गुल्मी । कुनै सयमको एउटा विकट गाउँ । जहाँ कतै खरका झुपडी त कतै टिन र ढुङ्गाले छाएका परम्परागत शैलीका घरहरु थिए । त्यहीपनि बसाई–सराइका कारण ती घरहरु सिस्नेघारीमा परिणत हुन थालेका थिए । त्यसै स्थानमा अहिले कुनै विकसित मुलुकको कटेज शैलीको आलिशान महल ठडिएको छ । त्यस महल वरिपरि सुन्दर बगँैचा । घर–कम्पाउण्डको चारैतिर रंङ्गि–विरङ्गी बत्ति । बगैचाँमा आँप , लिची, नास्पाती, धुपी सल्लाह, अनेकन सुन्दर फूल, दुबो लगाएत अनेकन प्रजातिका वनस्पतीहरुको हरियाली।
घरको अर्को साइडको आँगनमा मार्वल बिछाईएको कुर्चि–टेवुल सहित चियापान स्थल । अट्याच बाथरुम सहित ८ कोठे आधुनिक शैलीको तीनतले पक्की घर बाहिर देख्दा जति सुन्दर छ,भित्र त्यो भन्दा बढी सुन्दर ढंगले सजाइएको छ । त्यस भवनको एक छेउमा चिटिक्क परेको भान्छा घर बनाईएको छ । जस भित्र माटाको सुधारिएको चुलो बनाईएको छ ।
त्यस अगाडि निकै सुन्दर मन्दिर बनाइएको छ । कोखैमा तुल्सीको मैरी छ । कम्पाउण्ट वरिपरि सन्दुक (मधुस) लगाएतका परम्परागत भाँडाहरु सजाईएको छ । खेत नजिकै कृषि सामग्री राख्ने स्टोर बेग्लै बनाइएको छ ।
त्यस घर परिवारलाई पुग्ने साग–पात सहित सबै प्रकारका तरकारी एउटा सिङ्गो ठुलै खेतको गरामा फलाईएको छ । त्यस घरको छत र आँगनमा बसेर चिया पिउँदा घर अगाडि छल्दीखोलाको सुस्साहटले वातावरण निकै मनोरम हुन्छ ।
घरदेखि छल्दीखोला निकारमा विहानीको स्नान गर्न जाने पक्की सिढीले त्यस घरको शोभा थप बढाएको छ । बगैचामा सुन्दर पोखरी र जसमा झरनाको पनि ब्यवस्था गरिदै छ । त्यस घर भन्दा पछाडि विशाल फाँट छ । त्यस फाँटको छेउको मोटरबाटोमा रातो रंगको चिल्लो कार पार्किङ्ग गरिएको छ । जुन त्यसै घरधनीको हो । त्यस कार नजिकै झण्डै ५० वटा भैँसी अटाउने पक्की गोठ निर्माण हुँदै छ।
घरको छतबाट नियाल्दा माथि जंगलमा चराचुरुङ्गीको चिरविर–चिरविर आवाज सुन्न सकिन्छ । चारैतिर विशाल खेत– फाँटहरुमा कृषकहरुको भ्याई नभ्याई देखिन्छ । घरै मुनी छल्दीखोला निकारमा जिर्ण बन्दै गएको परम्परागत पँधेरोलाई सिमेन्टेड गरेर संरक्षण गरिएको छ ।
मलेशिया, सिंगापुर र चिनको ग्रामिण भेगमा पुग्नेहरुले देखेको र नपुग्नेहरुले भिडियो वा तस्वीरमा हेरेर लोभिँदै आएको नमुना विकासित वस्तीको हुवहु दृश्य पाहडी भुमी गुल्मीको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्ग टोलमा देख्न सकिन्छ । माथी फुलबारी बजार , अलि वर चौरासी फाँटको प्रबेशद्धारमा नपुग्दै पश्चिम धुर्कोट तर्फ जाने हालै बनेको पक्की पुल तरेर देखिने दृश्य हो त्यो ।
कुनै समय छल्दीखोलाको त्यस तिरको फाँटमा सामन्य गोठ र पुरानै शैलीको घर भएको त्यस स्थानमा पारी तम्घास सिमलटारी सडकमा यात्रा गर्नेहरुले केहिबेर आँखा लगाएरै कसले बनायो यस्तो राम्रो घर ? भनेर सोध्ने गर्छन स्थानीयसँग । जवाफ आउँछ मेघनाथ अर्यालले बनाएका हुन् । मेघनाथ अर्याललाई चिनेका तर केहि बर्ष यता भेट नभएकाहरुले भन्छन् उनी त बर्षऔं अघि देखि बुटवलमा बस्थे त, फेरि किन र कहिले गाउँ फर्के छन् ? भनेर प्रतिप्रश्न गर्छन् ।
हो ,त्यस गाउँका मेघनाथ अर्याल वैदेशिक रोजगारका लागि दक्षिण कोरियामा २०५९ सालमा गएर २०६२ सालमा फर्किएका थिए । अरुले झैं विदेशमा कमाएको पैसा शहर वा तराइमा नखर्चेर त्यहाँको कमाइले उनले गाउँ मै आएर ४९ रोपनी खेत किने । त्यस खेतमा अहिले सय मुरी धान फल्ने गर्दछ । त्यसै स्थानमा घर बनाएर बस्न थालेका हुन् उनी । विदेश वा अन्य माध्यमबाट पैसा कमायो कि शहर बजारमा बसाई सराईको क्रमम बढिरहेको बेला ३० वर्ष बुटवलबाट फर्किएका निकै सकारात्मक सन्देश थिएको स्थानीयबासी बताउँछन् ।
‘आर्थिक जोहका लागि झण्डै ३० वर्षसम्म बुटवलमा बसियो ’– ५० वर्षीय अर्यालले भने –‘जब पहिलो लहरको कोरोना संक्रमण सुरु भयो त्यसपछि बुटवल बस्न मन नलागेर घर तिर आएँ र गाउँमै केहि गरेर देखाउँ भन्ने लागेर शहर कै जस्तो सुविधा सम्पन्न घर बनाएको हुँ । यस अवधीमा घर सजाउन एक करोड भन्दा बढी खर्च भयो ।’
उनले थपे –‘हुन त म बुटवल बसे पनि महिनामा एक चोटी गाउँ फर्किने गर्दथे तर जव कोरोनाको महामारीमा शहरमा मानिसहरु छट्पटिएको देखे तब मलाई गाउँ मै शहरको जस्तो सुविधा सम्पन्न घर बनाउने र अब शहर होईन गाउँ नै सजाउने मानसिकता सिर्जना भयो ।’ उनले सय मुरी धान फल्ने आफ्नो खेत अगाडिको सडक छेउँमा बनाएको ब्यवस्थित पक्की गोठमा तत्काल भारतको हरियाणा पुगेर एउटा राँगा सहित १५ वटा उन्नत जातको भैसी लिएर पालन गर्ने तयारीमा छन्।
तल करिव ३२ वटा भैसी, बाख्रा र कुखरा पालन गर्ने र माथिल्लो तल्लामा एउटा सभाहल सहित अट्याच बाथरुम सहित ८ वटा सुविधा सम्पन्न कोठाहरु बनाउने लक्ष्य सहित निर्माण कार्यमा ब्यस्त छन् उनी । जुन पशुपालन फर्म जिल्ला कै सबै भन्दा ठुलो परिमाणको र बहुउद्देश्यीय बनाउने उनको सोँच छ । पहिलो चरणमा उनी त्यस फर्ममा एक करोड जति लगानी गर्दैछन् । त्यसबाट उनले गरिब मजदुरहरुलाई रोजगारी सिर्जना गर्दै छन् ।
