परासी । भारततर्फ लैजान लागेको करिब एक करोड बराबरको हरियो केराउ (मटर) जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ । परासी, बर्दघाट र प्रतापपुरका सीमा क्षेत्रबाट केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।
३ वटा ट्रक र ७ वटा पिकअप भेनबाट लोड गरेर लैजाँदै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए । बरामद भएको केराउको परिमाण ७ सय ३० क्विण्टल छ । परासीहुँदै सीमावर्ती क्षेत्रमा लैजानका लागि भैरहवाबाट बुधबार २३ वटा सवारीसाधनमा केराउ लोड भएको जानकारी पाएपछि निस्केको प्रहरीले परासी क्षेत्रबाट ७ वटा पिकअप भेन पक्राउ गरेको हो ।
पिकअप भेन पक्राउ भएपछि अन्य सवारीसाधनहरु नआएको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै प्रतापपुर सीमा क्षेत्रबाट १ वटा ट्रक पक्राउ गरेको छ भने बिहीबार बर्दघाट क्षेत्रबाट २ वटा ट्रकमा लोड गरेको केराउ बरामद गरेको हो । उक्त २ वटा ट्रकबाट ४ सय २० क्विण्टल केराउ रहेको छ । अन्य क्षेत्रबाट बरामद भएको केराउ ३ सय १० क्विण्टल छ । बरामद भएका केराउबारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी लामाले जानकारी दिए ।
पश्चिम नवलपरासीका सीमावर्ती नाकाबाट केराउ तस्करी बढ्न थालेपछि प्रहरीले विभिन्न स्थानमा चेकिङ्ग प्वाइण्ट राखेर चेकजाँचलाई तिव्रता दिएको एसपी मनोज कुमार यादवले बताए । नेपालमा भन्दा भारतमा महङेमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ । नेपाली बजारमा १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने केराउ भारत पु¥याएपछि प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
हप्ता दिनअघि पनि प्रहरीले २२ लाख बराबरको केराउ बरामद गरेर लिलामका लागि महेशपुर भन्सार कार्यालय पठाएको थियो ।
प्रतिक्रिया