महाभारतको कथामा एउटा दृष्टान्त छ, कौरव र पाण्डवहरुको लडाई चलिरहेको थियो, कौरव तर्फको सेना प्रमुख गुरु दोर्णाचार्य नियुक्त भएका थिए । उनी युद्धकलामा निकै पारङगत मानिन्थे। युद्धको समीक्षा गर्नको निम्ति पाण्डवहरुको बैठक बस्यो। बैठकको निष्कर्ष यो रह्यो कि सैन्य कमाण्डर दोर्णाचार्य रहँदासम्म कुनैपनि हालतमा युद्धमा विजय गर्न सकिँदैन। तत्पश्चात् शत्रुको कमजोर ठाउँमा प्रहार गर्नु प्रदछ भन्ने युद्धनीति अन्तर्गत दोर्णाचार्यको कमजोर कडि खोज्दै जाँदा उनको पुत्रप्रतिको अत्यधिक माया रहेको पाइयो। अनि द्रोणाचार्यलाइ युद्धबाट बिमुख बनाउन लागि पाण्डवहरुले युधिष्ठिरलाई प्रयोग गरी उनको मुखबाट,‘असस्थामा हतोहत’ भन्ने शब्दको उच्चारण गर्न लगाएर द्रोणाचार्यको एकमात्र छोरा असस्थामा मर्यो भन्ने गराई सकेपछि दोर्णाचार्य गुरुले हतियार सबै त्यागे,निसस्त्र बनेका द्रोर्णलाइ भिमले हत्या गरे र युद्ध अगाडि बढाएका थिए।
महाभारतको कथामा प्रयोग भएको युद्धनीति यतिबेला केपी ओलीको सरकारले प्रयोग गरिरहेको दृष्टान्त देख्न सकिन्छ । इतिहासले प्रमाणित गरिसकेको छ कि उनी अर्थात् केपी ओली गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षिता, सामुहिकता र समानताका पक्षधर वा विचारक होइनन् । बरु सत्य यो हो कि उनी यी सबै विचारहरुको विपक्षमा उभिने गरेका पात्र हुन् र उनले त्यस किसिमका प्रतिक्रियाहरु समय–समयमा दिने गरेका छन् । व्यवहारमा समेत कतिपय निर्णयहरुबाट उनको यो चिन्तनलाई उनी कार्यान्वयन गराउन चाहान्छन् । उनी सामुहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको मान्यताको विपक्षमा र सर्वसत्तावादको पक्षमा अगाडि बडेको कारण दुई तिहाई नजिकको सरकार अल्पमतमा परेर मृत्यु शैंयामा छटपटाई रहेको छ । उनको यहि सर्वसत्तावादी सोँच र चिन्तनका कारण एसियाको ठूलो भनिएको ‘बामपन्थी पार्टी’ आज चार टुक्रामा विभाजित छ ।
यस खालको परिस्थितिबाट अगाडि बढी रहेको केपि ओलीको समूह र उनले नेतृत्व गरेको सरकार एकाएक तिनचार हप्तादेखि संघीयताको पक्षधर बनेको, जाती जनजातिको पक्षधर बनेको मधेशी समुदायको हितैषी बनेको, सविधांनमा परेका गाँठाहरु सबै फुकाउन लालायित बनेको, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न उद्दत रहेको जस्तो अभिनय देखेर कतिपय साथीहरु निकै मोहित हुनुभएको छ । जस्तो दृश्य राजनीति रङमञ्चमा देखिन थालेको छ । हेक्का राखौं साथीहरु ! विचार र दृष्टिकोणको रातारात कसैको पनि यूटर्न हुने गर्दैन । त्यसकारण केपी ओली आफ्ना पुराना विचार सोंँच र मान्यताबाट यूटर्न भएका हुन् भनी विश्वास गर्नु भनेको पोखरीमा पसेको बूढो बाघले सुनको बाला देखाएर लोभी बाहुनको सिकार गर्ने कुरा जस्तै हो ।
सत्य कुरा यो हो कि उनी आफ्नो विचार र सोँचबाट परिवर्तन भएको होइन कि यतिबेला उनको सत्ता संकटमा पर्यो, उनका आफ्ना भनिएकाहरु सबैले उनलाई छाडिदिन पुगे । यस्तो अवस्थामा सत्तालाई कसरी निरन्तरता दिन सकिन्छ त भनी विचार गर्दा जसपा भित्रको भावनाको पक्षमा खेल्न सकियो भने, त्यहाँ विभाजनको रेखा कोर्न सकियो भने अथवा त्यसलाई अनिर्णयको बन्दिको पोजिसनमा राख्न सकियो भने मात्र मेरो सत्तालाई केही समय बचाउन सकिने छ । यहीँ सोंच र योजनाका साथ उनी मधेशी कार्ड खेल्ने निष्कर्षमा पुगे , त्यसैको परिणाम दुई दिन अगाडि केही बन्दिहरुका मुद्धा फिर्ता लिने निर्णय समेत गरेका समाचारहरु बाहिर आएका छन् ।
अझै अगाडि बढेर एक दुई निर्णयहरु अरु पनि केही गरेर मागे जतिका, रोजे जतिका, मन्त्रालयहरुको लालसा देखाएर, अन्य प्रलोभनको योजनाहरु जुन लुम्बिनीमा प्रयोग गरियो , जुन गण्डकीमा प्रयोग गरियो , त्यहाँ पनि ती सबै कार्डहरु प्रयोग गरिने छन्, जसरी द्रोर्णाचार्य गुरुको कमजोर पक्षमा प्रहार गरेर उनको हत्या गरिएको थियो, ठिक त्यसरी नै यहाँ पनि महेश मोह र सुविधा मोहको कार्ड प्रयोग गरेर जसपा पार्टी र मधेश विद्रोह, जनजाती द्वारा स्थापित मान्यताहरुलाइ विघटन गराउने र नेतृत्वलाई ओली क्याम्पमा मिसाएर अस्तित्व समाप्त पारिदिने रणनितीको खेललाई बुझ्न सकिएन भने धेरै ठूलो राजनैतिक र नैतिकताको क्षयिकरण हुने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
अतः राजनीतिक नेतृत्व गर्ने व्यक्तिले राजनीतिमा कपाल फुलाएर मात्र हुदैन, शत्रु को हो ! मित्र को हो ! सहि के हो! गलत के हो ! कुन समयमा कुन निर्णयबाट अगाडि बढ्नाले हामी सहिमार्गमा हिड्ने छौं भन्ने कुराको ज्ञान हुन पनि आवश्यक छ । होइन भने विश्वको राजनीतिक इतिहासमा राष्ट्र अन्तराष्ट्रमा समेत स्थापित लिडरहरु गलत निर्णय, गलत चिन्तन र सत्ता प्रतिको अत्याधिक मोह कै कारण आफ्नो इतिहास समाप्त भएका इतिहास हामिले पढ्ने गरेका छौं । त्यसैले साठीको वरपर आइपुग्दासम्म बाँचिरहेको आफ्नो राजनीतिक इतिहासलाई क्षणिक स्वार्थका कारण वा भावनामा बगेर समाप्त पार्ने गल्ती नगरौं । विचार, अग्रगमन, इमानदारीता नैतिकताको राजनीति गरौं, नयाँ पुस्ताले धिक्कार्ने कुनै पनि काम नगरौं । मैले यसरी सोंचे, सबैले यसरी सोच्ने हो कि?
प्रतिक्रिया