असार १२,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीमा बुटवल अवस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट ७ जना विद्यार्थीले जिपिए ४ प्राप्त गरी उत्तिर्ण भएका छन् । विद्यालयका अपिल चौधरी, क्षितिज डुम्रे, सोदिक्षा कुंवर, रोश्ना टण्डन, प्रवेश आचार्य, सुयल ज्ञवाली र अनुश्का श्रेष्ठले जीपीए चार प्राप्त गरेका विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार सार्वजनीक भएको नतिजामा हालसम्मको जानकारी अनुसार सामुदायिक विद्यालयबाट रुपन्देहीमा कालिका मानवज्ञान माध्यमिक विद्यलयकी सविना सुवेदीले ४ जिपिए ल्याउन सफल भएकी छन् । त्यसैगरी निजी विद्यायकोतर्फ बुटवल स्थित तिनाउ इङलिश बोर्डिङ स्कूलका छात्रा सुनील ज्ञावाली र लुम्बिनी बोर्डि स्कूलका सिद्धार्थ थापाले ३ दशमलव ९५ जीपीए प्राप्त गरेका छन् भने स्कलर्सहोम बोर्डिङ स्कूलका सिर्जन सुवेदीले ३ दशमलव ९ जीपीए प्राप्त गरेका छन् । बुटवल पब्लिक स्कूलकी मनिसा सोमैले पनि ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरकरफरक बनाएर परीक्षा लिइएको थियो ।
परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् । यस्तै, ३.२० देखि ३.६ जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २.८० देखि ३.२० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ , २.४० देखि २.८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २.४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको छ । १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ९५ हजार ३ सय ७ जना, जीपीए १.२० देखि १.६० ल्याउने विद्यार्थीको संख्या ४३ हजार ८ सय ४१ जना तथा ४ हजार ४ सय २९ विद्यार्थीले .८० देखि १.२० जीपीए ल्याएका छन् ।
प्रतिक्रिया