ताजा अपडेट »

फलफूल तथा जडिबुटीले धानेको जीन्दगी

मंगलबार, १५ असार २०७८, १६ : ०३
18 Shares
मंगलबार, १५ असार २०७८
18 Shares

कनकाई । झापाको मेचीनगरका दिपक नेपाल फलफूल तथा जडिबुटी उत्पादनबाट राम्रो आम्दानी गर्न सक्षम बने । केही वर्ष अघिसम्म सानो क्षेत्रफलमा शुरु गरिएको फलफूल तथा जडिबुटीको नर्सरी व्यवसायलाई उनले पछिल्लो समय विस्तार गरी बृहत बनाएका छन् । साथीभाइ पैसा कमाउन वैदेशिक रोजगारीमा गइरहेका बेला उनले भने फलफूलका बिरुवाको नर्सरी शुरु गरे । फलफूलका बिरुवा बेचेर पनि पैसा कमाइन्छ र रु भनेर धेरैले उनलाई त्यसबेला खिल्ली उडाएका थिए । धेरै मेहनत र सङ्घर्ष गरेर दुर्ई/चार पैसा कमाउन थालेको समयमा एउटा कम्पनीले धोका दिएपछि व्यवसाय नै परिवर्तन गर्ने सोचमा पुगेका दिपकलाई स्वरोजगार कर्जाले फलफूलको नर्सरी क्षेत्रमा सफल व्यवसायीको रुपमा चिनाउन हौसला प्रदान गर्यो । आज उनी देशमै एक सफल व्यवसायी बनेको छ ।

आफूसँग धितो नभएको बेला र पार्टीबाट ठगिएर व्यवसाय नै छोड्ने मनसायमा पुगेको अवस्थामा युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु दुई लाख पाएपछि पुनः नर्सरी व्यवसायमा होमिनुभएका दिपकलाई व्यवसायबाट केही सुधार हुने अवस्थामा एउटा कम्पनीबाट पाएको धोकाले घरको न घाटको अवस्थामा पुर्याएको उनको भनाइ छ । त्यसबेला स्वरोजगार कार्यक्रमबाट बिनाधितो कर्जा पाउने कुरा सुनेपछि स्थानीय महालक्ष्मी कृषि सहकारी संस्थाबाट रु दुई लाख कर्जा लिएर व्यवसाय शुरु गरेएका दिपक आज आफ्नो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउँछन्।

दिपकले पछिल्लो समय व्यवसायलाई बृहत बनाए । उनले मेचीनगर–१३ स्थित चारआलीमा एक बिघा दुई कठ्ठा जमीनसमेत भाडामा लिएर नर्सरी व्यवसाय विस्तार गरेका छन् । शुरुमा व्यक्तिगतरुपमै व्यवसाय सञ्चालन गरेका उनले पछिल्लो समय दुईवटा फर्म दर्ता गराए । हाल दिपकको ग्लोवल एग्रो एण्ड नर्सरी प्रालि र ग्लोवल एग्रो एण्ड इन्डष्ट्रिज प्रालि दर्तामा रहेको छ ।

दिपक आफ्नो व्यवसायमा सधैँ व्यस्त देखिनु हुन्छ । उनी मात्र होइन, उनकी श्रीमती जानुकाको दर्बिलो साथ पाएका छन् दिपकले । श्रीमती जानुकासमेत सधैँ माटोमा खेल्नेदेखि बिरुवाको रोपणमा व्यस्त देखिन्छन् । यति ठूलो कृषि फर्म बनाएर राम्रै कारोवार गर्दै आएको यी जोडी सधैँ काममा व्यस्त देखिन्छन् । दिपकले आफ्नो दुबै फर्ममा ३२ जना स्थानीयलाई रोजगारीसमेत दिए । उनको फर्ममा ३० जना मजदूर र दुई जना प्राविधिक छन् । फर्ममा विशेषगरी ड्राइगन फुड, एभोकार्डो, ओखर, इकाइनट, मिकाडमिनटलगायत विभिन्न फल तथा अगरउड, सेन्डरउड, पचौली, लेवन ग्रास, सिटोनेला तथा विभिन्न प्रजातिका फूल उत्पादन गरेर देशका विभिन्न ठाउँमा निर्यात भइरहेको बताइएको छ ।

दिपकका अनुसार “बजारको अभाव छैन, सबै क्षेत्र खाली छ, देशभरबाट बिरुवाको माग आइरहेको छ । आफ्नो उत्पादनले नभ्याएर अन्य क्षेत्रसमेतबाट फलफूलका बिरुवा माग गरेर बिक्री गरिरहेको छु ।” आफ्नो नर्सरी फर्म देशमै सबैभन्दा ठूलो भएको दाबी गर्दै आ्एका दिपकले राज्यलाई वार्षिक रु १० लाख कर बुझाउँदै आएको बताएको । उनी कृषि पेशामा भविष्य छैन भन्नेको लागि दर्बिलो उदाहरणसमेत बने । आफ्नो व्यवसायको सफलताका लागि महालक्ष्मी कृषि सहकारीले पुलको काम गरेको उनको भनाइ छ । विभिन्न्न क्षेत्रमा जडिबुटी खेतीलार्ई प्रथमिकता दिएर उत्पादन गर्दै आएका नेपालले व्यवसायिकरुपमै तरकारी खेतीसमेत शुरु गरेका छन् ।

रासस
लेखकको बारेमा
रासस