ताजा अपडेट »

लुम्बिनी प्रदेशको दाङमा ६ वर्षदेखि बन्द अक्सिजन उद्योग संचालन

शनिबार, २५ बैशाख २०७८, १२ : ००
8 Shares
शनिबार, २५ बैशाख २०७८
8 Shares

दाङ । घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ वर्षपछि संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुदैँ आइरहेको अवस्थामा उद्योग संचालनमा आएपछि केही राहत हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग शुरु भएको हो । ६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण पटक-पटक बन्द हुदै आएको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाइनबाट विद्युत जडान गरी उद्योग सुरु गरिएको छ । करीव ४ करोड लगानीमा संचालनमा आएको उद्योग पटक-पटक बन्द हुँदा चरम मारमा परेको थियो । उक्त उद्योगबाट दैनिक १५० अक्सिजन सिलिण्डर उत्पादन हुने गरेको उद्योग संचालक टोपाराम पौडेलले बताए ।

‘हाम्रो उद्योगको क्षमता दैनिक १५० अक्सिजन सिलिण्डर भर्ने क्षमताको हो,’ उनले भने,‘ तर, हामीलाई सबैभन्दा बढि विद्युत कै समस्या हो । दिनमा कम्तिमा २० पटक बत्ती गएमा एक सय सिलिण्डर मात्र भर्न सकिन्छ । हामीलाई २४ सैं घण्टा लाइन भए जति क्षमता छ । त्यति उत्पादन गर्न सक्छाै । तर, जिल्लामा सामान्य अवस्थामा हामी उत्पादन गरेको सिलिण्डर खपत हुदैन्थ्यो । ’ उनका अनुसार जिल्लामा सामान्य अवस्थामा यति उत्पादन भए पनि पुग्ने गर्दथ्यो । अहिले कोरोना महामारीका कारणले मात्र अभाव भएको हो ।

आफुहरुबाट उत्पादन भएको अक्सिजन सिलिण्डर जिल्लाका विभिन्न ठाउँ लगायत सल्यान, प्युठान सम्म पुर्याउने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा महिना एक हजार जति अक्सिजन सिलिण्डर खपत हुने गरेको समेत उनले बताए । हिजो आज जिल्लामा दैनिक करिब एक हजार अक्सिजन सिलिण्डरको माग भइरहेको छ, भने करिब साढे ४ सय अपुग हुँदै आएको छ । अहिले उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र कोरोना विशेष अस्पताल बेलझुण्डीलाई पहिलो प्राथमिकता दिदै उत्पादन शुरु गरेको हो ।

जिल्लामा अक्सिजन अभाव भएका कारण घोराही उपमहानगरपालीका र प्रशासनको समन्वयमा उद्योगको लागि छुट्टै विद्युत उपलब्ध गराइ उद्योग संचालनमा ल्याएको छ । तर अहिले महामारीलाई मध्यजनर गर्दै नियमित संचालनमा सहयोग गर्ने घोराही उपमहानगरका प्रवक्ता भरतमणी अर्यालले बताए । उद्योगलाई चाहिने खाली सिलिण्डरहरुको समेत ब्यवस्था भइरहेको र अब थोरै भएपनि राहत हुने उनको भनाइ छ । त्यस्तै उपमहानगरपालिकाले ५० वटा अक्सिजन सिलिण्डरहरु किनेर प्रतिष्ठानलाई विहीबार विहान दिएको समेत उनले बताए । अहिले जिल्लामा नेपालगंजबाट अक्सिजन सिलिण्डर आइरहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी