ताजा अपडेट »

अन्तिम पटक आउन प्यारा

सोमबार, २४ जेठ २०७८, १३ : ०९
54 Shares
सोमबार, २४ जेठ २०७८
54 Shares

शून्य भयो साँझपख निभ्दाखेरी तारा,
तिम्रा लागि म छु प्यारी बिर्स भन्थ्यौ सारा
वाचा गर्यौ दोबाटोमा एक्लै पार्याै राजा
आउन प्यारा नजिक मेरो अङ्गालेर रुन्छु
मैहिले होलान् तिम्रा गोडा अन्तिम पटक धुन्छु ।

रुँदा आंशु पुस्छु सानु रुन दिन्न कहिले
लोलाएर टोलाएर बस्ने पार्यौ अहिले
वाचा–कसम बिर्सिएर किन गयौ राजा
आउन प्यारा अन्तिम पटक अङ्गालेर रुन्छु
छाम्छु मुटु तिम्रो धड्कन चल्या छ कि सुन्छु ।

चस्किएर दुख्यो मेरो कलेजीको कुना
तिम्रो गाला मसासेर पाइन मैले रुन
तिमीसँगै मलाई पनि लैजाउ बरु राजा
आउन प्यारा अन्तिम पटक अङ्गालेर रुन्छु
तातै छ कि तिम्रो शरिर यी हातले छुन्छु ।

जता जान्छु सँगै लान्छु भन्यौ किन पहिले
जान्छु पनि नभनेर गयौ प्यारा अहिले
बलिन्धारा आंशु पुछ्न आउन मेरो राजा
अन्तिम पटक अङ्गालोमा बाँधिएर रुन्छु
ती आँखामा मेरो तस्वीर छ कि छैन हेर्छु ।

शीरको सिन्दुर रातो सारी सँगै लग्यौ आज
रङ्ग खोसेर जान्न भन्थ्यौ झुटो गर्याै वाचा
पुछ्न नदेउ मेरो श्रृंगार आउन मेरो राजा
मन भरीको बह पोख्छु तिमीसँगै रुन्छु
जाउला बरु आउन प्यारा अन्तिम पटक छुन्छु ।

नियतीले कस्तो खेल खेल्यो हामी माथि
छोराले नि बाबा खोज्दा दुख्छ मेरो छाती
आशाका यी किरणहरु जोगाउँ कसोगरी
आउन राजा अन्तिम पटक अङ्गालेर रुन्छु
छातीमाथि शीर राखेर मिठो निद्रा सुत्छु ।

बुढी भाकी आमा पनि बेहोसीमै ढलिन
चाउरीएका गाला छाम्दै बाबा उस्तै मलिन
जहर निले जस्तो भयो जिन्दगानी मेरो
सुन प्यारा भक्कानिँदै तिमीसँगै रुन्छु
एक पटक त बोल प्यारा अन्तिम इच्छा सुन्छु ।

थाकी सके रहर सारा थाँती बसे आंशु
मेरो माया तिमी बिना म कसरी बाँचु
परेलीका डील छेक्न आउन मेरो राजा
मनको घाउ देखाएर तिमीसँगै रुन्छु
तिम्रो सिन्दुर तिमी माथि पखालेर धुन्छु ।

सिकाएर एक्लै जिउन जाउन बरु मलाई
तिम्री सानु बसेकी छ मुटु जलाई–जलाई
धड्किएको मेरो मुटु सुन्न आउन राजा
दूई मुटुलाई सँगै राखी अन्तिम पटक रुन्छु
सानु भन अन्तिम पटक तिम्रो बोली सुन्छु ।

गास काटेर तिमलाई सास खोज्न हिंडे कती
कसै गरी रोकिएन पापी कालको गती
तिम्रो अभाव रातदिन छट्पटिन्छु राजा
सपनीमा तिम्रो हात समाएर डुल्छु
व्यूँझिएर तिम्रो यादमा भक्कानिँदै रुन्छु ।

न चाहेर अघि बढ्छ न त पछि सर्छ
लाला बाला सम्हालेर मलाई बाँच्नै पर्छ
पछि लागि जाँदिनथे झुक्काएर गयौ
मनको इच्छा सुनाउ मलाई अराएर जाऊ
एउटै थालमा खाउँला राजा अन्तिम पटक आऊ ।

न रातिमा मिठो निद्रा न त दिनमा भोक
किन झुटो माया लायौ पार्ने भए शोक
बेइमानी गर्याै राजा तिमले झुक्काएर गयौ
अन्तिम पटक तिमलाई हेरी मैले रुन पाइन
लाखौं कोशिस गर्दा पनि तिमलाई छुन पाइन ।

https://www.globalaawaj.com/archives/103614
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।