पछिल्लो समयमा सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक क्रियाकलापमा महिलाको नेतृत्वदायी भूमिका स्थापित हुँदै गएको छ । बैंक तथा वित्तीय संस्था हाँक्नेमा पनि अहिले महिलाको नेतृत्वदायी भूमिका बढेको छ । बैंक तथा वित्तीय संस्था हाँकेर बस्नेमा अब्बल र सफल बनेका कैयन महिलाहरु छन् । यी मध्ये कृषि विकास बैंक बुटवल शाखा हाँकिरहेकी छन् सीमा बन । बाग्लुङ्गमा जन्मिएकी उनी बाल्यकालमै बाबाआमा सहित बसाई सेरर सैनामैना ६ रामापुर कलौनीमा आएकी थिइन् ।
रामापुर माविमा कक्षा ८ सम्म, सिद्धार्थ मेमोरियल एकेडेमीमा ९ र १० कक्षा अध्ययन गरेकी हुन् । उनी २०५६ मा भएको एसएलसीमा प्रथम श्रेणीमा साविकको दुधराक्ष गाविसका स्कूलहरु मध्येबाट प्रथम भएकी थिइन् । रामापुर उच्च माविमा व्यवस्थापन संकायबाट १२ कक्षा पास, लुम्बिनी बाणिज्य क्याम्पस बुटवलबाट २०६२ मा स्नातक उत्तीर्ण गरिन् । २०६२ मै पहिलो सन्तानलाई जन्म दिई आमा बनेकी उनले लुम्बिनी वाणिज्य क्याम्पसबाट २०६५ मा व्यबस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणीमा उतीर्ण गरिन । २०६७ मा उनी दोश्रो सन्तानको आमा बनिन् । बच्चा हुर्काउदै बैंकिङ्ग परीक्षाको तयारी गरेकी उनी २०६८ मा कृषि विकास बैंक प्रवेश गरिन्।
२०६८ असार २६ गते कृषि विकास बैंकमा व्यवसाय अधिकृत सातांै तहको रुपमा नियुक्ति लिई दुई सन्तानसहित गुल्मीको तम्घासमा रहेको बैंक शाखाबाट जागिर सुरु गरेकी थिइन् । काखे बच्चासहित जागीरे जीवन सुरु गरेकी उनका दुई छोराहरु अहिले हुर्किइसकेका छन् भने उनले त्यतिबेला गरेको दुःख कष्ट क्रमशः सफलतामा परिणत हुँदै आएको छ । लोकसेवाले लिने आन्तरिक परीक्षा उतीर्ण गरि २०७४ माघ १३ गते शाखा प्रमुख (नवौं तह)मा बढुवा भइन् । यता पढाईलाई बिट मार्न नसकेकी उनी पुनः अर्थशास्त्र विषयमा स्नाकोत्तर अध्ययन तथा कानून संकायमा एलएलबी २०७५ मा उत्तीर्ण गरी उनी २०७६ श्रावणमा अधिवक्ताको जाँचमा प्रथम श्रेणीमा पास भइन् । अहिले उनी अधिवक्ता समेत हुन् ।
विगत १० वर्षदेखि बैैंकिङ क्षेत्रमा संलग्न रहेकी उनले महिला उद्यमशिलता विकास र वित्तीय साक्षरताका बारेमा समेत विश्लेषणात्मक लेख रचना र प्रशिक्षणमूलक सामग्री प्रकाशन गर्दै आएकी छन् । आर्थिक क्रियाकलापमा महिलाको सहभागिता, महिला उद्यमशीलता विकास र वित्तीय साक्षरता सहितको शिक्षा र आर्थिक अधिकारमा पँहुचको पेरिफेरीमा केन्द्रीत रहेर कृषि विकास बैंक बुटवल शाखाका प्रमुख सीमा बनसँग गरिएको कुराकानीः
कसरी प्रवेश गर्नुभयो यो बैंकिङ क्षेत्रमा ?
–धन्यवाद, मेरो पढाई बाणिज्यशास्त्र पनि भएकाले सुरुदेखि मलाई बैंकिङ्ग क्षेत्रमा क्यारीयर बनाउने रहर थियो । मेरो पढाई र रहर मिलेका कारणले पनि बैंकप्रति आकर्षण भयो र काम पनि यसैमा गर्न सफल भएँ । पछिल्लो समयमा महिलाको सहभागिता हरेक क्षेत्रमा बढ्दो नै देखिन्छ । बैंकिङ्ग क्षेत्रको कुरा गर्दा हाल ट्रेलरदेखि व्यवस्थापकीय पक्षसम्ममा महिलाहरुको नेतृत्वदायी भूमिका देखिएको छ ।
के छन् यस क्षेत्रका खास समस्या तथा चूनौतीहरु ?
