ताजा अपडेट »

नेपालमा ह्याचव्याक कारः कुन मोडलको बिक्री कति ?

मंगलबार, २४ असार २०७६, १३ : ०१
24 Shares
मंगलबार, २४ असार २०७६
24 Shares

असार २४,

काठमाण्डौं । पहिलो पटक कार चढ्ने अधिकांशको रोजाईमा ह्याचब्याक कार पर्ने गरेको थियो यो क्रम आजपनि जारी छ । त्यसैले सवारी उत्पादक कम्पनीहरुले ह्याचब्याक सेगमेन्टका कारलाई प्राथमिकता दिँदै आएका छन् । 

नेपाली बजारमा इन्ट्रीलेवल ह्याचब्याक सेगमेन्टमा विभिन्न कम्पनीहरुबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । यो सेगमेन्टमा मारुती सुजुकी, हुन्डाई, टाटा, ड्याटसन, रेनो, निसान, फोर्डलगायत कम्पनीबीच प्रतिस्पर्धा देखिएको छ ।  २०७५ साउन १ देखि २०७६ बैशाखसम्मको १० महिनाको अवधिमा नेपाली बजारमा ह्याचब्याक सेगमेन्टमा सबैभन्दा धेरै मारुती सुजुकीको कार बिक्री भएको छ । यो अवधिमा मारुती सुजुकी अल्टो-८००, सेलेरियो र अल्टो के-१० गरि १ हजार ९ सय ११ वटा कार बिक्री भएको तथ्यांक छ । 

१० महिनाको अवधिमा ‘मारुती सुजुकी अल्टो-८००’ ११ सय ८९ यूनिट, सेलेरियो ६ सय ९१ र ‘अल्टो के-१०’ ३१ वटा बिक्री भएको छ । मारुती पछि ह्याचब्याक सेगमेन्टमा हुन्डाईका कार धेरै बिक्री भएका छन् । १० महिनाको अवधिमा हुन्डाईले नेपाली बजारमा १ हजार २ सय १५ वटा ह्याचब्याक कार बिक्री गरेको हो । 

हुन्डाई ‘ग्रान्ड आई–१०’ ८ सय १८, सेन्ट्रो २ सय ७१ र इओन १ सय २६ वटा बिक्री भएको हो । हुन्डाईले सेन्ट्रो कार नेपाली बजारमा फागुन ४ गते सार्वजनिक गरेको थियो । त्यस्तै ड्याटसनले नेपाली बजारमा ०७५ साउनदेखि ०७६ बैशाखसम्मको अवधिमा ४ सय ४६ वटा ह्याचब्याक कार बिक्री गरेको छ । ड्याटसनको रेडिगो २ सय ६६ वटा र गो १ सय ८० वटा बिक्री गरेको तथ्यांक छ । 

ह्याचब्याक सेगमेन्टमा एउटा मात्र मोडल भएको रेनो क्वीड नेपाली बजारमा १० महिनाको अवधिमा २ सय ६५ वटा बिक्री भएको छ । टाटाको इन्डिका ३, बोल्ट ६ वटा र टियागो २ सय ११ गरि २ सय २० कार बिक्री भएको छ । फक्सवागनको पोलो नेपाली बजारमा ०७५ साउनदेखि ०७६ बैशाखसम्मको १० महिनाको अवधिमा २ सय १५ वटा बिक्री हुँदा निसानको माइक्रा १ सय ७ वटा बिक्री भएको छ । त्यस्तै सोही अवधिमा फोर्ड फिगो ५३ वटा, टोयोटा इटियोस २२ वटा, होन्डा ब्रियो ४ वटा र किया पिकान्टो ४ वटा बिक्री भएको तथ्याक भन्सार विभागले राखेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।