बुटवल । कपिलवस्तुमा केहि दिन अघि भएको गोली काण्डको अनुसन्धानका क्रममा प्रहरीले एक जोडी बीच अवैध सम्वन्धका कारण हत्याको घटना भएकाे पत्ता लगाएको छ ।
जेठ ५ गते साँझ नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयलाई अज्ञात ब्यक्तिले गोली प्रहार गरि घम्भीर घाइते बनाएका थिए । उनको काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा पाँच दिनपछि मृत्यु भएको थियो । घटना बारे छानविन गर्न लागेको प्रहरीले, लामो समयदेखि प्रेम सम्बन्ध रहेका प्रेमीसंग मिलेर उनकै श्रीमति महिमा पाण्डेको योजनामा हत्या भएको निश्कर्ष निकालेको छ । कपिलवस्तु प्रहरीले सोमबार दिपक पाण्डे हत्या काण्डमा संलग्न ११ जनालाई सार्वाजानिक गरेको छ ।
दिपक पाण्डेलाई गोली प्रहार गर्दा मोटरसाईकल चलाएका कपिलवस्तु नगरपालिका-१ आनन्दबाघ निवासी ३९ बर्षीय प्रकाश भनेर चिनिने ओमप्रकास यादव र पाण्डे पत्नी महिमा बीच विगत ५ वर्षदेखि अवैध सम्वन्ध रहँदै आएको प्रहरीले जनाएको छ । महिमाका प्रेमी यादव आफू पनि दुई सन्तानसहितका विवाहित पुरुष हुन् । ‘उनीहरुले पछिल्लो ३ वर्षदेखि नै पाण्डेको हत्या योजना बनाएका थिए ।’-अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले भने । घटनाको विवरण सुनाउँदै उनले भने ‘यादवले मोटरसाईकलमा पाण्डेलाई पच्छाई रहेका थिए भने उनकै इसारामा हत्यामा संलग्न साकिर अलि पाखिया र रमजान शाह मुसलमानले पोण्डेलाई गोली प्रहार गरेका थिए ।’ उनीहरुको साथबाट प्रहरीले एक/एक वटा पेस्तोल बरामद गरेको छ । त्यस्तै जमिन मुनी लुकाई राखेको एक थान पेस्तोल र ६८ राउडण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीले त्यस घटना अनुसन्धानका लागि ‘माईक ह्विस्की’ नामक अपरेशन चलाएको थियो । फलस्वरुप मृतककी पत्नी महिमा सहित मुख्य योजनाकार ३ जना र उनीहरुलाई संरक्षण तथा हत्या घटनामा सहयोग पुराउने सद्दाम हुसेन खान, पुर्णबिर पाल्पाली कुम्हाल, राजेश भनेर चिनिने ज्ञानेन्द्र कुमार पाण्डेय, गोलु भनेर चिनिने राधेश्याम चौधरी, सिरिया भनिने श्रीराम चौधरी, मोटे भनिने नरसत अलि र प्रविण गुप्तालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
३ वर्षदेखिको प्रयासपछि दिपकको हत्या
बिगत ५ वर्षदेखी प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवको र मृतकको श्रीमती महिमा पाण्डेयको बीच भएको अनैतिक सम्बन्धका मृतक श्रीमान दिपक पाण्डेयले थाहा पाएपछि विवाद सुरु भएको थियो । त्यसपछि पनि, अनैतिक सम्वन्ध कायमै रहेको जनाईएको छ । मृतकको श्रीमती महिमा पाण्डेयले नै प्रतिबादी प्रकाश भन्ने ओम प्रकाश यादवलाई प्रयोग गरी पटक-पटक २/३ वर्ष अघिदेखी नै दिपकलाई मार्न बिभिन्न व्यक्तिहरुलाई प्रयोग गरी सुपारी (बैना) समेत दिने गरेकी थिइन् ।
पटक-पटकको प्रयास असफल भएपछि लामो निगरानी पश्चात गएको जेठ ५ गते दिपक पाण्डेयलाई पक्राउ परेका व्यक्तिहरुले गोली हानी घाईते बनाई मार्न सफल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको । उनीहरुलाई संगठित अपराध सजाय ऐन २०७० बमोजिम कपिलवस्तु जिल्ला अदालतबाट म्यादथप गरि अनुसन्धान जारी राखिएको जनाईएको छ ।
प्रतिक्रिया