–समाजमा अहिले विस्तारै समानताको, समावेशीताको र चेतनाको समेत विकास हुँदै गएको छ । महिलालाई भन्सामा र श्रममा गणना नहुने घरेलु काममा मात्रै सिमित राख्ने परम्परा थियो । अझै पनि यो परम्परा हटिसकेको छैन तर हटाउनैपर्छ । यस्तै चिन्तन र परम्पराकै बीचमा महीलाहरु बाहिर निस्कनु आफैमा चुनौतीपूर्ण कार्य हो । महिलाहरुले घर परिवारको सम्पूर्ण जिम्मेवारीका साथ आफ्नो प्रोफेस्नल जीवनलाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ । यसले दोहोरो तेहेरो जिम्मेवारीमा बाँधिएको महसुश बनाउँछ । त्यसमा घर परिवारको साथ र हौसलाको खाँचो हुन्छ । महिलाहरुले भोग्नुपरेको सबैभन्दा ठूलो समस्या भनेकै घरपरिवारबाट सपोर्ट नपाउनु हो । मैले चाँही मेरो आमा बुबा र दाईभाईबाट साथ पाएँ । समस्यारहित क्षेत्र त सायद केही पनि छैन । समस्याको पहिचान गरेर त्यसलाई समाधान गर्ने सरल उपायहरुको खोजी गर्दै अभियानमा केन्द्रित हुनुपर्ने छ ।
एउटा सफल सरकारी बैंकको प्रमुख हुँदा कस्तो महशुस गर्नुहुन्छ ?
–जिम्मेवारी पाउँदा त्यसलाई असल नियत र कर्मले पूरा गर्न सक्नुपर्छ । यो महिला होस वा पुरुष तथा अरु समुदाय नै । जिम्मेवारी बहनमा मलाई अझ अब्बल भएर देखाउन पाए हुन्थ्यो भन्ने भइनै रहन्छ । ‘ए ! महिला हाकीम पो हुनुहँुदो रहेछ गज्जब र खुसी लाग्यो’ भन्दै सेवाग्राहीहरु आउनुहुन्छ । त्यसमा पनि महिला दिदीबहिनीहरु तथा आमाहरु त झन् धेरै प्रशन्न भएको आभास देखाउनुहुन्छ । उहाँहरुमध्ये कतिपय त भेट्नैको लागि मात्रै पनि मेरो च्याम्बरमा जानुहुन्छ । यसले मलाई निकै खुसी लाग्छ । सबैले राम्रो रेस्पोन्स गर्नुहुन्छ गर्व लाग्छ ।
यस्तै जागिर खान चाहने नयाँ पुस्ताले के गर्नुपर्ला ?
–अहिले लगभग सबैजसो जिल्लामा बाणिज्य बैंकहरुको उपस्थिति बढेको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको विस्तार भइरहेको छ । यसले जनशक्तिको खपत र नयाँ उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निश्चित छ । महिला होउन् वा पुरुष कुनै पनि क्षेत्रमा प्रवेश गर्नको लागि त्यसप्रतीको सकारात्मक सोँचसहितको लगाब नै पहिलो आवश्यकता हो । बैंकिङ्ग क्षेत्र क्यारियरका लागि एउटा सुनौलो अवसर भएको आकर्षक क्षेत्र पनि भएकाले यसमा प्रवेश गर्न आवश्यक अभिरुचिसहितको अध्ययन र तालिमको खाँचो पर्छ । अध्ययनशिल भएर राम्रो तयारी गर्ने हो भने सफल भइन्छ ।
समयको महत्व कति छ भनेर सायद मैले भनिरहन नपर्ला । समय व्यवस्थापन होइन आफू व्यवस्थित हुने हो । अल्छीपना समयको सबैभन्दा ठूलो शत्रु हो । आज होइन भोलि गरौंला भनेर बस्नु हुँदैन । समयलाई त आफूसँग हिडाउन सक्नुपर्छ । मनमा चाहाना हुने हो भने व्यवस्थापन जसरी पनि हुन्छ । चाहाना गर्नेले बाहाना बनाउनु हुँदैन ।
बैंक तथा वित्तीय संस्थाको छनौट कसरी गर्ने नि ?
