आज असार पन्ध्र अर्थात् नेपाली किसानहरुका लागि ‘मानो रोपेर मुरी फलाउने दिन’ । परापूर्व कालदेखिनै मुख्य कर्म र पेशाका रुपमा रहेको कृषि अन्तर्गत धानबाली नेपालको मुख्यबाली हो । अत्यावश्यक तथा प्रमुख अन्नबालीका रुपमा रहेको धान रोप्ने विशेष महिना हो असार । दशक अघिसम्म ९० प्रतिशत भन्दा बढी किसान रहेको नेपालमा हाल ६० प्रतिशतको हाराहारीमा किसानको संख्या रहेको छ । प्राचिन हुँदै आधुनिक कृषि प्रणालीसम्म आउँदा किसानको संख्यासँगै उत्पादनमा पनि कमी आएको छ । कुनै समय खाद्यान्न निर्यात गर्ने मुलुकमा हाल खपतको अत्यधिक मात्रा खाद्यान्न आयात हुने गरेको छ । प्रमुख बाली धानबालीकै उत्पादन न्यून छ । जनसंख्याको अनुपातमा उत्पादनमा हस आउँदा आयात दिनानुदिन घट्दै छ ।
नेपालमा अहिलेपनि कृषि मुख्य पेशा हो । कुल ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा र योगदान महत्वपूर्ण रहेको छ । तर,कृषि प्रधान देशमा कृषि उत्पादनको ठूलो हिस्सा आयात हुनु दुःखद मात्रै होइन ठूलो घाटा हो । धानबाली नै मुख्यबाली रहेको मुलुकमा वार्षिक ३० अर्ब भन्दा बढीको चामल आयात हुने तथ्यांक बताउँछ । त्यस्तै नेपालमा विभिन्न देशबाट वार्षिक ६० अर्बभन्दा बढीको कृषिजन्य सामग्री आयात हुने गरेको तथ्यांक छ । नेपालमा कृषिमा अथाह सम्भावना छ । तर, सम्भावना अनुसार उत्पादन भने छैन । नेपालको भूउपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१% रहेको छ । नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा धानबाली उत्पादन हुन्छ । मनाङ र मुस्ताङमा भने धानबाली लगाइँदैन । पहाडको तुलनामा तराइका जिल्लाहरुमा बढी उत्पादन हुन्छ ।
नेपालको करिब २५ लाख हेक्टर कृषियोग्य जमिनमध्ये पाँचदेखि १० प्रतिशत बाँझो रहेको सरकारी आंकलन छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार पछिल्ला आर्थिक वर्षमा धानखेतीको क्षेत्रफल र उत्पादन बढेको छ । जस अनुसार नेपालको कुल क्षेत्रफलको १५ लाख हेक्टर सेरोफेरोमा धानबाली ५५ लाख मेट्रिक टन हाराहारी धान उत्पादन हुने गरेको छ । तथ्यांक अनुसार धान उत्पादन हुने ६० प्रतशित जमिन मनसुनी वर्षामा निर्भर गर्दछ । जहाँ सिञ्चाईको व्यवस्था छैन । नेपालमा धान मात्रै नभई अन्य खाद्यान्न तथा कृषिजन्य सामग्रीको उत्पादन आवश्कयता र सम्भवना धेरै छ । तर, विविध कारणले सम्भावनाको आधा पनि नतीजामुखी छैन ।
धान लगाएत कृषि उत्पादनका क्षेत्रमा धेरै नीतिहरु बनेका छन् । प्रयासपनि भएका छन् । प्रधानमन्त्री कृषि रोजगारदेखि विभिन्न विशेष कार्यक्रमहरु पनि रहेका छन् । तर, कार्यान्वयनमा भने फितलो छन् । नेपालमा कृषि क्रान्ति सुरु भएको पनि धेरै भयो । वि.सं.१८६१ देखि सुरु भई निरन्तर चलेका क्रान्ति वि.सं.२०५२ को माओवादी जनयुद्धको पनि मुख्य एजेण्डा अन्तर्गत पर्यो । तर, २ सय वर्षदेखि कृषि क्रान्ति आधुनिक कृषि प्रणालीसम्म आउँदा पनि नेपालमा कृषिलाई घाटाको पेशाको रुपमा लिइन्छ । पछिल्लो समयमा कृषिमा आकर्षण बढेको छ । विदेशबाट फर्केका , देशमै रहेका शिक्षित युवाहरु पनि कृषिमा संलग्न भएका छन् । विभिन्न ठूला फार्म र कृषि केन्द्र स्थापित भएका छन् । तर, ती ठूला फर्म केहीँ पहुँचवालाले अनुदानका लागि मात्रै माध्यम बनाएका छन् भने पहुँच नभएकाहरुले लगानी गरेका ठूला फर्मको सञ्चालन र उत्पादित बस्तुको बिक्री–वितरणमा समस्या देखिएका छन् ।
त्यसैगरी सामान्य कृषकलाई नयाँ खेती प्रणाली,उन्नत,विउ–विजन,सहयोग तथा अनुदान,सरल कर्जा लगाएतका विषयमा जानकारी नै छैन । अर्कोतर्फ समयमा नै मल नपाउनु पनि कृषि क्षेत्रमा जटिल समस्या हो । विश्वव्यापी कोरोना महामारीका कारण बेरोजगार संख्या बढेसँगै नेपालको कृषि क्षेत्रका लागि जनशक्तिको उपलब्धता पनि बढ्दो छ । कृषिमा आवश्यक जनाशक्ति पनि हालसम्मको मुख्य समस्या हो । तसर्थ असार पन्ध्र,राष्ट्रिय धान दिवस मनाइँरहँदा धानबालीको उत्पादन र कृषि क्षेत्रको प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ पनि आवश्यकता छ । नेपालमा धान उत्पादनको अवस्था बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाइनु पर्ने देखिन्छ ।
वि.सं.१९८० को दशकसम्म खाद्यान्न निर्या गर्ने नेपालले हाल ५० प्रतिशत भन्दा बढी निर्यात गर्दछ । हाल ३० भन्दा बढी जिल्लामा खाद्यान्नको असुरक्षा रहेको छ । देशको कतिपय भागमा आन्तरिक उत्पादनले ६ महिनासम्म पनि खान पुग्दैन । कृषि क्रान्ति,कार्यक्रम,योजना,दिवस जस्त कार्यक्रमहरु ल्याइरहँदा वास्तविक किसान र आवश्यक तथा सम्भावित उत्पादनतर्फ विशेष जोड दिनु पर्ने देखिन्छ । कृषि र किसानका नाममा विनियोजन हुने सबै तहको बजेट कार्यान्वयनमा प्रभावकारी बनाउनु पर्दछ । आगामी आर्थिक वर्षका लागि स्थानीय,प्रदेश र केन्द्रिय सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई विशेष प्राथमिकता दिएका छन् । जुन पुरानै स्वरुपको निरन्तरता पनि हो । तर, अबपनि कृषि क्षेत्र र उत्पादनलाई औपचारिकतका रुपमै मात्रै हेर्ने हो भने कृषिप्रति उपेक्षा र संलग्नता घट्ने छ । र,यसले थप खाद्य संकट निम्ताउने छ । तसर्थ धानबालीसँगै कृषि क्षेत्रका समस्या समाधान गर्दै कृषिलाई व्यवस्थित,मर्यादित,उपलब्धिमूलक पेशा बनाउन सम्बन्धित तथा सरोकारवालाको भूमिका शसक्त र प्रभावकारी बनोस् ।
प्रतिक्रिया