ताजा अपडेट »

मिल्ला त एमाले विवाद !

शनिबार, २६ असार २०७८, ११ : ३५
26 Shares
शनिबार, २६ असार २०७८
26 Shares

नेकपा एमाले लामो समयदेखि आन्तरिक विवाद र किचलोमा छ । नेताहरू बीच न मिलापत्र हुन सकेको छ न छोडपत्र नै । पटकपटकका प्रयास र बैठकले कार्यकर्तामा केही आशा जगाए पनि पार्टीभित्रका समस्याका चाङहरू जस्ताका त्यस्तै छन् । समस्याको गाँठो फुक्न सकेको छैन । प्रतिनिधि सभा विघटनपछि दुई सांगठनिक संरचना बनाएर देशव्यापी आरोप–प्रत्यारोपमा उत्रिएका नेताहरूले न फुट्ने हिम्मत गर्न सकेका छन् न जुट्ने आँट नै ।

नेकपा एमालेको आन्तरिक विवादका कारण सिङ्गो देशको राजनीति अस्तव्यस्त भएको छ । दलीय मूल्य मान्यता र अनुशासन भताभुङ्ग भएको छ । कार्यकर्ता निराश र चिन्तित छन् । मुलुकमा राजनीतिक र संवैधानिक संकट देखा पर्न थालेको छ । लोकतान्त्रिक प्रणाली, संघीय संरचना र संवैधानिक मूल्य–मान्यता नै धरापमा परेका छन् । तर पनि नेताका अडान र दम्भ भने जस्ताका त्यस्तै छन् । पटकपटकका प्रयासका बाबजुद पनि विवाद सुल्झिन सकेको छैन । यही नै गम्भीर चिन्ताको विषय हो ।

इगो र अहङ्कारको लडाइँ
एमालेको यतिखेरको विवाद नीति, सिद्धान्त र कार्यक्रममा देखिँदैन । विवाद फगत व्यक्तिगत अभिमान, इगो, पद र प्रतिष्ठामा सीमित छ । राजनीतिक, सामाजिक तथा आर्थिक समस्याका जराहरू पहिल्याउनुपर्ने बेलामा शीर्ष नेताहरूले पद, प्रतिष्ठा र अभिमानलाई एजेन्डा बनाएर जात्रा देखाइरहेका छन् ।

यतिखेर पार्टीमा नेताहरूकै व्यवस्थापन जटिल समस्या बनिरहेको छ । उनैका कारण समस्याहरू बल्झिएका छन् । पार्टी र संगठनको माथिदेखि तलसम्मको अवस्था भताभुङ्ग र लथालिङ्ग छ । सिङ्गो पार्टी पूँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । कम्युनिस्ट आचरण र सिद्धान्त कतै देखिदैन । सिङ्गो पार्टी गुन्डा, डन, दलाल, कमिसनखोर र पैसा हुनेहरूको चङ्गुलमा फसिसकेको छ । तिनैको बोलबाला र स्वार्थअनुरूप सारा गतिविधिहरू सञ्चालन भइरहेका छन् । पार्टीमा योगदान गरेका असली कम्युनिस्ट नेता–कार्यकर्ताहरू पछाडि पारिएका छन् । हिजोका अफ्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनता बीच स्थापित गर्ने नेता–कार्यकर्ताहरू जिम्मेबारबिहीन र निरीह बनेका छन् ।

जनताले ठूलै आकांक्षा राखेर जिताएका तीन तहका सरकारले पार्टीका तर्फबाट पाउनुपर्ने सुझाव, पृष्ठपोषण र नियन्त्रण पाउन सकेका छैनन् । फलस्वरूप सबै तहका सरकारले गरेका राम्रा कामको पार्टीमार्फत् जनतामा सम्प्रेषण भएको छैन । नियमित बैठक, प्रशिक्षण, भेला, सम्मेलन, अधिवेशन नहुँदा जनतामा एमालेको राजनीति पुग्न सकेको छैन । त्यत्रो विशाल सांगठनिक संरचना आज खै कहाँ के गर्दैछ ? थाहा छैन । आखिर यसको जिम्मेवार को–को ? अब समीक्षा हुनु जरूरी छ ।

त्यो कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श कहाँ गयो ? किन टुट्दैछ पार्टीनेतृत्व, कार्यकर्ता र आम नागरिक बीचको त्यो आत्मीयता र अन्तरसम्बन्ध ? त्यत्रो वर्षको बलिदान, संघर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोई ? कता मिल्क्याइँदै छ त्यो कम्युनिस्ट क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याप्रतिको चिन्तन ? प्रश्नैप्रश्नका चाङहरू थुप्रिएका छन् ।

