ताजा अपडेट »

शैक्षिक उन्नयनमा बुटवलको कान्ति मावि

शुक्रबार, ०१ साउन २०७८, १७ : ११
615 Shares
शुक्रबार, ०१ साउन २०७८
615 Shares

पृष्ठभूमि
विक्रम संवत २००८ सालमा स्थापित गणेश विद्या भवन प्राइमरी स्कूल र जनता विद्या भवन प्राइमरी स्कूलको एकीकरण गरी वि.सं. २०१० साल पौष २ गतेदेखि ‘गणेश जनता विद्या भवन’ प्राथमिक विद्यालयको नामबाट शुरु भएको कान्ति मा.वि.ले वि.सं. २०१६ सालमा मिडिल स्कूल, २०२६ सालमा हाइस्कूल हुँदै २०६४ सालदेखि कक्षा ११-१२ को कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा विषयका विभिन्न विषयहरुको अध्यापन भइरहेको छ । कक्षा नर्सरीदेखि १२ सम्म ‘नेपाली’ र अंग्रेजी दुवै माध्यमका कक्षाहरू पूर्ण रुपमा प्रविधिको प्रयोग गरी सञ्चालन गर्दै आएको छ । विद्यालयमा पछिल्लो हाल ४ हजार बढी विद्यार्थीहरु ११५ जना शिक्षक, कर्मचारीहरु रहेका छन् । शैक्षिक गतिविधिहरुलाई प्रभावकारी बनाउन गरिएका प्रयासहरुः विद्यालय शिक्षामा गुणस्तर कायम गर्नका लागि नेपाल सरकार शिक्षा मन्त्रालयबाट निर्दिष्ट गरिएका कार्यक्रमहरुका अतिरिक्त कान्ति माध्यमिक विद्यालयले आफ्नो मौलिक कार्ययोजना बनाएर अगाडि बढेको हुनाले देशकै नमूना विद्यालयहरु मध्ये एकको रुपमा स्थापित भएको छ ।

विद्यार्थीको शैक्षिक स्तरमा कुनैपनि प्रकारको सम्झौता नगर्न यो विद्यालयले शिक्षकको पेसागत दक्षतामा विस्तार गर्नका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका तालिम, सेमिनार, गोष्ठिमा सहभागी गराउँदै आएको छ । विद्यार्थी, शिक्षक तथा विद्यालय कर्मचारीहरुका माध्यमबाट यस विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि देशकालागि नै नमुनाका रुपमा रहेका कार्यक्रमहरु सञ्चालन गरिरहके छ । लुम्बिनी प्रदेशकै नमुना विज्ञान प्रर्दशनी कार्यक्रमका माध्यमबाट विद्यार्थीमा रहको वैज्ञानिक खोज, अनुसन्धान तथा विशिष्टि क्षमताको पहिचान तथा पुरस्कृत गरिरहको छ ।

शैक्षिक उपलब्धी र सम्मानहरु
२०६५ सालदेखि खुल्ला विद्यालयको कक्षा ८ र १० का कक्षाहरू समेत सञ्चालन गर्दै आइरहेको यो विद्यालयमा वर्षेनी नियमित विद्यालयको पहुँच भन्दा टाढा रहेका सयौं विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । वि.सं. २०७१ सालको तत्कालिन एसएलसी परीक्षामा पश्चिमाञ्चाल प्रथम र २०७३ सालको एसईई परीक्षामा प्रदेश नं. ५ प्रथम, २०७६ सालको कक्षा ११ को नतीजामा सामुदायिक विद्यालयतर्फ नेपाल प्रथम भएको विद्यालयले कक्षा ११ र १२ को बोर्ड परीक्षामा पनि राष्ट्रिय रुपमै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको छ ।

लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष २०७७/७८ का लागि रुपन्देही जिल्लाको उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता विजेता तथा उपविजेताका रुपमा सम्मानित हुँदै आएकोे छ । विक्रम सम्वत २०३५ सालमा रजत महोत्सव, २०६० सालमा स्वर्ण महोत्सव तथा २०७० सालमा हिरक महोत्सव समेत मनाइसकेको छ ।