–बैंक तथा वित्तीय संस्थाको चयन गर्दा व्याजको साथसाथै आफ्नो रकम सुरक्षीत भएको विश्वास हुनुपर्दछ । बैंक तथा वित्तीय संस्थाको पहुँच वा तिनको उपलब्धता, बैंकहरुले दिने सेवा र सुविधा र तिनको लागत, बैंकले ग्राहकसँग गर्ने व्यवहार, बचतमा बैंकले दिने व्याजको दर र दिने समय आदिको आधारमा बैंक छनौट गर्नुपर्दछ ।
तपाइँ आफै एक सक्षम बैंकर्स र महिला अगुवा पनि हुनुहुन्छ, बैंकबाट सञ्चालित ऋण कार्यक्रमका दौरानमा पनि महिलालाई उद्यमीका समस्या र चुनौेतिहरु पनि पहिल्याउनु भएको होेला । के छन् त्यस्ता खास चूनौती ?
–नेपाली समाजमा महिला शसक्तिकरण र आत्मनिर्भरताको अभियानमा थुप्रै चुनौतीहरु देखिएका छन् । यसमा पहिलोे चुनौती भनेको महिला आफैमा आत्मबल कमजोेर हुनु हो । पराधीन सोंच र मनस्थितिलाई सधैंका लागि हटाउनैपर्छ । बैंकमा कर्जा लिनका लागि आउने महिलाका समस्या उस्तै उस्तै पाइएका छन् । अधिकांश परिवारबाटै सुरुमा असहयोग हुने, परिवार सहमत भई हाले पनि के गर्ने, कहाँ जाने र कसरी गर्ने भनेर प्रयाप्त ज्ञान, सीप र क्षमताको अभाव पाइएकोे छ । जोखिम वहन गर्न सक्छु भन्ने हिम्मत नै उहाँहरुमा कमजोर हुने गरेकोे छ । यहीँ नै पहिलो चुनौती हो । यसका अतिरिक्त लगानीका लागि प्रयाप्त पुँजी नहुनु र बित्तिय साक्षरताबारे जानकारीको अभावले पनि महिलाहरु उद्यमी बन्न सकिरहेका छैनन् । महिलाको सहभागीता मात्र परियोजना दर्ता र छुट प्रयोजनका लागि मात्र हुने गरेको देखिन्छ । जसले गर्दा पनि उद्यममा महिलाको भूमिका प्रभावकारी हुन सकेको छैन । उद्यमी बन्नु आफैमा चूनौतीपूर्ण हो ।
के हो वित्तीय साक्षरता भनेकोे ?
–हरेक आर्थिक वा वित्तीय क्रियाकलापमा उचित निर्णय लिन सक्ने क्षमताको विकास गर्नुलाई वित्तीय साक्षरता भनिन्छ । यसको लक्ष्य हरेक व्यक्तिहरुलाई साधन र श्रोतको कुशल प्रयोग गर्दै आयमुलक क्षेत्रमा लगानी गर्ने र त्यसबाट आर्थिक उन्नत गर्न सक्ने तुल्याउनु हो । वैधानिक रुपमा आय आर्जन, आर्जीत रकमको व्यबस्थापन गरी बचत गर्ने देखी लगानीसम्मको सही ज्ञान हुनु वित्तीय साक्षर हुनु हो । लगानी के मा गर्ने, कसरी गर्ने, आफुसंग भएको सिमित पूँजीलाई केमा लगाउने, ऋण लिएर के गर्ने, कसरी ऋण लिने भन्ने बारेमा जानकार हुनु वित्तीय रुपमा साक्षर हुनु हो । वित्तीय शिक्षाले पैसा र पैसालाई राम्रोेसँग उपयोग गर्ने अवधारणासँग परीचित गराउँदछ ।
के महिलालाई मात्रै वित्तीय साक्षरता चाहिन्छ ?
