असार २५,
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)का उत्तरपुस्तिका परीक्षकले परीक्षार्थीको प्राप्ताङ्क जोड्न गल्ती गर्ने गरेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको अध्ययनबाट यस्तो तथ्य फेला परेको हो । अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने व्यक्तिका रूपमा परीक्षकलाई ठह¥याएको छ । नतिजाप्रति चित्त नबुझाई पुनर्याेगका लागि आवेदन दिएका कतिपय परीक्षार्थीको प्राप्ताङ्क परिवर्तन हुने गरेको छ । प्राप्ताङ्क परिवर्तन भएकाका एक हजार २०४ वटा उत्तरपुस्तिकामाथि गरिएको अध्ययनले परीक्षकको गल्ती ६३ प्रतिशत रहेको औँल्याएको छ ।
सबैभन्दा बढी ४२ प्रतिशत गल्ती कभर पेजमा अङ्क चढाउन छुटेको पाइएको छ । अध्ययन गरिएका उत्तरपुस्तिकाको १८ प्रतिशतमा प्राप्ताङ्कको जोड नै गलत गरेको देखिएको छ । डिकोडिङ बिग्रिएको, झट्ट पढ्न नसकिने अङ्क, परीक्षण गर्न छुटेको, अङ्क यताउता पारी लेखिएको, सम्परीक्षकले गलत अङ्क लेखेको, इन्ट्री गलत गरेको लगायतका गल्ती देखिएका छन् । परीक्षकले गल्ती गर्ने प्रवृत्ति विगतदेखिकै हो । उनीहरूको लापरबाहीले गर्दा परीक्षार्थीहरू अन्यायमा पर्दै आएका छन् । पुनर्याेगका लागि आवेदन दिई नतिजा परिवर्तन भएकाहरूले न्याय पाए पनि नतिजाप्रति चित्त बुझाउनेहरूमाथि परीक्षकले अन्याय गर्दै आएका छन् ।
लामो समयसम्म परीक्षा नियन्त्रण कार्यालयमा सेवा गर्नुभएका पूर्वपरीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षक र सम्परीक्षकले गल्ती गर्ने गरेको बताउँदै भन्नुभयो, “धेरै परीक्षकले प्राप्ताङ्क चढाउँदा नै गल्ती गर्छन् । कतिपयले उत्तर जाँच्न छाडिदिन्छन् । टेबुलेसनको अङ्क जोड्न छुटाउँछन् । उनीहरूको लापरबाहीले यस्तो हुँदै आएको छ । ”२०७५ सालको एसईई परीक्षाको नतिजाप्रति चित्त नबुझाएर आवेदन दिनेहरूको लाम पनिकामा बाक्लै देख्न पाइन्छ ।
यस पटक चार जनाले आठवटै विषयमा पुनर्याेगका लागि आवेदन दिएका छन् ।पनिकामा मङ्गलबारसम्म करिब छ हजारले आवेदन दिएको जानकारी दिइएको छ । गत वर्ष नौ हजारले आवेदन दिएकोमा ८२७ जनाको प्राप्ताङ्क परिवर्तन भएको थियो । पनिकाको अध्ययनले सबैभन्दा बढी गल्ती गर्ने परीक्षकपछि डिकोडर र सम्परीक्षक रहेको देखाएको छ ।
पनिकाका कर्मचारीको गल्ती पनि देखिएको छ । विद्यार्थीका कारण पनि गल्ती हुने गरेको पाइएको छ । सोही अध्ययनले परीक्षकले अङ्क चढाउँदा सबैभन्दा बढी गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ । परीक्षकले गर्ने गरेको गल्तीको ६७ प्रतिशत अङ्क चढाउँदा गल्ती हुने गरेको छ । झण्डै २९ प्रतिशत गल्ती परीक्षकले प्राप्ताङ्क जोड्दा हुने गरेको छ । -गोरखापत्र
प्रतिक्रिया