ताजा अपडेट »

धार्मिक पर्यटकीय क्षेत्र बन्दै सन्तानेश्वर मन्दिर

आइतबार, ०३ साउन २०७८, १० : ४९
110 Shares
आइतबार, ०३ साउन २०७८
110 Shares

राँझा । बाँकेको राप्ती नदीपारि नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर जति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर पहाडी जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिने नरैनापुर गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहले बताए।

सन्तानेश्वर मन्दिरमा प्रत्येक शनिबार नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको छ । शनिबारमात्रै करिब पाँच हजार भक्तजन मन्दिरमा दर्शनका लागि पुगेको गाउँपालिका अध्यक्ष शाहको भनाइ छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । शहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकाले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्य अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । शनिबार साथीसँगको समूहमा सन्तानेश्वर मन्दिर दर्शन गर्न पुगेकी नेपालगञ्ज उपमहानगरपालिका–६ निवासी आकृति रानाले जीवनमै अहिलेसम्मको रमाइलो र स्मरणीय भ्रमण भएको बताए । जङ्गलको बीचमा कच्ची बाटोमा पहाडको उकालो ओरोलो यात्रा गर्नुपर्ने भए पनि मनोरम दृश्य र साथीहरुसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उनको भनाइ छ ।

नरैनापुर–५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले जिल्लाभरि चर्चामा रहेको छ । मन्दिरका महन्त ८६ वर्षीय योगानन्द गिरी पहाडी बाबाले विसं १९३५ मै यो ठाउँमा झण्डा गाडिएको बताउनुभयो । मटेहियाका यादव थरका व्यक्तिले त्यहाँ झण्डा गाडेका थिए । अहिले पनि उनका सन्तानले वर्षमा एकपटक गुरुपूर्णिमाको दिन भण्डारा (निःशुल्क खाना) गर्छन् । विसं २०७० मा यहाँ मन्दिर बनाइएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सन्तानेश्वर मन्दिरमा शिवरात्रि, तीजमा विशेष भीडभाड हुने गर्दछ । मन्दिरमा पुगेर चोखो मनले सन्तान मागेपछि सन्तान मिल्छ भन्ने विश्वास रहेको छ । मन्दिरमा सोलार बत्ती र पानीको व्यवस्था तत्काल गर्ने र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ ।

रासस
लेखकको बारेमा
रासस