गाउँमै केहि गरेर देखाउनु पर्छ, शहरलाई आर्थिक जोहको माध्यम बनाउने र त्यसले गाउँ सजाउने मानसिकता सबैमा उत्पन्न होस् भन्ने उनको धारणा छ । ‘जब मानिसलाई ठेस लाग्छ तब ऐया आमा…पुकारिन्छ । ठिक त्यस्तै शहरमा जब कहिले भूकम्प त कहिले कोरोना संक्रमणको विपद् पर्छ र मान्छेले तब गाउँ सम्झिन्छ’– अर्यालले भन्छन् –‘अहिले जब कोरोना संक्रमण फैलियो र कति धेरै मान्छे गाउँ फर्किए । हो, गाउँ भनेको आफ्नी आमा हो, आमा कै काँखमा बसौं ।’
उनले शहरको सुख सुविधा कृतिम भएको बताए । वास्तविक सुख गाउँमै भएको र सजाउन सके गाउँ स्वर्ग जस्तै भएको उनको भनाई छ । २२ वर्षीय एक छोरा र १२ बर्षीया एक छोरी सहित उनकी श्रीमती तारा अर्याल बुटवल छाडेर गाउँ फर्किएको पनि डेढ वर्ष भइसक्यो ।
शहर बसाइ र यता गाउँ बसाईमा के फरक पाउनु भएको छ भन्ने जिज्ञासामा अर्याल दम्पत्ति भन्छन् ‘वास्तविक जीवनको आनन्द शहरमा भन्दा गाउँमा छ, हामी निकै ह्याप्पी छौं । शहरमा पाइने मःमः र पिजा भन्दा गाउँमा कोदाको रोटी मिठो र स्वास्थ्यवर्धक हुन्छ ।’ हामी त ढिडो, आटो, रोटी खान्छौं, घर मै उत्पादित ताजा तरकारी खान्छौं, अर्यालले भने ‘१२ वर्षपछि खोला त फर्किन्छ भन्छन्,गाउँ छाडेर शहरमा जानु भएकाहरु जसरी कोरोना संक्रमणबाट बच्न गाउँ फर्किनु भएको छ, अब यतै बस्नुहोस्, कृषि पशुपालन गर्नुहोस् बजारको ग्यारेन्टी म गरि दिन्छु ।’
शहरबाट फर्केर गाउँमा उनले देखाएको पौरख हेर्न पुगेका धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पनि अर्यालको पौरख हेर्न उनकै घरमा पुगेका थिए । बसाई–सराइको क्रम बढिरहेको बेला अर्यालले ३० औं वर्ष बुटवलको बसाई छाडेर गाउँ सजाउन, कृषि पशुपालन गरेर रोजगारी सिर्जना गर्नु एउटा सकरात्मक र उदाहरणीय कार्य भएको गाउँपालिका अध्यक्ष पोखरेलले बताउँदै अर्यालको कृषि पशुपालन फर्मलाई गाउँपलिाकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
३५ वर्षपछि काठमाण्डौंबाट गाउँ फर्किए
अर्याल झै पछिल्लो चरण अन्य थुप्रै मानिस लामो समय शहरमा बसेर गाउँ फर्किने क्रमम बढेको छ । ती मध्येका अर्का पात्र हुन् । धुर्कोट गाउँपालिका–४, तत्कालिन जैसीथोक गाउँपञ्चायतका प्रधानपञ्च इश्वरी पोखरेल । उनी जैसीथोकबाट काठमाण्डौमा बसाई–सराई गरेको ३५ वर्ष भई सकेको थियो । उनले गाउँको जग्गा बेचेर गई काठमाण्डौमा घर बनाएर बसेका थिए । तर, जब धुर्कोट गाउँपालिकाको केन्द्र जैसीथोकको वरबोटमा बस्यो, तब उनले वरवोट तल धुर्कोट गाउँपालिकाको शभाहल नजिकै घडेरी किनेर झण्डै ५० लाख खर्चेर दुई तले पक्की घर बनाई ३५ वर्ष पछि गाउँ फर्किएका छन् । नेकपा एमालेको केन्द्रिय राजनीतिमा जमेका उनी अहिले गाउँकै समाज सेवामा तल्लिन छन् ।
२० वर्ष पछि फर्किए श्रेष्ठ
