‘नेपालीमा चलेको एउटा उखान छ,‘लंकामा सुन छ, कान मेरो बुचैं ।’ अर्थात् लंकामा जति धेरै सुन भएपनि आफ्नो कानमा नहुनुले त्यो सुनले अर्थ राख्दैन । यस्तै भएको छ,नेपालको खोपको अवस्था । सरकारले खोप ल्याएर भण्डारण गरेको छ । सरकारको भण्डारमा खोप छ। तर,यता जनता भने खोपका लागि दिनभर लाइनमा बसेर साँझ त्यसै फर्किनु परेको छ ।
सरकारसँग यतिबेला ४० लाख खोप भण्डारण छ । अमेरिकाबाट आएको जान्सेन र चाइनबाट आएको भेरोसिल खोपको मात्रा हुँदाहुँदै पनि जनता भने खोपबाट बञ्चित छन् । चीनबाट ल्याइएको भेरोसेल खोपको २९ लाख ७० हजार डोजसरकारी भण्डारणमै छ । त्यसैगरी अमेरिकाबाट १५ लाख ३४ हजार डोजमध्ये अहिलेसम्म ५ लाख ६३ हजार मात्र लगाइएको छ । ९ लाख ७१ हजार डोज जोनसन खोप अझै सरकारी भण्डारणमा छ । असारमा आएको खोप साउनको तेस्रो हफ्ता हुँदापनि जनताले पाउन सकेका छैनन् । असारको अन्त्यमा नै खोप लगाउनका लागि स्वास्थ्य मन्त्रालयले लक्षित समूहलाई तोक्न विभिन्न तहलाई पत्रचार गरेको थियो ।
नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन खोप लगाइएका छन् । यीमध्ये कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेन खोप एक पटक मात्रै लगाए पुग्छ । नेपालमा भारतबाट करिब २५ लाख कोभिशिल्ड खोप भित्रिएको छ भने अमेरिकाबाट १५ लाख जानसेन खोप भित्रिएको छ । त्यसैगरी चीनबाट ४० लाख भेरोसिल खोप भित्रिएको छ । हालसम्म नेपालमा करिब ७५ लाख खोप भित्रिएको छ । तर,ल्याइएको खोपको पूर्ण मात्रा खपत भने गरिएको छैन ।
सन् १०१९ को अन्त्यमा चीनबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस,कोभिड–१९ को करिब एक वर्षपछि खोप तयार भई सुरुवात गरिएको थियो । सोही क्रममा नेपालमा गत वर्षको फागुनमा कोभिशिल्ड खोप भित्रिएको थियो । तिव्र रुपमा विश्वमा फैलिएको कोरोना भाइरसको खोप आविष्कार हुने र नेपालमा तुरुन्तै आउने कुरामा जनविश्वास कम थियो । तर, महामारीका बीच नेपालमा कोरोना विरुद्धको खोप भित्रियो र अंग्रपत्तिमा रहने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सञ्चारकर्मी लगाएतले उक्त खोप लगाएका थिए ।
त्यसैगरी सरकारले वृद्धवृद्धाहरुलाई प्राथमिकता दिँदै ७०देखि माथि त्यसपछि ६५ देखि ७० र पछिल्लो समय ५५ वर्षदेखि माथिकालाई खोप दिन सुरु गरेको छ । त्यस्तै शिक्षक र विदेश जानेहरुका लागि पनि खोप लगाउने अभियान चलाएको छ । विभिन्न उमेर समूह र पेशाअनुसार खोप लगाउने अभियान चालेपनि सरकार,मनत्रालय,स्थानीय तह र स्वास्थ्य संरचनाले खोप लगाउने अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेका छैनन् ।
देशका विभिन्न स्थानमा खोप कार्यक्रममा विवाद पनि देखिएका छन् । पहुँचका आधारमा तोकिएका वा लक्षित वर्ग भन्दा बाहिर गएर खोप खपत गरेको वा खोप केन्द्रमा लाइन लगोकाहरु भन्दा बाहिरीलाई लगाइदिएका जस्ता घटना बाहिरिएका छन् । अझै गम्भीर त खोप लुकाइएको,आफन्त वा निहित व्यक्तिहरुका लागि घर–घरमा,होटलमा पुर्याइएको जस्ता घटनाहरु सार्वजनिक भएका छन् ।
पर्याप्त खोप नभएकै कारण केहि उमेर समूह र लक्षित वर्गलाई खोप कार्यक्रम गरेतापनि ती समूहलाई नै खोप अभाव देखिने गरेको छ । कारण: लक्षित वर्गभन्दा बाहिरी सहभागी गराउनु रहेको छ । तर, ती समूहलाई पुग्ने पर्याप्त खोप हुँदा–हुँदैपनि उनीहरु दिनभर लाइनमा भीडमा बसेर राती खोपबिना नै फर्किनु परेको छ । खोप केन्द्रले कोरोनाको जोखिमबाट बच्न खोप लगाउन जाँदानै कोरोनाको जोखिम मोलेर लाइनमा बसेकाहरुलाई खोप सकियो भन्दै पठाउने गरेका छन् ।
महामारीको पहिलो र दोस्रो चरणसँगै तेस्रो चरणमा प्रवेश गरिरहँदा सरकारले आएको,भएको खोप पनि जनतालाई लगाउन सकेको छैन । खोप प्रणालीलाई व्यवस्थित बनाउन नसक्दा स्वास्थ्य प्रणालीको कार्यक्षमता नै कमजोर देखिएको छ । शहरका खोप केन्द्रमा निकै भीड हुने गरेको छ । खोप केन्द्र नै कोरोना बढाउने बजार बन्दैछन् । त्यसैगरी त्यही भीडका कैंयौं खोपबिना फर्कनु परेको छ । जुन सरकार,स्वास्थ्य मन्त्रालय,स्थानीय तह लगाएत सरोकारवालाको गम्भीर लापरवाही र कोरोना महामारीप्रति खेलाँची हो ।
लामो समयदेखिको महामारीको त्रास,क्षति र असर भइरहँदा अर्को लहरको पनि डरलाग्दो स्थिति देखिन थालेको छ । पहिलो र दोस्रोमा तयारी र खोपको उपलब्धता नभएपनि तेस्रो संकट आउन नदिन सरकार,स्वास्थ्य मन्त्रालय लगाएत सरोकारवाला सबैसँग अनुभव,समय र संयन्त्रसँगै खोप छ । भएको लाखौं खोप भण्डारणमा राखेर जनता खोपविहिन हुनु निकै विडम्बना हो । तसर्थ यसतर्फ सरकार र सरोकारवालाको समयमा नै ध्यान जान र कार्यान्वयन गर्न आवश्यक छ । समयमा नै खोपलाई व्यवस्थित गरी खपत गर सरकार । र,थप खोपको लागि यथाशिघ्र प्रयास गरी ल्याई सबै जनतालाई समयमै खोप देऊ ।
प्रतिक्रिया