ताजा अपडेट »

गुल्मी मदाने गाउँको सिंहदरबार, विपन्नलाई घर उपहार

मंगलबार, ०५ साउन २०७८, ११ : २२
174 Shares
मंगलबार, ०५ साउन २०७८
174 Shares

गुल्मी। जिल्लाको मदाने गाउँपालिका विपन्न वर्गका लागि नजिकको सिंहदरवारका रुपमा आफूलाई उभ्याउन सफल भएको छ । बाढि पहिरोबाट विस्थापित भएका र आर्थिक अभावका कारण गतिलो घर–बास पाउन नसकेका सयौं विपन्न परिवारलाई गाउँपालिकाले विभिन्न निकायसँग समन्वयगरी आवास निर्माण गरिदिएको छ ।

गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेलका अनुसार३१६ परिवारलाई मदाने गाउँपालिकाले घर निर्मार्ण गरि छिट्टै औपचारिक रुपमा हस्तान्तरण गर्न लागेको छ । वडा नम्बर–३ को साविक सिर्सेनी गाविसमा ‘सालझण्डी–ढोरपाटन’ सडकका कारण विस्थापित १७ परिवारलाई एकीकृत बस्ती निर्माण गरिएको छ । वस्ती निर्माणको गत वर्ष गुल्मी क्षेत्र नम्बर–२ का सांसद तथा एमाले नेता गोकर्णराज बिष्टले शिलान्यास गरेका थिए । गाउँपालिकाले नै जग्गा खरिद गरि घर निर्माण गरिदिएको हो । एकिकृत बस्तीमा विस्तापित परिवार बस्न शुरु गरिसके पनि औपचारिक रुपमा हस्तान्तरण हुन बाँकी छ ।

उक्त वडाको काफलपाटा र खन्युखर्कको वस्ती असुरक्षित भएपछि त्यहाँका ३२ वटा विपन्न परिवारको पनि पालिकाले घर बनाई दिएको छ । त्यस्तै रेखामुनि रहेका ७ वटै वडाका १ सय २८ विपन्न परिवारलाई प्रति–परिवार ५० हजारका दरले घर निर्माण गरिदैछ । भूकम्पकाका कारण विस्थापित १ सय ३२ परिवारको पनि पालिकाले प्राधिकरणसँग समन्वय गरि घर बनाई दिएको छ ।

लुम्बिनी प्रदेशको सुरक्षित आवास कायक्रम अन्तर्गत पालिकाले अतिविपन्न परिवार छनौट गरि ७ वटा घर बनाई दिएको छ । विगतमा सरकारी पहुँचबाट टाढा रहेका दलित तथा अन्य विपन्न वर्गका जनतालाई नजिकको सरकारको अनुभूति दिलाउन मदानेगाउँपालिकाले सुरक्षित घरबास लगायतका विपन्न मैत्री काम गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर पछाईले बताए ।

मदाने गाउँपालिकामा रहेका ८ सय ५० घरलाई खरका छानामुक्त गरि टिना राखिएको छ । जनतालाई असुरक्षित वस्तीबाट सुरक्षित राख्न र गास बास कपास जस्तो मौलिक हकदिलाउन आफूहरु लागिपरेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । यसैगरी एक घर एक धारा कार्यक्रम पनि ६० प्रतिशत पूरा भएको छ । सबै घरलाई धारायुक्त बनाउनका लागि खानेपानी योजनाहरु निर्माणको चरणमा छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार