करिब–करिब नियन्त्रणमा आएको वा खोपबाट बच्न सकिने मानिएको कोरोनाको नयाँ भेरियण्टले अहिले नेपालमा संक्रमण र संकट निम्तिएको छ । सन् २०१९ मा चाइनाबाट सुरु भएको कोभिड–१९,कोरोना भाइरसको नयाँ भेरियण्टको बढ्दो संक्रमण र मृत्युले नेपालमा महामारीकै रुप लिएको छ । छिमेकी राष्ट्र भारतमा लाखौं,संक्रमित र हजारौंले ज्यान गुमाइ रहँदा त्यसको असर नेपालमा पनि देखियो । गत वर्षको अन्त्यसँगै यस वर्षको सुरुवातमा नेपालमा देखिएको नयाँ भेरियण्टको संक्रमणले तिव्र रुप लिएको छ । दिनानुदिन संक्रमितको संख्या बढ्दैजाँदा अस्पतालमा बेड,आइसोलेशन र अक्सिजनको अभाव देखिएको छ । अस्पतालका बेड,आइसोलेसन,अक्सिजन नपाएर नै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।
तीन करोड जनसंख्या भएको देशमा केही हजार संक्रमित हुँदापनि अस्पतालको बेड नपाउनु,आइसोलेशनको प्रबन्ध नहुनु र अत्यावश्यक अक्सिजनको कमी हुनु कोरोना भाइरस र यसको संक्रमण भन्दा पनि ठूलो विडम्बना र दुःखद हो । हाल शुक्रबार साँझसम्म नेपालमा करिब ३ लाख ८० हजार संक्रमित भएका छन् । दिनानुदिन संक्रमित दर बढ्दो छ । शुक्रबारनै हालसम्मकै उच्च ९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । पछिल्ला केही दिनहरुमा दैनिक ९ हजार थपिने क्रम जारी छ । त्यस्तै निको हुनेको संख्या पनि छ । हालसम्म २ लाख ८० हजार जति निको भएका छन् । दैनिक निको हुनेको संख्यापनि ३ हजार हाराहारी छ । उता मृत्यु हुनेको संख्यापनि हजारौं छ । हालसम्म करिब ४ हजारले ज्यान गुमाएका छन् भने केही दिन यता दैनिक ५० को सेरोफेरोमा मृत्यु भएको छ ।
जिवाणुको महामारीमा उपचारबिना नै मुत्यु हुने अवस्था आउनु २१औं शाताब्दीमा वैज्ञानिक चूनौती पनि हो । तर,विश्वब्यापी महामारी भएकाले चीन (पहिले), ब्राजिल,अमेरिका,भारत जस्ता देशहरुमा पनि उपचारबिना वा उपचारक अभावमै धेरैले ज्यान गुमाएका छन् । रोगको औषधि वा खोप नहुनु वा सोही अनुसारको उपचार नहुनु नयाँ भाइरस र आपतकालिन अवस्था हो । त्यस्तै सो बारे पूर्व जानकारी र तयारी नहुनु पनि हो । तर, सामान्य,प्राथमिक उपचार नपाउनुलाई सामान्य मान्न सकिन्छ ? तर, अहिले मुलुकमा केही हजार संक्रमित हुँदा वा सामान्य बिरामी हुँदा पनि उपचार नपाएको अवस्था छ । संक्रमित भएर छटपटिँदा अस्पतालका बेड,अक्सिजन नपाएको अवस्था छ । हामीले हामीलाई पर्नुभन्दा अन्य देशमा देखेका हौं । गत वर्ष यस्तै समयमा चीन,ब्राजिल,अमेरिका जस्ता देशमा पनि मानिस उपचार नपाएर छटपटाएको देखेका हौं । हामी त्यो अवस्था कल्पना पनि गर्न सकेका थिएनौं ।
आज प्रतक्ष्य हाम्रै देशमा त्यो भयावह स्थिति छ । देशका विभिन्न स्थानमा,टोल छर–छिमेकका मात्रै होइन । आफ्नै घरका सदस्य ज्वरो आएर छटपटाउँदा पनि अस्पतालको कल्पना गर्न नसक्ने अवस्थामा छौं । संक्रमित भएर अस्पताल जान एम्बुलेन्स पाउनु पनि गार्हो छ । एम्बुलेन्स पाएपनि अस्पताल भित्र पस्नु ठूलो युद्ध जित्नु छ । कतिपयले गेटमै ज्यान गुमाएका छन् । कतिपयको अस्पतालनै पस्न नपाई एम्बुलेन्स भित्रै मृत्यु भएको छ । अस्पताल भित्र उपचाररत बिरामी पनि अक्सिजन नपाएर प्राण गुमाउने भयावह स्थिति छ । कोरोनाको नयाँ भेरियण्टको संक्रमणले मात्रै होइन सामान्य रोग र उपचारको अभावले पनि ज्यान गुमाउने विडम्बना छ । यसबाट हामी क्रसित,शसंकित त छौं नै । संक्रमण र संकटको यो अवस्थामा हामी भाइरस र रोगले भन्दा पनि हाम्रो स्वास्थ्य प्रणाली र संरचनाको अभावले ग्रसित भएका छौं।
‘समृद्ध नेपाल,सुखी नेपाली’को नाराले गति लिएको पनि तीन वर्ष हुँदा हामी आधारभुत स्वास्थ्य सेवामा पनि निकै कमजोर रहेछौं । नारामा र भाषणमा मात्रै होइन भौतिक रुपमा ठडिएका केही निजी ठूला अस्पताल देखेर नै हामीले स्वास्थ्य पूर्वाधारको महशुस गर्यौ । राज्य,नेतृत्व र स्वास्थ्य सरोकारवालाले यस सम्बन्धमा भावी सोँच र दिगो विकासका बारे तयारी नगरेको देखिन्छ । भनिन्छ, संकटमा आफ्नो र महामारीमा राज्यको हैसियत पहिचान हुन्छ । हो, हाम्रो राज्यको स्वास्थ्य संरचना,प्रणाली र तयारीको अवस्था कोरोनाले उदाङ्गिएको छ । त्यसैगरी राज्य सञ्चालक,जनताका प्रतिनिधिको दक्षता,क्षमता र उत्तदायित्वका विषयमा पनि परीक्षण भएको छ । खरबौं वर्षेनी खरबौं बजेट ल्याउने, अरबौंका योजना बनाउने ,स्वास्थ्यका ठूला योजनामा करोडौं र सामान्य स्वास्थ्य चौकीमा पनि लाखौं बजेट छुट्टाइने राज्यलाई हामी गरिब राष्ट्र भनेर नपुगेको भन्न पनि सक्दैनौं ।
परापूर्वकालका राजाहरुले आफ्नो राज्यमा भविष्यमा आउन सक्ने संकट र महामारीको आंकलन गर्थे। सोबाट आफ्ना नागरिकलाई बचाउन पूर्व तयारी गर्थे । तर, २१औं शाताब्दीका शासकमा त्यतिपनि सचेतना रहेन छ । यो समय राज्य,नेतृत्वको कमीकमजोरी औल्याउँने र विरोध गर्ने होइन । तर,पनि उनीहरुले आफ्नो विगत र कार्यान्वयनलाई हेरेर आत्मरति गर्नु पर्दछ । कोरोनाको पहिलो लहरमा तयारी गर्न सकिएन । तर, समय थियो । त्योबेला स्वास्थ्य सामग्री लयाउँदा नै स्वास्थ्यमा हुने लुटको झलक देखियो । त्यस्तै पछि खोपमा भएको कमिशन र बिबादले थप स्पष्ट पारेको छ । यदि नेतृत्व,प्रतिपक्ष,अन्य राजनीतिक दल,सरोकारवाला जिम्मेवार हुन्थे भने दोस्रो लहरको तयारी व्यवस्थित हुन सक्थ्यो तर, भएन । यो लापरबाही र जनताप्रति उनीहरुको खेलवाड र गैरजिम्मेवारी हो ।
अहिलेको अवस्था भन्दा पहिला भारतबाट पाठ सिकेर । तयारी , तदरुकता देखाएर अक्सिजनको व्यवस्था समयमा नै हुुन सक्थ्यो । त्यस्तै आइसोलेसन,एम्बुलेन्स लगाएतका व्यवस्थापन पनि हुन सक्थ्यो । तर, राजनीतिक खिचातानी,सत्ता समिकरण,विरोध लगाएतका गतिविधिमा केन्द्रीय सरकार र प्रदेश सरकार व्यवस्त रहे छन् । यता पहिला सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका स्थानीय तह पनि यसपाली समयमा जागेनन् । त्यसैगरी स्वास्थ्य क्षेत्रका विज्ञ,सरोकारवालाले पनि समयमा चेत खाएनन् । यद्यपी ढिला भएको हो, समयनै सकिएको छैन । पहिला जे–जस्तो भएपनि यो संकटमा ती सबै लगाएत सबै नागरिक जागरुक बनेर यो संक्रमण र संकट जित्नु नै आजको आवश्यकता हो ।
प्रतिक्रिया