त्यस्तै धुर्कोटरजस्थल कुमालटारीका विनोद श्रेष्ठ पनि काठमाण्डौबाट बसाई–सराईको बिसौं वर्षपछि गाउँ फर्किएर झण्डै १३ लाख खर्र्चिएर स्थानीय विशेषतामा आधारित तर, निकै ब्यवस्थित र सुन्दर घर सोही स्थानमा बनाएर बसेका छन् । धुर्कोट घर भएपनि उनी मरभुङ्गको मालिका माविमा १३ वर्ष ८ महिनासम्म प्रधानध्यापक रहेका थिए । पछि राजनीतिमा लागे । २०५४ सालमा उनी मरभुङ्गको गाविस अध्यक्ष विजयी भई ३ वर्षसम्म जिम्मेवारी निभाए । त्यसपछि २०५७ सालमा मरभुङ्गको घर जग्गा बेचेर उनी काठमाण्डौ हिडेको बताउँछन् । किर्तिपुरको भत्नेकोपाटी भन्ने स्थानमा घर बनाएर बसेको बताउँने उनी ६७ बर्षको उमेरमा श्रीमतीसहित गाउँ फर्किएका र छोरा छोरी भने उतै बसेको सुनाए ।
बाटोसँगै बजारिकरण
त्यस्तै तम्घास सिमलटारी मोटर बाटो पीच भएपछि त्यस सडक छेउमा बैदेशिक रोजगारमा गएका र फर्किएकाहरुले धमाधम घडेरी खरिद गर्न थालेका छन् र कैंयौंले पक्की घर बनाउन पनि सुरु गरेका सडक बाह्रै महिना सूचारु हुने गरि स्तरवृद्धि गरिएपछि गुल्मीको इस्मा गाउँपालिकाको ठाडुङ्गा,रामकोट, नयाँपोखरा,छेडापोखरा, देहली, दोबाटो, ईस्मा मैदान देखि घमिर सम्मको सडकहरुमा पनि दर्जनौं पक्की घरहरु बन्दै र होटल पसल सुरु भएका छन् ।
इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले गाउँपालिका सुरु भएपछि दोबाटोदेखि नयाँपोखरासम्म करिव २० वटा पक्की घर सडक छेउमा बनेको र बनाउन सुरु गरिएको बताए । गाउँमा शिक्षा, स्वास्थ्यको पहुँच, सहज खानेपानी सुविधा, टोल टोलमा यातायात सुविधा र ईन्टरनेटको पहुँच बढ्न थाले पछि पछिल्लो चरण गाउँ मै सडक छेउहरुमा घडेरी किन्ने क्रम बढेको हो। विकासले अझ फड्को मार्दै जनताले अपेक्षा गरे अनुसारको सुविधा उपलब्ध गराउन सके बसाई–सराईको क्रम रोकिने अपेक्षा राख्छन् धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल ।
अर्काको घर लिपेर कार्यालय चलाए अधिकृतले
वरवोटमा गाउँपालिका बस्न सुरु गर्ने बेलासम्म एउटा चिया पिउने पसल समेतको अभाव खेपेका थिए त्यति बेलाका कर्माचारीहरुले । सुरुका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले गाउँपालिका कार्यालय राख्ने घर कटेर नपाउँदा केहिदिन अल्ल–मल्ल परेका थिए।
अन्ततः बसाई–सराई गरेर झार उम्रेको आँगन सहितको घर भाडामा लिएर आफै लिपेर कार्यालय सञ्चालन गरेका थिए । घरमा प्रशासन फाँट र प्रमुख प्रशासकिय अधिकृत काफ्लेको कार्यालय गोठमा थियो। त्यस्तो अवस्थाको वरवोटमा अहिले दर्जनौ पसल, होटल, वित्तिय संस्था सहित पछिल्लो चार वर्षमा हिजोको झाडी जंगल वरबोट बजारिकरणमा परिणत भएको छ ।
प्रतिक्रिया