बुटवल । दलित समुदायले बुटवलमा राजीनामा माग गर्दै शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको सोमबार पुत्ला दहन गरेका छन् । जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारबादी मुाका अभियुक्त छुटाउन सरकारी दलबदल सहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरेका हुन । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको ट्राफिकचौकमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभाव विरुद्ध प्रदर्शन गरेको हो ।
जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठाभाडामा नपाएको भन्दै काठमडौं बबरमहलकी सरस्वती प्रधान विरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन् । कोठा नदिएको सरकारबादी मुद्धालाई आरक्षसँग तुलना गरेर बौद्धिक तप्कानै उत्रेकोमा समेत प्रदर्शनमा आपत्ति जनाउँदै जातव्यवस्था अन्त्य नगरे देशमा युद्ध हुने चेतावनी दिए ।
संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे । उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएको भन्दै मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे ।
बुटवल पुष्पलालपार्कदेखि नाराबाजी गर्दै ट्राफिकचौकमा सभा भएको थियो । दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकिकृत आन्दोलन गर्नुपर्ने बताए । दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्य शक्ति लागि परेको दलित अभियान्ता नरबहादुर सुनारले आरोप लगाए । उक्त अवसरमा दलित नेता ओम प्रकाश विश्वकर्मा, जीवन परियार लगायतले बोल्दै जातीय भेदभाव विरुद्ध सशक्त रुपमा प्रतिरोधमा उत्रने चेतावनी दिए ।
जातकै कारण कोठा भाडामा नदिएर अपमान गरेको आरोपमा घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै गाडीमा लगेपछि देशैभर विरोध प्रदर्शन भएको छ । जातका आधारमा हुने भेदभावलाई सरकारले नै संरक्षण गरेको दलित अभियान्ताहरुको आरोप छ ।
प्रतिक्रिया