दाङ । घोराही उपमहानगरपालिका १४ की बाल्मी केसी पूर्व शिक्षिका हुन् । उनले करिब ३२ वर्षसम्म शिक्षण पेशामा काम गरिन् । शिक्षण पेशाबाट अवकाश लिएपछि हिजो आज उनको दैनिकी बजारमा यत्रतत्र रहेका फोहर व्यवस्थापन गर्ने नै हो । घोराही बजारलाई फोहरले कुरूप बनाएको अवस्थामा आफूले ती फोहरहरूलाई व्यवस्थापन गर्नको लागि घोराही १७ पनौरामा गत पुस महिनादेखि कवार्ड व्यवस्थापन प्रेस उद्योग सञ्चालनमा ल्याएको उनले बताइन् ।
घोराही उपमहानगर पनि फोहर व्यवस्थापनको लागि काम गर्दै आइरहेको भएतापनि फोहर व्यवस्थापन हुन नसक्दा आफूले पुन : प्रयोग गर्न सकिने फोहरलाई व्यवस्थापन गर्न लागेको उनको भनाइ छ । ‘पानीका बोत्तल, प्लाष्टिकका झोलाहरू लगायत फोहरले बजारलाई कुरूप बनाएको थियो,’ उनले भनिन्, ‘फोहर व्यवस्थापनका उपमहानगरपालिका लागि रहेको छ । तर, सहज तरिकाले काम भएको छैन् । म बजार तिर आउँदा बजारमा देखिएको फोहर देख्दा साह्रै नराम्रो लागेको हुन्थ्यो । यी पुनः प्रयोग हुने फोहरहरु कसरी तह लगाउन सकिन्छ होला भन्ने सोच्दथ्ये । त्यसैले गर्दा मैलै यो उद्योग सञ्चालनमा ल्याए ।’
हामीले हेर्दा सामान्य लागे पनि यी फोहरमैलाले वातावरणमा मात्र नभइ माटोलाई समेत असर गर्दै आइरहेको उनले बताइन् । ‘यी फोहरहरू हामीले फाल्ने भनेको बजारको सडक पेट वा खोला कुलामा हो । यी सबै फोहर हाम्रो खेतबारी जान्छन् । त्यस कारणले पनि माटोको उर्वराशक्ति हराउँदै गएको छ,’ उनले थपिन् । साथै, उनले आफूले यो फोहर व्यवस्थापन उद्योग सञ्चालनमा ल्याएपछि स्थानिय सरकारलाई पनि सहयोग पुगेको बताइन् । उपमहानगरलाई मात्र फोहर व्यवस्थापन गर्नको लागि चुनौती छ । तर, आफूहरूले पुनः प्रयोग हुने फोहर ल्याएर व्यवस्थापन गरिदिए पछि धेरै सहज भएको उनको भनाइ छ । केसीका अनुसार हालसम्म उद्योग सञ्चालन गर्नको लागि करिब ३० लाख लगानी लागि सकेको छ । अहिले उद्योगबाट उत्पादन भएको फोहरलाई भैरहवा, बुटवल र नेपालगञ्ज पठाउँदै आएको समेत उनले बताइन् । उनका अनुसार बजारको फोहर व्यवस्थापन सँगै उद्योगमा १२ जना व्यक्तिहरूले रोजगारी पाएका छन् ।
उद्योगबाट हिजो आज दैनिक ६ टन जति फोहरबाट पुन ः प्रयोगका लागि उत्पादनहरू भइरहेको उद्योगका मेसिन अपरेटरमा काम गर्दै आएका किरण केसीले बताए । उनले यहाँ काम गर्न पाउँदा धेरै खुशी लागेको समेत बताए । पानीका बोतल लगायत अन्य फोहरजन्य कच्चा पदार्थहरूलाई १० देखि १२ रुपैयाँ किलो खरिद गर्ने गरिएको उनको भनाइ छ । यता घोराही उपमहानगरपालिकाले पनि फोहर व्यवस्थापन गर्दै आइरहेको छ । उपमहानगरपालिकाले यही बैशाख १ गतेदेखि उपमहानगरका नागरिकहरूसँग फोहर किन्न शुरु गरेको छ । त्यस्ते उपमहानगरपालिकाले फोहरबाट ग्याँस उत्पादन गर्न समेत लागेको छ । जसको अब अन्तिम तयारी भइरहेको छ ।
प्रतिक्रिया