ताजा अपडेट »

महाधिवेशन १४ दिनमा होस् या १४ महिनामा, सभापतिमा उम्मेदवारी रहिरहन्छ : विमलेन्द्र निधि

शुक्रबार, २२ साउन २०७८, १३ : १४
6 Shares
शुक्रबार, २२ साउन २०७८
6 Shares

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी कायमै रहेको दोहर्‍याएका छन्। शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले भने,‘१४ औं महाधिवेशन १४ दिनमा होस् वा १४ महिनामा सभापतिमा मेरो उम्मेदवारी कायम रहन्छ।’सभापतिको उम्मेदवारीका लागि अगाडि बढिसकेको र तयारी पनि सुरू गरिसकेको उनले बताए। क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडै टुंगिने र महाधिवेशनको तयारीले गति लिने निधिले बताए।

‘भदौमा महाधिवेशन हुन्छ भनेर सभापतिजीले पनि भनिरहनु भएको छ। क्रियाशील सदस्यतामा देखिएको विवाद समाधानका लागि छलफल सुरू भएको छ,’ निधिले भने,‘विवाद टुंगिएसँगै महाधिवेशनको तयारीले गति लिन्छ। तदर्थ समिति वा विशेष अधिवेशनको कुनै आवश्यक्ता छैन।’ न्यूनतम साझा कार्यक्रम टुंगिइसकेकोले अब चाँडै मन्त्रिपरिषद पनि विस्तार हुने उनले बताए।

एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयासका कारण मन्त्रिपरिषद विस्तारमा केही ढिलाइ भएको निधिको भनाइ छ। ‘माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेको छ,’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउन ज-जसले सहयोग गर्नुभएको छ उहाँहरू सबैलाई सरकारमा समावेश गराउने हाम्रो चाहना छ। त्यसैले केही ढिला भएको हो।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।