ताजा अपडेट »

‘घर फर्कन जहाज चढ्दै छु’ भनेका बिमलाका श्रीमान कहिल्यै नफर्कने भए

मंगलबार, १४ बैशाख २०७८, २१ : २४
24 Shares
मंगलबार, १४ बैशाख २०७८
24 Shares

बुटवल । ‘अब म प्लेनमा हुन्छु, फोन अफ गर्नुपर्छ, नेपालमै आएर कुरा गरौंला है ।’– ३ वर्षको वैदेशिक रोजगारपछि नेपाल फर्कन लागेका टोपबहादुर सारुले श्रीमतीलाई फोनमा सम्झाउँदै भने । काठमाण्डौं आएपछि श्रीमानले फोन गर्ने वाचा गरेको ३ दिन बितिसक्दा पनि मोबाइलको रिङटोन नबजेछि बिमलालाई छट्पटी बढ्न थाल्यो । ‘वाचा पूरा नगर्ने कस्तो निष्ठूरी श्रीमान होला ?’ ‘फोन नै गर्नु छैन भने किन झुट बोल्नु परेको ?’ अनेकन आशंका, रिस र डरले बिमलालाई थप छट्पटी बढ्दै गएको थियो । पाल्पाको माथागढी–१ मा बस्दै आएकी बिमला सारुसँगै दुई छोरी पनि बुवा आउने भएपछि खुशी थिए । भर्खरै जिब्रो छड्काउन सिक्दै गरेको ३ वर्षिय छोरो भने अझै पनि सुख–दुःख के हो छुट्याउन सक्ने उमेरनै पुगेको छैन् । छोरो जन्मिएको ३ महिनामै घर–परिवार छाडेर रोजगारका लागि खाडी मुलुक साउदी हानिएका टोपबहादुरले २०७८ सालको नयाँ वर्ष परिवारसँगै मनाउने योजना बनाएका थिए ।

२ वर्षको वर्किङ भिसामा साउदी पुगेका टोपबहादुर गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण कम्पनी बन्द हुँदा आफू प्रदेशी हुँदाको ऋण पनि तिर्न सकेका थिएनन् । कोरोना महामारीले खाने र बस्ने बाहेक केही भएन, नेपाल फर्किन माहोलनै मिलेन । बाध्य भएर १ वर्षको भिसा थप गरी बसेका उनलाई अब भने नेपालमै आएर केही गर्ने सोच जागेको थियो । नेपाल आउने भएपछि सँगै काम गर्ने साथी–भाइहरुले पनि आफ्ना परिवारलाई कोसेली पुर्याउन भनि दिएका नासोले टोपबहादुरका झोला भरिएका थिए । आफूले पनि परिवारलाई कोसेली किनेर झोलामा पोको पारेर ठिक्क थियो ।

गत चैत्र २८ गतेको दिन साँझको फ्लाइट थियो । प्लेन टिकट काटेर ठिक्क थियो । तर, कोरोना महामारीपछि बनेको नयाँ नियम अनुसार प्लेन चढ्नु अघि उनले पनि स्वाब परीक्षण गराउनु पर्ने भयो । उनीसँगै नेपाल आउने तयारीमा रहेका ४ जना साथी भएर कोरोना परीक्षण गराउन स्वाब संकलन भयो । उनीसँग रहेका ३ जना साथीहरुको रिपोर्ट नेगेटिभ आयो, उनीहरु प्लेन चढेर नेपाल आउन पाउने भए । तर, सँगै रहेका टोपबहादुरको स्वाबको मेडिकल रिपोर्ट भने पोजेटिभ आयो तत्काल नेपाल फर्कन नपाउने भए ।

उनका साथीहरुले दिएको जानकारी अनुसार टोपबहादुरलाई २/४ दिनअघिदेखि सामान्य रुघा–खोकी लागेको थियो । यता नेपालमा रहेका घर परिवारले चिन्ता लिने डरले पनि होला उनले यो कुरा परिवारलाई सुनाएका थिएनन् । रिपोर्ट पोजेटिभ आएसँगै होम आइसोलेशन बस्नु पर्ने भएपछि आफू बस्ने रुममा फर्किएका टोपबहादुरलाई एक्लै छाडेर साथीहरु भने नियमितको जस्तै आ–आफ्नो काममा लागे । आफ्नो ड्यूटी पूरा गरेर कोठामा फर्किएका साथीहरुले विस्तारामा लम्पसार परेर सुतेका टोपबहादुरलाई बोलाउछन्, उठाउने प्रयास गर्छन्, अहः सुन्दै सुन्दैनन् उनी । उनका साथीहरु आत्तिदै टोपबहादुरलाई उठाएर अस्पताल पुर्याउँछन् । अस्पतालले ७/८ घण्टा पहिले नै टोपबहकादुरले परान त्यागेको कुरा सुनाउँदा साथीहरु छाँगाबाट खसेजस्तै भए ।

यता, टोपबहादुरको घरमा भने फोनको रिङटोन कहिले बज्ने हो, श्रीमती र छोराछोरीहरु प्रतिक्षामै छन् । यसपाली नेपाल फर्केर ऋण खोजेरै भएपनि माडिफाँटमा घडेरी किनेर बसाई सर्ने योजना बनाएका टोपबहादुर प्रदेशमै विलिन भएको कुरा परिवारले ३ दिनसम्म पनि थाहा पाएका छैनन् । क्षितिजमा घाम पुग्ने बेलासम्म पनि बाटो कुरेर बसेकी बिमलाका श्रीमानलाई कोरोनाले यति सजिलै चुँडेर लैजान्छ भन्ने उनले एक अंश पनि सोँचेकी थिइनन् ।

सँगै कम्पनीमा काम गर्ने साथीहरुले घरमा रहेकी बिमलालाई सोझै खबर गर्न नसकेपछि दाजुभाइको नम्बर पत्ता लगाएर घटना भएको भोलिपल्ट नै गाउँमा खबर गरेका थिए । गाउँलेहरुलाई समेत घटना विश्वास गर्न गार्हाे भएको थियो । कुरा के हो यथार्थ बुझेर मात्रै घरमा खबर गर्ने निधो गरेका गाउँलेहरुले ३ दिनपछि बल्ल बिमलाको अगाडि मुख खोले, टोपबहादुर अब नेपाल नआउने भयो ।

यसरी प्लेन चढ्ने बेला भएको भन्दै फोन अफ गरेका श्रीमान प्रदेशमै बिलाउँछन् भन्ने कुरा बिमलालाई अझै पनि विश्वास लागेको छैन । हरेक साँझ क्षितिजमा आधा डुब्दै गरेको सुर्यमा आँसुले छोपिएका आँखाहरुबाट नजर लगाउँदै श्रीमान् पर्खिन अझै पनि छोडेकी छैनन् । विश्वव्यापी कोरोना महामारीले दैनिक मृत्युका खबरहरु सुन्दै आएकी विमलाले आफ्नै श्रीमानको समाचार सुन्न पर्छ भन्ने कहिल्यै लागेको थिएन । श्रीमान रोजगारका लागि प्रदेशी हुँदा साहुबाट लिएको ऋण तिर्नै बाँकी छ ।

आफूसँग रोजगार छैन, जेठी छोरी भर्खर कक्षा १२ मा पढ्दै छिन्, कान्छी छोरी कक्षा ७ मा पढ्छिन्, छोरोलाई विद्यालय के हो थाहै छैन । विहान–साँझको जोहो गर्न पनि नसक्ने अवस्थामा रहेकी उनलाई कहीँ–कतैबाट सहयोग छैन् । ‘विदेशमै ढलेका श्रीमानले काम गर्ने कम्पनीले पनि श्रम स्वीकृतिको अवधि सकिएको भन्दै आर्थिक सहयोग नगर्ने बताएको छ । नेपाल सरकारबाट केही अनुदान वा सहयोग पाएपनि सजिलो हुने थियो ।’–श्रीमानको नाममा रहेको सिन्दुर पुछेर सेतो पहिरनमा कुना बसेकी बिमलाले पीडा पोख्दै सुनाइन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।