महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ३५ वर्षीया प्रमिला चौधरी घर निर्माणको काममा मजदूरी गर्थीन् । हरेक दिन महेन्द्रनगर बजार आएर श्रीमान् सीताराम चौधरीसँगै अटो चलाउनु उनको दैनिकी नै बनेको छ । “ हरेक दिन बिहान घरमा छोराछोरीलाई खाना खुवाएर दुवैजना आ–आफ्नो अटो लिएर बजारमा यात्रु बोक्दै दिनजान्छ”, प्रमिलाले रासससित भनिन्,“अटो चलाएन भने घरको छाक टार्न समस्या भइहाल्छ ।” विगत तीन वर्षदेखि महेन्द्रनगरमा अटो चलाएर दैनिक रु ५०० देखि एक हजारसम्म कमाउने गरेकी प्रमिलाले अटो किन्दा लिएको रु दुई लाख ऋण चुक्ता गरिसकेको बताईन् ।
उनका श्रीमान् सीताराम सात वर्षदेखि यहाँ अटो चलाउँदै आएको छन् । “मैल पनि अटो चलाउनुभन्दा पहिले सिलाइकटाइको काम गर्थें”, सीतारामले भने,“ सिलाइ मेसिन बिक्री गरेर अटो खरीद गरेर यात्रु ओसार्न थाल्यौँ ।” चौधरी दम्पतीले अटो सञ्चालन गरेर कमाएको रकमबाट आधा कठ्ठा घडेरी किनेर टिनको छानो हालेर घरसमेत बनाएका छन् । “रु नौ लाखमा घडेरी किनेर दुई वर्षअघि घर पनि बनायौं”, उनले भने,“ खेतबारीका लागि जग्गा छैन, जीविका चल्ने नै अटोको कमाइले हो ।” कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सर्वसाधारणको हिँडडुल बन्द हु्ँदा आफूहरुलाई छाक टार्न समस्या भएको प्रमिलाले बताईन् ।
“पहिलो पटक लकडाउन हुँदा हामीलाई पनि खाद्य सामग्री मिलेको थियो”, उनले भनिन्,“ दोस्रो लहरका बेला त रासन नभएर निकै समस्या भयो ।” चौधरी दम्पती यतिबेला फेरि कोरोना भाइरस सङ्क्रमण फैलिए जीविका चलाउन समस्या हुने भन्दै चिन्तित छन् । त्यसैगरी कैलालीको गदरियाका विक्की चौधरी महेन्द्रनगरमा अटोमा मालसमान ढुवानी गर्छन् । भारतमा मजदूरी गर्न जानुभन्दा आफ्नै मुलुकभित्र मजदूरी गर्ने भन्दै दुई वर्षअघि चौधरी परिवारसहित यहाँ आएका हुन् ।
यहाँ अटोमा सरिया, सिमेन्टलगायतका निर्माण सामग्री ढुवानीबाट दैनिक रु ६÷७०० कमाउने गरेको उनको भनाइ छ ।“ यहाँ डेरा भाडा र परिवारको खर्च अटोबाटै चल्छ”, उनले भने“ढुवानीको काम दैनिकजसो पाएकै हुन्छ ।” पछिल्लो समय ग्रामीण भेगसमम अटो÷टुकटुके सञ्चालनमा आउँदा स्थानीयवासीलाई आवागमनमा निकै सहज भएको छ । बस्तीका कुना कन्दरासम्म सहज रुपमा पुगेर यात्रु ओसारपसार गर्दै आएका अटो चालक लामो समय लकडाउन हुँदा निकै समस्या व्यहोर्नु परेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया