ताजा अपडेट »

सन्त बहादुर : शिक्षकदेखि सिडियोसम्म

शनिबार, २२ जेठ २०७८, २१ : ३१
86 Shares
शनिबार, २२ जेठ २०७८
86 Shares

बुटवल । ‘उति बेला गाडी चल्दैन्थ्याें । मेरो घर दैलेखबाट नेपालगञ्जसम्म तीन दिनको बाटो हिँडेर जानुु पर्दथ्यो । त्यस क्रममा कम्ता दुःख पाइएन । कहिलेकाँही त भोकै भौँतारिनु पनि परेको थियो’– बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको भनाई हो यो ।

विकट जिल्ला दैलेखको नारायण नगरपालिका –२ स्थित बाबु पुरनसिंह सुनार र आमा गंगादेवि सुनारको कोखबाट २०२२ सालमा साइँला छोराका रुपमा जन्मिएका सन्तबहादुर सुनार शिक्षक पेशा हुँदै अहिले सिडियोसम्मको यात्रामा आइपुगेका हुन्। ३ दिदीबहिनी र ७ दाजुभाई सहित बाबु आमाका १० सन्तान मध्येका साइँला छोरा र पाँचौ सन्तान सन्तबहादुर सुनार निकै ठूलो सपना देखेकै कारण बढी दुःख र संघर्ष गर्नु परेको स्मरण सुनाउँछन्।

२०४० सालमा दैलेखकै त्रिभुवन माध्यामिक विद्यालयबाट एसएलसी उतिर्ण गरेर प्राइभेट कलेजबाट आईए उतिर्ण गरेका उनी दैलेखकै नौमुले माध्यामिक विद्यालयका शिक्षक भएर चार वर्षसम्म पढाएका थिए । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट बिए उत्तीर्ण गरेका उनी २०४५ सालमा मुखिया पदमा सरकारी सेवामा पवेश गरेको बताउँछन । २०४५ सालको बैशाखमा मुखिया भएका उनी त्यसै वर्षको असोज महिनामा खरिदार भए ।

२०५५ सालमा सुब्बा हुँदै उनी २०६१ सालमा शाखा अधिकृत भएका थिए । २०७२ सालमा उपसचिव , २०७४ सालमा लोक सेवा आयोगको खुल्ला तर्फ सहसचिव उतिर्ण भएका उनी धनगडी उपमहानरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी निभए ।

त्यस पछि घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएका उनी त्यसपछि कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ सचिवको जिम्मेवारी सम्हाले । रक्षा मन्त्रालयमा एक वर्षसम्म सह–सचिवको अनुभव संगालेका उनी १० महिना अघि गृह जिल्ला दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न पुगेका थिए।

त्यहाँबाट गत फागुन १९ गते बर्दिया जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न उनी आएका थिए । उनी भन्छन–‘हाम्रो परिवारको आर्थिक अवश्था सामान्य किसान परिवार कै हो । बुवा इन्डियन आर्मीको लाहुरे भएकोले अलि–अलि फुर्तिफार्ती गरेर पढियो । तर, मेरा दिदीहरु स्कूल नै गएनन् । दाजुहरुले पनि पढ्दै पढेनन् । २०६९ सालमा कोरियाबाट कृषि तथा ग्रामिण बिकासमा मास्टर डिग्री सकाएर सहसचिव भएको उनले बताए । २४ बर्षको उमेरमा मास्टर डिग्री होल्डर दैलेखकै शिक्षक शान्ति बिश्वकर्मासँग मागी विवाह गरेका उनका २ छोरा र एक छोरी छन्।

उनीहरुले ललितपुरमा घर बनाएर बसेको प्रमुख जिल्ला अधिकारी सुनार बताउँछन । विद्यार्थी कालमा कहिले साथमा पैसा नहुने र भोकै भौँतारिनु परेका क्षणहरु उनका लागि उर्जा बनेको र आफ्नो जिम्मेवारी भन्दा अझ केहि गरेर देखाउँ जस्तो लागेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।