पिंजडाको पंक्षिलाई स्वतन्त्रता नै लाग्दो रहेछ यो जीवन,
सङ्घर्षशील पाइलालाई सफलता नै लाग्दो रहेछ यो जीवन,
अहो ! जीवन कस्तो कति के नै रहेछ,
अजम्बरी चाहानाको मुहान पो लाग्दो रहेछ यो जीवन।
के नै छ र अहम्ता यहाँ अनिश्चित रहेछ यो जीवन,
एकैछिनमा बिलाउने पानीको फोका रहेछ यो जीवन,
अहो ! जीवन कस्तो कति के नै रहेछ,
केही क्षणको यो ब्रह्माण्डमा यात्रा पो रहेछ यो जीवन।
बाँच्न सिक्न मात्र रहेनछ यो जीवन,
बचाउन सिकाउन पनि त रहेछ यो जीवन,
अहो ! जीवन कस्तो कति किन रहेछ,
पग्लेर मैन झै समाजको काचुली फेर्न पो रहेछ यो जीवन ।
केबल सुखी र हर्षित पल मात्र रहेनछ यो जीवन,
दुःख कष्टको अविस्मरणीय स्मृति रहेछ यो जीवन,
अहो ! जीवन कस्तो कति के नै रहेछ,
कर्कलाको पातमा अडिएको पानी पो रहेछ यो जीवन।
मलाई तिम्रो तिमीलाई मेरो साथ रहेछ यो जीवन,
तिम्रो मेरो माया साट्ने चौतारो पनि त रहेछ यो जीवन,
अहो ! जीवन कस्तो कति के नै रहेछ,
मानवरुपी भावनाको छाल पो रहेछ यो जीवन ।
(अक्सफोर्ड कलेज, बुटवल, कक्षा : १२ विज्ञान संकाय )
प्रतिक्रिया