ताजा अपडेट »

महिनामा कोरोना जितेका रुपन्देहीका ९७ वर्षिय लुमाकान्त

बुधबार, ०२ असार २०७८, २० : १९
26 Shares
बुधबार, ०२ असार २०७८
26 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकर,सखुवानीका ९७ वर्षिय एक वृद्धले कोरोनालाई पराजित गरेका छन् । निकै जोखिम र नियन्त्रणभन्दा बाहिर रहेको दोस्रो चरणको नयाँ भेरियण्टको कोरोनाले ग्रसित रहेको समयमा संक्रमित भएका ९७ वर्षिय लुमाकान्त अधिकारीले एक महिनाको संघर्षपछि अन्ततः कोरोनाबाट मुक्ति प्राप्त गरेका हुन् । देशभर कोरोना संक्रमण,मृत्यु र अस्पताल,बेड,अक्सिजन लगाएत सहज उपलब्ध नभएको निकै संवेदनशिल समय अर्थात् वैशाखको अन्तिममा उनी संक्रमित भएका थिए । लगातार ३÷४ दिन कमजोर र खानामा मन नलाग्ने भएपछि उनलाई वैसाख ३१ गते स्थानीय स्वास्थ्यचौकीबाट आग्रह गरी घरमै बोलाएर एन्टिजेन परीक्षण गरिएको उनकी नातिनी सुजना अधिकारीले बताइन् ।

‘परीक्षणपछि कोरोना पोजेटिभ देखियो ,त्यसपछि नजिकको स्वास्थ्यचौकीमा लग्यौं । त्यहाँ भर्ना लिन अल्लि गार्हो भयो । मपनि मेडिकल अफिसर भएको हुनाले अनुरोध पछि हजुरबुवालाई अक्सिजन दिएर एकदिन त्यही राख्यौं ।’ उनले भनिन् । ९७ वर्षिय वृद्ध अधिकारी डाइबिटिजका बिरामी हुन् । संक्रमणको सुरुवातमा उनलाई श्वास–प्रस्वास र अक्सिजनमा निकै जटिलता थियो । परीक्षणदेखि स्वास्थ्यचौकी र घर फर्कँदासम्म पनि उनलाई आफू कोरोना संक्रमित भएको थाहा थिएन । नातिनी डाक्टर भएपनि उनी संक्रमित हुँदा आइसियू अस्पताल र उपचार पाउने अवस्था भएन । त्यसैले उनलाई घरमानै राखेर उपचार गर्ने निधोका साथ घरमै राखियो ।

नातिनी डाः सुजनाको उपचार भने निरन्तर रहयो । उनले भनिन् , हजुरबुवा अचेत हुनुहुन्थ्यो । मैले मेडिकल उपचारलाई निरन्तरता दिएँ । उहाँको अक्सिजन लेभल घटिरहेको थियो । ५५/५० सम्म घट्दै थियो । संक्रमणको समयदेखिनै निमोनिया समेत देखिएको थियो दोस्रो हफ्तामा झनै बढ्यो । एक हफ्तासम्म निकै जटिल अवस्था थियो । सो समय उहाँ अचेतनै रहनुभयो । ७/८ दिनसम्म उहाँलाई घरमा नभई अस्पतालमै भए जस्तो लागेको थियो । बर्बराउँदै ‘मलाई घर लैजाओ।’ भन्नुहुन्थ्यो । पछि मात्रै वा होस्मा आएजस्तो भयो । घरमै रहेको थाहा पाउनुभयो । हामीसँग कुरा गर्न थाल्नुभयो।’

उनी संक्रमित हुँदा दैनिक १५० देखि २०० सम्मको मृत्युको खबर आउँथ्यो । टोल–छरछिमेकका कैंयौंको मृत्यु भएको थियो । उनको घरपरिवारमा मात्रै होइन । समाज र देशमै कोरोनाको कहर थियो ,संक्रमणसँगै मृत्युको डर थियो । परिवारको सदस्य संक्रमित हुँदा छुट्टै बस्नुपर्ने अवस्था थियो र छ । तर, उनलाई भने न छुट्टै राखियो न परिवारका सदस्यले भौतिक दूरी कायम गरे । बरु उनको निकट भएर स्याहार–सुसार उपचारमा लागे । किनकी उनी अचेत नै थिए । आफै उठ्ने,खाने,दिशा–पिसाबका लागि जाने गर्न सक्दैनथेँ।‘ हामीपनि हजुरबुवासँगै रहेर उपचार र हेरचाह गर्यौं । उहाँलाई हाम्रो, उपचार र स्याहार आवश्यकता थियो ।’ नातिनी डाः सुजनाले भनिन् ।

उमेरले ९७ वर्ष र दिर्घरोगी भएतापनि हजुरबुवा हिम्मतिलो र रोगसँग लडेर जित्छु भन्ने आत्मबल भएको उनी बताउँछिन् । संक्रमणको दोस्रो हफ्तामा निमोनिया समेत देखिएपछि हजुरबुवालाई गालेको र आफूहरु पनि निकै डराएको बताउँदै २०/२२ दिनपछि भने जोखिम कम भएको उनले बताइन् । उनलाई पछि पिसिआर परीक्षण गर्दा पनि पोजेटिभ देखिएको थियो । १५ दिनपछि मेडिकल उपचारसँगै हजुरबुवाले खानामा जोड दिएको हुँदा केही सहज भएको उनले बताइन् । निरन्तरको औषधि,उपचार,स्याहार , पौष्टिक आहारले एक महिनामा अर्थात् जेठ ३० गते पिसिआर परीक्षण गर्दा नतीजा नेगेटिभ देखियो ,उनी कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमण र एक महिनाको सकसपछि कोरोना मुक्त भएका ९७ वर्षिय लुमाकान्त अधिकारीलाई आफू कोरोना संक्रमित भएको भने थाहा नभएको नातिनी सुजना बताउँछिन् । उनले भनिन् , निकै बिरामी हुनुभयो, बिरामी भएर ग्रस्त हुँदा र निको भएपछि पनि उहाँलाई आफूलाई कोरोना लागेको भन्ने थाहा छैन । उहाँ त्यसैपनि ‘रोगसँग लड्नुपर्छ,जितिन्छ’ भन्ने आत्मविश्वास धेरै भएको मान्छे हो ।’

डाक्टर नातिनीको उपचार ,घरपविारको स्याहार र हेरचाहसँगै र आत्मविश्वासले कोरोना जितेका ९७ वर्षिय वृद्धा लुमाकान्त अधिकारीलाई अझैपनि कोरोना लागेर निको भएको भन्ने थाहा छैन । बिरामी हुँदै आएका उनलाई बुढेसकालमा हुने बिरामी जस्तै सामान्य नै सोँचेका छन् । उनलाई यो अवस्थामा ल्याउन विशेष भूमिका खेल्ने उनकी नातिनी सुजना अधिकारी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी पूर्व डाक्टर हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।