बुटवल । निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ । लुम्बिनी प्रदेशको नवलपरासी रामग्राममा रहेको उद्योग कंक्रिटजन्य सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने पहिलो हो । उद्योगले यही बैशाख ७ गते विभागबाट एनएस नम्बर पाएको हो । उद्योगले एनएसका लागि गत कात्तिकमा आवेदन दिएको थियो । विभिन्न चरणमा उद्योग र उत्पादनको निरीक्षण तथा परीक्षण पछि उद्योगलाई एनएस प्राप्त भएको हो । वैशाख ७ गते प्राप्त गरेपनि उद्योगले हालै एक प्रेस विज्ञप्ती जारी गर्दै सो बारी जानकारी गराएको छ ।
जर्मनी प्रविधिबाट नेपालमा स्थापित कंक्रिट जन्य सामाग्री उत्पादन गर्ने यसप्रकारको एक मात्र उद्योग हो । यो ग्रीनफिल्ड प्रोजेक्ट हो जसले इन्टरलकिङ , कंक्रिट टायल्स, कर्वस्टोन, कंक्रिट इट्टा, हलो बल्कस जस्ता घर, कार्यालय, संस्था, पार्क, सडक लगाएतमा प्रयोग हुने उच्च गुणस्तरका निर्माणका सामग्री उत्पादन गर्दछ । यो पुर्णतया अटोमेटिक पलान्ट हो र यसमा अत्यन्त न्यून कामदारहरुको प्रयोग हुन्छ ।
‘एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘तर, एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएको थियो ।’
संसारभर यस्ता सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी दिए। ‘हाम्रो मर्मलाई बुझेर विभागले पनि द्रूत गतिमा काम गर्यो ।’ उनले भने, ‘त्यही भएर एनएस लिन सफल भइयो । अब सरकारले बनाएको मापदण्ड उनीहरुले गर्ने कार्यमा अनिवार्य लागू गर्नुपर्छ ।’
कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको र एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । ‘अहिलेसम्म कर्बस्टोनदेखि इन्टरलक ब्लकको गुणस्तरको कुनै ग्यारेन्टी थिएन । तर, एसियन कंक्रिटोले नेपाल गुणस्तर पाएसँगै उद्योगबाट उत्पादित कर्बस्टोनदेखि इन्टरलक ब्लकलगायत यस्ता किसिमका सामनको गुणस्तरमा सुचिश्चितता आएको छ ।’ उनले भने ।
उद्योगका भाइस प्रेसिडेण्ट श्यामलाल झा भन्छन्,उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र गार्डेनलाई सुन्दर बनाउनेसम्म सामग्री बनाइरहेका छौ ।’ ‘एनएस पाएपछि बलियो, सुन्दर, टिकाउ र प्रकृतिको संरक्षण गर्दै उत्पादन गरेका छौं भनेर हिड्नुपर्ने बाध्यताबाट मुक्त भइयो ।’ भाइस प्रेसिडेन्ट श्यामल झाले भने । उनका उनुसार उद्योगबाट उत्पादित कर्भोस्टरको एनएस नम्बर ५९४ र पेयभरका एनएस नम्बर ५९३ रहेको छ ।
नेपालसँगै भारत लगाएतका देशमा निर्यात गर्ने उद्देश्यले स्थापित उद्योगले निर्यात सम्बन्धी सहज नहुँदा क्षमता भन्दा धेरै कम उत्पादन गर्दै आएको छ । विगत २ महिनादेखि मासिक ६ हजार टन बिक्री गर्दै आएको उद्योगमा अहिले कोरोनाका कारण गरिएको निषेद्याज्ञाले प्रभाव पारेको छ । निर्माण क्षेत्रलाई सरकारले सहज बनाउनुपर्ने उद्योगीहरुको माग छ । यो समय निर्माण क्षेत्रका लागि निकै व्यवस्त र महत्वपूर्ण भएता पनि निषेद्याज्ञाले कच्चा तथा उत्पादित सामग्री ढुवानीमा अवरोध हुँदा सम्पूर्ण निर्माण क्षेत्रमा असर पर्ने उनीहरुको दाबी छ ।
प्रतिक्रिया