वि.सं.२०१३ सालमा तत्कालीन राजा महेन्द्रबाट विद्यालय भवन र २०७० सालमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट हिरक महोत्सवको समुद्घाटन भएको यो विद्यालयले गौरवमय शैक्षिक इतिहास बोकेको छ । भौतिक पूर्वाधार तथा यातायात विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक सबै पक्षहरुको समग्र विकास र गुणस्तरीय शिक्षा प्रदान गरी नमूना विद्यालयको रुपमा देश विकासमा टेवा पुर्याउने दूरदृष्टि विद्यालयले लिएको छ ।

विद्यालयले विद्यार्थीको जीवन, भौतिक तथा आथिक क्षतिको सवालमा जिम्मेवार बन्दै भूकम्प प्रतिरोधी भौतिक संरचनाको निर्माण गरेको छ । जुन लुम्बिनी प्रदेश मै नमूना भएको विद्यालयले दावी गरेको छ । विद्यालय तहको कक्षा ११ र १२ मा विज्ञान विषयमा हाल २२ जिल्लाका विद्यार्थीहरुले अध्ययन रिरहेका छन् । अन्य जिल्लाबाट आउने विद्यार्थीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिरहेको छ । जिल्लाका विभिन्न पालिका सैनामैना,देवदह,तिलोत्तमा लगाएतका क्षेत्रबाट अध्ययन गर्न आउने विद्यार्थीहरुलाई विद्यालय बसको व्यवस्था गरेको छ । विद्यार्थीको संख्या र क्षेत्रलाई मध्यनजर गर्दै बस थप्ने तयारी समेत रहेको विद्यालयले जनाएको छ । त्यसैगरी शिशु कक्षा तथा साना बालबालिकाका लागि सहज र आरामदायी छुटै सवारी साधनको व्यवस्था गर्ने विद्यालयको योजना रहेको छ ।

विद्यालयको विज्ञान संकायमा आकर्षण
बुटवलकै सामुदायिक विद्यालयमा गुणस्तरीय विज्ञान शिक्षाको आवश्यकता अनुसार सुरु गरिएको कान्ति माध्यमिक विद्यालयको विज्ञान संकायमा विद्यार्थीको आकर्षण बढ्दो छ । लुम्बिनी प्रदेश सरकारले समृद्ध प्रदेश निर्माण गर्नका लागि विज्ञान र प्रविधिमा आधारित जनशक्तिको विकास हुनु पर्दछ भन्ने मान्यता अगाडि सारेको छ । सो को लागि लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित कान्ति माविलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग गरिरहेको छ । प्रदेश सरकारका तर्फबाट विद्यालयलाई विज्ञान विषयको हब बनाउने योजनानुसार विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिमा व्यापक परिवर्तन आएको छ ।

२०७६ सालको कक्षा ११ को बोर्ड परिक्षमा सामुदायिक विद्यालयको तर्फबाट विज्ञान विषयको नतीजामा नेपाल प्रथम हुन सफल भएको छ । विद्यालयमा अहिले विज्ञान विषयको अध्ययनलाई प्रयोगात्मक रुपमा थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि काठमाडौँ र पोखरापछि विद्यालय तथा क्याम्पसहरुमा पहिलो पटक तारामण्डल ( Planetorium Lab) को निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याइएको छ । यस प्रयोगशालामा रहेर विद्यार्थीहरुले ग्रह, उपग्रह, सूर्य, पृथ्वी, आकाशिय पिण्डहरुको बारेमा अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न सक्नेछन् ।

विद्यालयमा रहेका विज्ञान विषयका Physics, Chemistry, Biology (Botany and Zology), Computer प्रयोगशालाहरु लुम्बिनी प्रदेशमा नै नमूना प्रयोगशालाका रुपमा देशभर परिचित रहेका छन् । विज्ञान विषयलाई अझ धेरै व्यवस्थित तथा प्रभावकारी तवरले अध्यापन गराउनका लागि Spacious and Advanced विज्ञान प्रगोगशाला यस वर्षभित्र नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । विद्यालयमा अहिले STEM विज्ञान प्रयोगशाला सञ्चालनमा रहेको छ । यो प्रयोगशालामा रहरे विद्यार्थी हरुले रोवोटिक्स, विज्ञान प्रदर्शनीका क्षेत्रमा व्यवहारिक ज्ञान, अनुभव हाशिल गर्नेछन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान विषयको अध्ययन गरेका धेरै विद्यार्थीहरुले एमबिबिएस, ईन्जिनरिङ्ग, बिएमएलटि, बिडिएस, कृषि विज्ञान जस्ता प्राविधिक विषयहरुमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा अध्ययन गरिरहेका कारणले यस विद्यालयमा विज्ञान विषयमा आकर्षण बढिरहेको छ ।

विज्ञान विषयलाई व्यवस्थित तरिकाबाट सञ्चालन गर्नका लागी फोकल शिक्षकका रुपमा मोहन भट्टराई रहनु भएको छ । विद्यालयमा विज्ञान विषयका अतिरिक्त शिक्षा, व्यवस्थापन तथा मानविकी विषयका विषयहरु कक्षा ११ र १२ मा अध्यापन हुदै आएका छन् । यि विषयहरुमा विद्यालयले भर्ना हुन चाहना राख्ने विद्यार्थीलाई अध्यापन गराउन सकिरहको छैन । उल्लेखित विषयका विद्यार्थीहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै प्रकारका प्रयोगशाला तथा विद्युतीय पुस्तकालयको व्यवस्थापन गरिएको छ ।

विद्यालयको भावि योजना कान्ति माध्यमिक विद्यालयलाई आगामी वर्ष भित्रमा अन्तराष्ट्रिस्तरको शिक्षा प्रदान गर्ने विद्यालयको रुपमा विकास गर्ने गरी विभिन्न विषयका विज्ञहरुको सहभागितामा गुरु योजना बनाउने कार्यलाई अगाडि बढाइएको छ । विद्यालयले आगामी दिनहरुमा कक्षा ११ र १२ मा रहेका शिक्षा, मानविकी तथा व्यवस्थापन विषयका विभिन्न विषयमा अध्ययनरत विद्यार्थीको शैक्षिक उपलब्धीलाई व्यवहारिक बनाउनको लागि पूर्व व्यवसायिक सिपमा आधारित कार्यक्रम सञ्चालन गरी दक्षताको विकास गराउने सोचको विकास गरेको छ ।

विद्यार्थीहरुमा विद्यालय तहको शिक्षा पूरा गरिसकेपछि प्राप्त हुनुपर्ने सबै प्रकारका दक्षता विकास गर्न उनिहरुलाई उत्प्रेरित गर्नका लागि शिक्षाविद्, मनोविज्ञान विज्ञ, सफल व्यवसायी, सफल डाक्टर, प्राध्यापक तथा समाजमा सम्मानित व्यक्तिहरुको प्रत्यक्ष सहभागितामा उत्प्रेरणामूलक कार्यक्रम यसै वर्षबाट थप व्यवस्थित तवरले सञ्चालन गर्ने योजना बनाएको छ । सबै कक्षाकोठाहरुमा मल्टिमिडियाको माध्यमबाट शिक्षण, विद्यार्थीहरुलाई तातो चिसो पानीको व्यवस्थापन, हरेक तीन–तीन महिनामा स्वास्थ्य परिक्षण सुविधाको विस्तार पनि यसै वर्षबाट सञ्चालनमा आउँदैछ ।

विद्यालयमा सञ्चालित शिशु तथा मन्टेश्वरी शिक्षालाई यसको अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन गर्नका लागि विज्ञहरुको टिमसँग परामर्श लिई देशकै नमूना बनाउने लक्ष्य विद्यालयले राखेको छ । निष्कर्ष लुम्बिनी प्रदेशमा नमूना विद्यालयको रुपमा स्थापित भई स्वदेश तथा विदेशमा पनि दक्ष जनशक्तिको आपूर्ती गराउन सफल यो विद्यालयले आफ्नो शैक्षिक यात्रामा गुणात्मक रुपमा परिवर्तन गरिरहको छ । जीवनमा असल र सफल बन्नको लागि आवश्यक पर्ने सबै प्रकारका व्यवहारिक तथा व्यवसायिक शिक्षा प्रदान गर्नुनै यो विद्यालय सफल विद्यालयको रुपमा परिचित हुनुको मुख्य कारण हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।