वाग्मती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि बिनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।
नेपाल बङ्गलादेश बैंक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौता अनुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजम रु दुई लाख प्राप्त गर्न सक्नेछन् । पहिलो चरणमा आठ महिला र १७ पुरुष गरी जम्मा २५ किसानलाई किसान कार्डमार्फत प्रति सो रकम प्रदान गरिने छ । बिना धितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्याउने लक्ष्य गाउँपालिकाको रहेको छ ।
प्रतिक्रिया