पार्टी एकीकरण समस्याको जड
नेकपा एमाले र नेकपा माओवादी बीच २०७५ साल जेठमा गरिएको पार्टी एकता नै एमालेभित्र विवादको मूख्य कारक बन्यो । फरक सिद्धान्त, फरक विचार, फरक स्कुलिङ्, फरक कार्यशैली, फरक रणनीति र कार्यनीति अनि फरक सांगठनिक संरचनाहरू बीचको अप्रत्याशित र अपरिपक्व एकताले तमाम समस्या सिर्जना भए । एकतामा वैचारिक र राजनीतिक कार्यक्रमलाई भन्दा चुनाव, प्रधानमन्त्रीको कुर्सी र पदीय महत्वकांक्षालाई आधार बनाएको कारण पार्टीमा समस्याहरू जेलिए । फुकाउनै नसकिने गरी गाँठा परे । केपी शर्मा ओली र प्रचण्ड बीचको अस्वाभाविक, अप्रत्याशित र स्वार्थपूर्ण मिलनले झन् बढी विवाद, षडयन्त्र र जालझेलका खेल भए । पार्टीमा उपतिभन्दा खति धेरै भयो ।

नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरणपछि न त नेकपा पार्टी नै चुस्तदुरूस्त बन्न सक्यो, न त सरकारको कामकारवाही नै सन्तोषजनक । न त पार्टीको कामबाट कार्यकर्ता नै उत्साहित भए न त सरकारको कामबाट आम नागरिक नै सन्तुष्ट । न सरकारले नागरिकका अपेक्षा पूरा गर्न सक्यो न त पार्टी कार्यकर्ता नै एकताबद्ध हुन सके । न पार्टीका नियमित बैठक भए न त कुनै संस्थागत निर्णय नै । न कम्युनिष्ट सरकारको अनुभूति नागरिकले पाए न त पार्टी नै जनतामा स्थापित रहन सक्यो ।

सुनौलो र ऐतिहासिक अवसर प्राप्त हुँदा पनि नेकपा सरकार र पार्टी दुबैले जनअपेक्षाअनुसार कार्य गर्न सकेनन् । फलतः जनतामा असन्तुष्टि, निराशा, विरोध र आक्रोश बढ्दै गयो । कम्युनिस्ट जनस्तरमा बदनाम हुँदै गयो । नेकपा एमालेका लागि यो ठूलै क्षति हो । यस अपूरणीय क्षतिको मुख्य जिम्मेबार आखिर को ? अब खोजी हुनु जरूरी छ ।

गतिहीन र निरीह दोस्रो पुस्ता
नेकपा एमालेमा देश र जनताले आशा गरेका धेरै नयाँ अनुहार छन् । तर यो नयाँ पुस्ता यति निरीह र गतिहीन बन्दै छ कि पार्टी संकटका बेला समाधानका उपायसहित नेतृत्वमा हस्तक्षेप गर्ने आँट र हिम्मत गर्न सकिरहेको छैन । जनभावना, विधि र पद्धति मिच्दै नेताहरू स्वेच्छाचारी बन्दासमेत दोस्रो पुस्ता भने मौनजस्तै बनेको छ । भूमिकाहीन बनेको छ ।

नेकपाको दोस्रो पुस्ताले पहिलो पुस्ताकै नेतालाई परिक्रमा गरिरहेकाले नै एमाले अहिले संकटबाट गुज्रिरहेको छ । यो पुस्ता अवसर नआउला र पद नपाउँला भन्ने मनोगत भयमा बसेको देखिन्छ । नयाँ पुस्ताका नेतृत्वहरू आत्मकेन्द्रित हुने, शक्तिकेन्द्र धाउने, पार्टी र सत्ताकै लेनदेनमा बिचौलियाको भूमिकामा देखिन थालेपछि झन् झन् संकट गहिरिँदै छ । परिवर्तनको आशा पनि क्षीण बन्दै गएको छ । अब दोष शीर्ष नेतृत्वलाई दिने कि दोस्रो पुस्तालाई ? अर्को प्रश्न उब्जिएको छ ।

शीर्ष नेतृत्वबाटै सिर्जित समस्या
एमालेभित्र समस्याको गुजुल्टो फुकाउनै नसक्ने गरी बल्झिएको छ । थुप्रै समस्याका चाङहरू चुलिएको चुलियै छन् । नेताहरूबीचका आन्तरिक गतिविधि, वैचारिक द्वन्द्व र आपसी किचलोका कारण नेपाली कम्युनिष्ट आन्दोलन मात्रै होइन, मुलुकको अस्तित्व नै एउटा जटिल र खतरनाक मोडमा पुगेको छ ।

पार्टी सामूहिक नेतृत्वमा चल्न छाडेपछि पार्टीमा संकट आएको हो । पार्टीले तय गरेको प्रणाली, विधि र निर्णयअनुसार काम भएका भए अहिले यस्तो समस्या आउने थिएन । सरकारको काम पार्टीको संस्थागत निर्णय, निर्देशन र अनुगमनअनुसार भएको भए समस्या बल्झिने थिएन । पार्टीलाई कसरी क्रान्तिकारीकरण गर्ने ? विधि र पद्धतिमा कसरी ढाल्ने ? पार्टीलाई कसरी भ्रष्टीकरण र स्खलीकरणको प्रक्रियाबाट रोक्ने ? यो प्रयास न कतैबाट भयो न चिन्तन–मनन नै ।

पटकपटकको प्रतिनिधि सभाको विघटन सिङ्गो राष्ट्र र पार्टीको हितमा थियो वा थिएन ? नागरिकता अध्यादेशले नेकपा एमाले र मुलुकलाई दीर्घकालीन घाटा पुर्याउँछ वा फाइदा पुर्याउछ ? जेजसो गरेर पनि प्रधानमन्त्रीको पद सुरक्षित हुनुमात्र सिङ्गो एमाले सुरक्षित हुन्छ भन्ने तर्क उपयुक्त छ वा अनुपयुक्त ? अब बहस हुनु जरूरी छ ।

पार्टीबाट चुनाव जितेर, पार्टी अङ्कित चुनाव चिन्ह र लोगो लगाएर पार्टीकै ह्विप नमान्ने, निर्देशन अवज्ञा गर्ने र आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीहरूलाई सहयोगी भूमिका खेल्ने चरित्रलाई दलीय व्यवस्थामा कसरी राजनीतिक चरित्र मान्ने ? पार्टीभित्र देखापरेका तमाम समस्या शीर्ष नेताहरूबाट सिर्जित समस्या हुन् । उनीहरूलाई नसच्चाई एमाले सच्चिदैन । पार्टी २०७५ जेठ २ अघिको अवस्थामा नपुगी पार्टी एकताबद्ध हुन संभव देखिदैन । तसर्थ, लाखौँको त्याग, संघर्ष, बलिदानी, अथक परिश्रम र लगावले निर्मित विशाल पार्टीलाई कसैको लहड र व्यक्तिगत महत्वाकांंक्षामा अकर्मण्यतातर्फ लगेर विघटन र बिर्सजन गर्न पाइँदैन । विशाल पार्टीलाई वैचारिक, सांस्कृतिक र व्यावहारिक भ्रष्टीकरणको दिशामा लैजाने छुट कसैलाई पनि छैन । शीर्ष नेतृत्वले जनअदालतको कठघरामा उभिएर लाखौँ कार्यकर्ता र नागरिकका प्रश्नैप्रश्नको जवाफ अब नदिई सुखै छैन ।

यसो गरे मिल्छ कि ?
१. एकताबद्ध एमालेको मुख्य आधार नै पार्टीको नवौँ महाधिवेशनबाट पारित सिद्धान्त, नीति, कार्यक्रम र विधान हुन् । यिनको पूर्णतः अक्षरशः पालना गर्नु र तदनुरूप अगाडि बढ्नु नै सबै समूह र पक्षको अनिवार्य शर्त हुनुपर्दछ ।
२. नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । माक्र्सवादी–लेनिनवादी विचार–सिद्धान्तलाई अङ्गीकार गर्दै जबजकै मार्गदर्शनअनुरूप पार्टीभित्रका सबै विचार समूहलाई उचित स्थान दिई व्यवस्थापन गरिनुपर्छ ।
३. प्रत्यक्ष वा अप्रत्यक्षरूपमा आफ्ना विपक्षी वा विरोधी पार्टीलाई बल पु¥याउने, सघाउ पुग्ने र अन्ततः पार्टीलाई कमजोर बनाउने कार्यहरू जो कसैबाट भए पनि तुरून्त रोकिनुपर्दछ ।

४. पार्टीका शीर्ष नेताहरूबीच हाल देखापरेका अन्तरविरोध र असन्तुष्टिहरू मुख्यतः व्यक्तिगत इगो र महात्वाकांंक्षा नै भएकोले पार्टी केन्द्रिय कमिटीको निदृष्ट निर्णयअनुसार सामूहिक प्रणालीमा जानु नै अहिलेको अपरिहार्य आवश्यकता हो ।
५. पार्टीको चुनावी घोषणापत्रबमोजिम नै सरकारका काम कारबाही अगाडि बढ्नु जरूरी छ । सरकारका राम्रा र जनमुखी काम कारबाहीको प्रचारप्रसार गर्नु पार्टीको जिम्मेबारी हो भने अनुगमन गर्नु र आवश्यक सहयोग,सुझाव र निर्देशन गर्नु पार्टीको कर्तव्य हो ।
६. पार्टीमा व्याप्त अन्तरविरोधलाई आत्मालोचना–आलोचनासहित पाटीभित्रै हल गर्नुपर्छ र कमिटी प्रणालीलाई सर्वसम्मत बनाई नियमित बैठक बसी पार्टी, जनता र देशको हितको पक्षमा निर्णय गरिनुपर्दछ ।

७. महाधिवेशन नै सम्पूर्ण विवाद समाधानको एकमात्र मुख्य विकल्प हो तसर्थ पार्टीको दशौँ महाधिवेशन यथाशीघ्र आयोजना गरी सोहीमार्फत विवाद टुङ्ग्याउनुपर्दछ । एकपटक अध्यक्ष भइसकेको वा नेतृत्व गरिसकेको व्यक्ति पुनः उम्मेद्वार बन्न नपाउने वैधानिक व्यवस्थासहित शीर्ष नेताहरूले ससम्मान विश्राम लिई दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अस्तु ।-(लेखक ज्ञवाली बुद्धिजीवी विचार मञ्च रुपन्देहीका अध्यक्ष हुन् )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।