–होइन, वित्तीय साक्षरता सबैका लागि जरुरी छ । वित्तीय साक्षरता कार्यक्रमहरु विशेषगरी जीवनउपयोगी आर्थिक योजना बनाउन सक्ने क्षमतामा केन्द्रीत हुनुपर्दछ । अहिलेको अवस्थामा फरक फरक समुहकालागि फरक फरक प्रकृतिको वित्तीय साक्षरता आवश्यक छ । नेपालको वित्तीय साक्षरताको अवस्था करीव १८ प्रतिशत मात्रै छ । नेपालको वित्तीय प्रणालीमा बैंकिङ्ग, बिमा, पुंजीबजार, गैरबैंकिङ्ग वित्तीय क्षेत्र र सहकारी क्षेत्र गरी ५ वटा क्षेत्रहरु रहेका छन । करिब ६० प्रतिशत जनतामात्र बैंङ्गि सेवामा समेटिएका छन् । अति दुर्गम तथा भौगोलिक रुपमा पिछडीएका ठाउंँहरुमा अझैपनि वित्तीय सेवाको पहुँच छैन । अनौपचारीक क्षेत्रबाट कर्जा लिने घरपरिवारको संख्या करीब २१ प्रतिशत छ । बैंकिङ्ग प्रणालीमा महिला सहभागीता उत्साहजनक छैन । मुलुकमा वित्तीय साक्षरताको दर न्यून रहेको कारण अधिकांश जनताहरु बैंकिङ्ग सुविधाहरुका बारेमा अनविज्ञ हुनु बैकिङ्ग सेवाबारे केही ज्ञान विस्तार नभएकाले पनि प्रायजसो बैंकिङ्ग शव्दावली नबुझ्ने हुँंदा बैंकमा खाता खोल्ने र कर्जाको लागि आवेदन दिने प्रकृया उनीहरुको लागि ज्यादै झन्झटिलो महशुस हुने गरेको छ ।
महिलालाई उद्यमी बन्न के–के छन् सरकारी सुविधा ?
–सरकारले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेकोे छ । यसमा पनि महिलालाई विशेष प्राथमिकतामा राखेर सुविधाहरुकोे व्यवस्था गरेको छ । सरकारले महिला उद्यमशीलताको थप विकासका लागि एक पछि अर्को नीतिगत व्यबस्था पनि गरिरहेकोे छ । औैद्योेगिक व्यवसाय ऐन २०७४ मा महीला उद्यमीहरुका लागि आकर्षक नितीहरु अघि सारेको छ । सरकारले महिलालाई उद्यमी बनाएर गुणस्तरीय जीवन व्यतित गर्न सकुन भन्ने उद्देश्यले सहुलियत ऋण दिने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत व्याज अनुदान कार्यविधीले महिला उद्यमीलाई दिईने ऋणमा व्याज अनुदानको व्यवस्था गरेको छ । यसरी पाईने ऋणको व्याज रकम मध्ये ६ प्रतिशत सरकारले तिरिदिने व्यवस्था छ । महीलाको नाममा दर्ता भएको उद्योगलाई औद्योगीक सम्पत्ति, पेटेन्ट, डिजाईन र ट्रेडमार्क दर्ता गराउँदा लाग्ने दस्तुरमा २० प्रतिशत छुट दिइने व्यबस्था छ । औधोगीक व्यवसाय ऐनमा महीला उद्यमीको मात्र स्वामित्व रहनेगरी उद्योग दर्ता गरीएमा त्यस्तो उद्योग दर्ता गर्दा लाग्ने दस्तुरमा समेत ३५ प्रतिशतसम्म छुटको व्यवस्था छ ।
विशेष गरी महिलाहरुकालागि तपाइंको सन्देश
समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । आज सँसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन ।महिलाहरु परनिर्भरताबाट आत्मनिर्भरतामा प्रवेश गर्ने क्रम बढ्दै गएको हालको अबस्थामाा वित्तीय व्यबस्थापनको क्षेत्रमा उनीहरुको भुमिका बढ्दै गएको हुन्छ । उनीहरुको समाज र परिवारप्रति बढ्दै गएको भुमिका तथा आर्थिक जिम्मेवारीका कारण उनीहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखीमबाट बच्न तथा समग्र रुपमा वित्तीय व्यबस्थापन बारे जानकारी दिन वित्तीय साक्षरता आवश्यक्ता छ । आर्थिक उपार्जनले आत्मविश्वास बढाउंछ । तसर्थ हरेक महिला आत्मनिर्भर हुनु जरुरी छ । उधमशील हुनु जरुरी छ ।
बैंक तथा वित्तीय संस्था तपाई हाम्रो को उन्नतीका साथी हुन । यस्ता संस्थाले तपाई हाम्रो बचतको सुरक्षा गरी प्रतिफल समेत दिन्छन । बैंकले उधम व्यवसाय गर्न कर्जा र आवश्यक प्राविधीक सल्लाह समेत प्रदान गर्दछ । बैंकमा खाता खोली बचत गर्ने र आवश्यक परे ऋण लिने बानी बसालौ । आर्थिक कारोवार औपचारीक क्षेत्रबाट गरौं ।
प्रतिक्रिया