असार १७,
काठमाण्डौं । अबदेखि वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचना मोबाइल एपबाट समेत प्राप्त गर्न सकिने भएको छ ।
नेपाल सरकारले ‘वैदेशिक रोजगारी एप’ ल्याएसँगै रोजगारीसम्बन्धी सूचना मोबाइलबाट लिन सकिने भएको हो । सरकारले ल्याएको एप्सबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनपर्ने महत्वपूर्ण जानकारी पाउन सकिन्छ । पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनीको बारेमा, अभिमुखीकरण तालीम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण यो एपबाट पाउन सकिन्छ ।
त्यस्तै एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बिमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्ने व्यक्ति तथा संस्थाको बारेमा पनि एपबाट जानकारी पाउन सकिन्छ । साथै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिन्छ ।
प्रतिक्रिया