हुन्छ, सकिँदैन, भनेपछि त्यो प्रक्रिया नै अगाडि बढाउन पाइन ।’

लामो समय भाले पाल्दाको अनुभव संगाल्न पाएको पनि उनले बताए । ‘मैले यो भाले लामो समय पालेँ, केही नयाँ अनुभवन पनि संगालेको छु’ उनले भने‘ भालेले खुर्सानी खान्थ्यो, त्यसले गर्दा पनि उसको रोगप्रतिरोधी शक्ती बढेको अनुभूति भयो, धेरैले त्यही भन्नुहुन्छ ।’ घरमा पालेका धेरै कुखुरा पटक–पटक रोगले मर्दा पनि त्यो भाले रोगले पनि छोएको थिएन । केही समय अघि मात्रै घरका सबै कुखुरा मरेपनि त्यो भालेलाई केही भएन । घरमा त्यही भालेमात्रै बचेको थियो । त्यही भाले नै मरेपछि अहिले घरमा एउटा पनि कुखुरा नभएको उनी बताउँछन् ।

मर्नु भन्दा ४÷५ महिना पहिलेदेखि नै भाले बिरामी थियो । कानमा घाउ भएर किरा परेका थिए । प्राविधिक ल्याएर ती किरा मार्ने औषधि खुवाएपछि केही समय बाँच्न सफल भएको थियो । भालेको एउटा आँखा पहिल्यै फुटेको थियो । पछिल्लो समय भाले धेरै बुढो भएर पनि होला, घरको भित्र–बाहिर पनि गर्न नसक्ने भएकाले मान्छेले नै बाहिर भित्र गराउनु पथ्र्याे ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी