ताजा अपडेट »

गुल्मी सडक दुर्घटनाः घरबाट निस्किएको दश मिनेटमै मृत्यु

विहीबार, ३१ असार २०७८, १९ : ५२
68 Shares
विहीबार, ३१ असार २०७८
68 Shares

गुल्मी । असार मसान्तको चटारो । हिसाब–किताब मिलान गर्ने, असार मसान्तको अन्तिम दिन । बिहीबार विहानै उठेर गुल्मीको हस्तीचौरमा पसलको पैसा उठाउन जाने योजना बनाए ,तम्घास उदिनढुङ्गास्थित किराना पसले सुजन पाण्डले । श्रीमती सिर्जनालाई छिटो खान पकाउन लगाई खाना खाएर मोटरसाईकल चढेर हिडे त्यसतर्फ । उनी कोठाबाट हिडेको दश मिनेट नपुग्दै अर्खलेमा जीप र मोटरसाइकल ठोक्किएको खबर आयो।

सोधपुछ गर्दै जाँदा उनै सुजन पाण्डे भएको खुल्न आयो । जिल्ला अस्पतालमा पुर्याउने बेलासम्म पाण्डे घाइते मात्रै छन् भन्ने सुनेर आफन्तजन कम अत्तालिएका थिए । केहि बेरपछि जिल्ला अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले उनको मृत्यु घटना स्थलमै भएको आधिकारिक जानकारी गराएका थिए । केहि बेरपछि उदिनढुङ्गावासी रुवावासी गर्दै जिल्ला अस्पतालमा पुगेका थिए ।

पाल्पाको तानसेन नगरपालिका–१४ अर्गेली टिपुरे घर भएका पाण्डेको मावली घर गुल्मी कै धुर्कोट वस्तु हो भने ससुराली घर पनि गुल्मीकै हर्दिनेटा धरमपानी भएको नेपाली कांग्रेसका नेता तथा उनै पाण्डेका मामा महेन्द्र भण्डारीले बताए । ‘मेरो बहिनीका छोरा, मेरो भानिज हुनुहुन्छ’-भण्डारीले भने-‘म धेरै बोल्न सक्ने अबस्थामा छैन् ।’

रेसुङ्गा नगरपालिका वडा नम्वर-२ का वडाध्यक्ष उदयबहादुर थापाको उदिनढुङ्गा स्थित घरको मुख्य सडकको सटरमा पाण्डेले किराना पसल राख्दै गाउँतिर समेत सप्लाई गर्दै आएका थिए । गत ५/६ बर्ष अघिदेखि उनले उक्त पसल गर्दै आएको छिमेकीले बताए । उनको उमेर भर्खर ३३ वर्ष भएको थियो ।

चार/पाँच वर्ष अघि विवाह भएको उनको ३ वर्षका एक छोरा रहेको उनका मामा वस्तु निवासी भण्डारीले बताए । उदिनढुङ्गावासीका अनुसार पाण्डे अत्यन्तै मिलनसार र हंशमुख युवा थिए । सामाजिक कार्यमा समेत उनी अग्रसर हुँदै आएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार धुर्कोट तर्फबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको बलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक पाण्डेको मृत्यु भएको हो ।

धुर्कोट कै बासीन्दा जिप चालक रामबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप आफू हिड्ने रुट मिचेर गलत दिशाबाट आई मोटरसाईकललाई ठक्कर दिएको थियो । जीपमा सवार ४ जना घाईते मध्ये १ जना जिल्ला अस्पतलाबाट रिफर भएको र ३ जना पाल्पा रिफर गरिएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष चन्दले बताए । पाण्डेको शव आजै उनको घर अर्गेली र्फ लगिएको मृतकका मामा भण्डारीले बताए ।

https://www.globalaawaj.com/archives/121414
प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार