बुटवल । साँझ ढक्लिँदै जाँदा भ्यागुताले ट्वार-ट्वार गर्न लागेपछि वर्षायामको सुरुवात भएको अनुमान गर्ने नेपाली परम्परा र मान्यता रहँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’रुपमा लिइने वर्षायाममा पानी परेन भने भ्यागुताको विहे गरिदिने पनि मान्यता रहेको पाइन्छ । वर्षासँगै घर वरीपरी तथा खेत बारीमा जमेको पानीमा आफ्नो गर्भाधान प्रक्रियाका लागि ट्वार-ट्वार गर्ने भ्यागुताको आवाजसँगै बीउबिजन र मलखादको चिन्ताले कृषकको मन त्यसैगरी चिच्याउन सुरु भएको छ । विश्वव्यापी कोरोना महामारी तथा निषेधाज्ञाका कारण विगत वर्ष जस्तै यो वर्ष पनि कृषकले समयमा बीउबिजन तथा मलखाद नपाउने हो कि भन्ने चिन्ता सुरु भएको छ ।
नेपालमा मनसुन सुरु नभए पनि मनसुन भित्रनुभन्दा २ हप्ता अघिदेखिनै पानी पर्न थालेपछि कृषकहरु बिउबिजनको जोहोमा लागेका छन् । नेपालमा साल्ट ट्रेडिङ तथा कृषि सामग्री केन्द्रले मलखाद वितरण गर्दै आए पनि खुला सीमा जोडिएका कारण रुपन्देहीका कृषकहरु भारतीय बजारमा समेत भर पर्ने गरेका छन् । भारतीय बजारमा निर्भर हुने भएकै कारण गत वर्ष पनि यहाँका कृषकले मलखादको ठूलो खडेरी सहनु परेको थियो । विश्वव्यापी कोरोना महामारी तथा निषेधाज्ञा र लगडाउनका कारण सीमा वार–पारमा प्रतिवन्ध लागेपछि कृषकहरुले भारतबाट मलखाद ल्याउन पाएनन् । सरकारले पनि प्रयाप्त मात्रामा मलखाद उपलब्ध गराउन सकेको थिएन ।
रुपन्देही जिल्लालाई समेत हेर्ने गरी नवलपरासीमा रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा ८५ हजार १२२ हेक्टर कूल खेतीयोग्य जमिन मध्ये ७२ हजार ५०० हेक्टरमा धान खेती हुँदै आएको छ । कार्यलयकी कृषि प्रसार अधिकृत मनिषा पौडेलका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि स्थानीय निकाय, तथा कृषि सामग्री केन्द्र मार्फत बिउविजन तथा मलखाद वितरणको काम भइरहेका छन् । राष्ट्रिय कृषक महासंघका अध्यक्ष देव धवलले भने यो वर्ष पनि विगतमा जस्तै बीउ तथा मलखादको हाहाकार हुने देख्छन् । रुपन्देहीको ओमसतिया-६ मा बस्ने उनले ५ विगाह क्षेत्रफलमा धान खेती गर्दै आएका छन् ।
गत वर्षको अनुभव सुनाउँदै उनले गाउँमा १० प्रतिशत पनि बीउ तथा मलखाद उलब्ध नभएको गुनासो गरे । ‘यस वर्षका लागि पनि केही दिनपछि धानको ब्याड राख्ने काम सुरु हुन्छ ।’-ग्लोबल आवाजसँग कुरा गदैए धवलले भने ‘केही कृषकहरुले भारत तथा नेपाली बजारबाट बीउ खरिद गरेर राखिसकेका छन् भने आधाभन्दा बढी कृषकहरुले पुरानै धानलाई बीउको रुपमा प्रयोग गर्ने तयारी गरेका छन् ।’ घरमा संग्रह गरिएको पुरानो धानलाई बीउको रुपमा प्रयोग गर्दा उत्पादनमा ह्रास आउने भएपनि बीउ अभावले यसो गरिएको उनी बताउँछन् ।
यसैगरी स्थानीय सरकार तथा सहकारी संस्थाको माध्यमबाट वितरण गरिने मलखाद पनि अहिलेसम्म आइनसकेको उनले गुनासो गरे । धानको ब्याड तयार पार्नका लागि हप्ता दिन अघि नै मलखाद संग्रह गरेर राख्नुपर्ने भए पनि शहकारीहरुले समेत अहिलेसम्म मल नपाएको बताउने गरेको उनले उल्लेख गरे । बीउ तथा मलखाद वितरणका लागि स्थानीय सरकारको जिम्मेवारीमा हुने भए पनि उनीहरुले समेत यसतर्फ ध्यान केन्द्रित गर्न नसकेको उनले बताए । कोरोना महामारी र संक्रमणलाई मध्यनजर गर्दै बीउ-विजन वितरणका लागि स्थानीय सरकारहरुले अहिलेदेखि नै तयारी थाल्नु पर्ने उनको सुझाव छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ बाली विज्ञ राम गोविन्द आर्याका अनुसार एक हेक्टर क्षेत्रफलका लागि ४० देखि ५० किलो ग्राम धानको बीउ आवश्यक पर्छ । सामान्यतया कृषकहरुले बीउको कमी नहोस् भन्नका लागि आवश्यकभन्दा बढी नै ब्याड तयार पार्ने प्रचलन रहेको छ । निर्देशनालयले दिएको जानकारीलाई आधार मान्दा जिल्लामा ३६ हजार २५० क्वीन्टल धानको बीउ आवश्यक पर्छ ।
यसैगरी धानको ब्याड तयार गर्न प्रति हेक्टर करिब ८९ क्वीन्टल गोबर मल, सोही मात्रमा डिएपी, २९ केजी पोटास र सोही मात्रमा जिङ्क सल्फेट आवश्यक पर्ने गर्छ । यसरी धानको ब्याड तयार पार्नुभन्दा केही दिन अघि नै गोबर मल तथा जोत्ने बेलामा अन्य मल खेतमा खन्याइने वरिष्ठ बाली विज्ञ आर्याले बताउछन् । धानको ब्याड राखिसकेपछि त्यसको १२/१५ दिनमा प्रति हेक्टर करिब ६० केजी यूरिया मल आवश्यक पर्ने गर्छ । बरिष्ठ बाली विज्ञ राम गोविन्द आर्याका अनुसार धान लगाइने क्षेत्रफलको १० प्रतिशत क्षत्रफलमा बीउ जमाउनुपर्ने हुन्छ । यस हिसाबले रुपन्देहमा रोपाइ हुने ७२ हजार ५ सय हेक्टरका लागि ७ हजार २५० हेक्टरमा बीउ जमाउनुपर्ने हुन्छ ।
लुम्बिनी प्रदेश कृषि निर्देशनालयलेप्रकाशित गरेको वार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिका २०७६/७७ मा उल्लेख गरिए अनुसार रुपन्देहीमा गत वर्ष ६४ हजार ८१९ हेक्टर क्षेत्रफलमा भएको खेतीबाट २ लाख ७० हजार ७८२ मेट्रिक टन धान उत्पाद भएको थियो । जिल्लामा उत्पादन भएका मध्ये आधाभन्दा बढी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ । यसैगरी जिल्लामा ५७ हजार ९८९ हेक्टर जमिनमा मात्रै सिञ्चाइको सुविधा रहेको छ । यो खेतीयोग्य जमिनको ७० प्रतिशत मात्रै हो । यी क्षेत्रहरुमा पनि बाह्रै महिना नभई मौसमी रुपमा सिञ्चाईको सुविधा उपलब्ध हुने गरेका छन् । बाँकी रहेका ३० प्रतिशत जमिनमा भने आकासे पानीको भर पर्नु पर्ने बाध्यता रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को प्रभावले वर्षा भएको हो । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि केही असर स्वरुपविभिन्न भू-भागमा पानी परेको महाशाखाले जनाएको छ ।
गत वैशाख १५ गते दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको भर्चुअल बैठक भएको थियो । उक्त बैठकको निष्कर्ष अनुसार यस वर्ष नेपालमा जेठ महिनाको १८ गतेदेखि मनसुन भित्रिँदै छ । यसको अवधि असोज १४ सम्म रहनेछ ।यसपालिको मनसुनको समयमा देशका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो ।नेपालको वर्षाको मनसुनी प्रणालीमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’, हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको अहिलेको अवस्था, जलवायु प्रारूपको मनसुन अवधिको आकलन, यूरोप तथा एसियामा गएको हिउँद तथा प्रि-मनसुनको अवधिमा परेको हिउँ, अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी त्यस आकलन तयार पारिएको हो ।
वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली गण्डकी, वाग्मती प्रदेशका धेरैजसो ठाउँ तथा प्रदेश नं १ को मध्य तथा पश्चिम क्षेत्रमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । यसैगरी लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी क्षेत्रमा सरदर वर्षा ९३५ देखि ४५ प्रतिशत हुने र प्रदेश १ को तराई र प्रदेश नं २ को पूर्वी जिल्लामा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।
बैठकमा नेपाल, भारत, म्यानमारलगायत ९ देशका मौसमविद्को सहभागिता थियो । विज्ञले दक्षिण एसियाका धेरै देशमा नै मनसुनका अवधिमा सरदरभन्दा बढी वर्षा हुने निष्कर्षका साथ साझा दृष्टिकोण सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया