काठमाडौं । सवारी तथा सवारीजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री गर्ने उद्देश्यले हरेक वर्ष नाडा अटो शो हुँदै आएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शो दसैंको नजिकै हुने गरको छ । नाडा अटो शोमा सवारी आयातकर्ता कम्पनीहरुले नयाँ नयाँ मोडलका सवारी प्रदर्शनी तथा बिक्रीका लागि ल्याउने गरेका छन् । अटो शोमा नेपाली बजारमा उपलब्ध सबैजसो सवारी ब्रान्डहरु सहभागि हुने भएका छन् । नाडा अटो शो २०१९ आगामी भदौ १० देखि हुनेछ । यो वर्षको अटो शोमा नेपाली बजारमा विभिन्न कम्पनीहरुले ल्याउन सक्ने नयाँ कारको बारेमा यहाँ उल्लेख गरेका छौं ।
हुन्डाई भेन्यू
हुन्डाईको भन्यू कार नेपाली बजारमा नाडा अटो शो भन्दा केही समय अघि आउने अनुमान गरिएको छ । भारतमा केही महिनाअघि सार्वजनिक भएको भेन्यू तीनवटा इन्जिन अप्सन १.२ कप्पा पेट्रोल, १.० लिटर ३ सिलिन्टर टर्बोचाज्र्ड पेट्रोल र १.४ लिटर, फोर सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।
संसारभर पछिल्लो दिनमा कार उत्पादकले टर्बोचार्ज्ड इन्जिनमा गाडी ल्याउन सुरु गरेका छन् । भेन्यूमा रहेको १.० लिटर ३ सिलिन्टर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११८ बीएचपी पावर र १७२ एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यस इन्जिनले सर्वाधिक पावर जेनेरेट गर्छ । यसको पावर १.४ लिटर डिजेल इन्जिनभन्दा पनि निकै बढी रहेको छ । यसको सुरुवाति मूल्य ३५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
टाटाको अल्ट्रोज
टाटाले मोटर्सले उत्पादन गरेको प्रिमियम ह्याचव्याक कार अल्ट्रोज नाडा अटो शो २०१९ मा नेपाल ल्याउने अनुमान गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ उक्त कार ल्याउन लागेको हो ।
यो कारमा एलइडी प्रोजेक्टर हेडल्याम्प, डेटाइम रनिङ लाइट, अलोय ह्वील, मल्टिपल राइडिङ मोड, इन बिउल्ड नेभिगेसन, भ्वाइस कमान्ड, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटीलगायत विशेषता छ ।
त्यस्तै अल्ट्रोजमा सेमी–डिजिटल इन्ट्रुमेन्ट क्लस्टर राखिएको छ । टाटा अल्ट्रोज १.२ लिटर टर्बो पेट्रोल इन्जिन र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछ । टाटाको प्रिमियम ह्याचब्याक कार अल्ट्रोजको मूल्य करिब ३३ लाखदेखि ३५ लाख रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।
टाटा टिगोर इभी
भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स यो वर्षको नाडा अटो शोमा टिगोर इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । कम्पनीले उक्त कार गत वर्षको अटो शोमा प्रदर्शनीका लागि मात्र ल्याएको सो इलेक्ट्रीक कार यो वर्ष बिक्री गर्ने गरि नै ल्याउने भएको हो ।
फोर्ड इकोस्पोर्ट थन्डर
फोर्ड मोटर्सले भारतीय बजारमा इकोस्पोर्टको थन्डर इडिसन केही समयअघि सार्वजनिक गरेको हो । यो एसयूभी नाडा अटो शोमा आउन सक्ने छ । नेपाली बजारमा जीओ फोर्डले यो कार बिक्री वितरण गर्दै आएको छ ।
इकोस्पार्ट थन्डर इडिसनमा इलेक्ट्रीक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्लस्टर लगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ । नयाँ इकोस्पोर्टमा १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिन भएको यसले १२१ बीएचपी र १५० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले ९८ बीएचपी पावर र २ सय ५ एनएम टर्क दिन्छ । दुवै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।
रेनो ट्राइवर
रेनोले हालै भारतमा ल्याएको ट्राइबर मल्टियुटिलिटी भेइकल (एमपीभी) नाडा अटो शोमा नेपाल आउने भएको छ । यो कार नेपाली बजारमा भदौ १० गते सार्वजनिक हुने अनुमान गरिएको छ । नेपालको लागि रेनोको आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइल्सले ट्राइवर ल्याउने भएको हो ।
५ र ७ सिटर अप्सनमा उपलब्ध हुने यो कार ५ स्पीड म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ । १.० लिटर ३ सिलिन्डर टर्बाेचाज्र्ड पेट्रोल इन्जिनले ९० बीएच पावरका साथै ११० एनएम टर्क उत्पादन गर्छ । यसको लम्बाई ४ मिटरभन्दा कम हुनेछ ।
एमजी इजेडएस
एमजीको इलेक्ट्रीक कार एमजी इजेडएस नेपाली बजारमा आउने भएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी इजेडएस नाडा अटो शोमा ल्याउन लागेको हो ।
कम्पनीले १ लाख रुपैयाँ लिएर एजेडएसको बुकिङ समेत सुरु गरेको छ । नेपाल आइपुग्दा एमजी इजेडएसको मूल्य ५० देखि ५५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने दाबी कम्पनीले गरेको छ । विभिन्न मुलुकहरुमा गरिएको परिक्षणका आधारमा उक्त नतिजा आएको एमजीको भनाई छ ।
बीवाईडी एम–३
चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले नेपाली बजारमा मिनि मल्टि यूटिलिटी भेइकल (एमपीभी) एम–३ ल्याउने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याउन लागेको हो ।
मिनि एमपीभी एम–३ गाडी ५ सिटर र ७ सिटर अप्सनमा उपलब्ध हुनेछ । यो गाडीको सुरुवाती मूल्य करिब ४५ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ । यो गाडी नाडा अटो शोमा आउने छ । बीवाईडी एम–३ ले फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ ।
महिन्द्रा एक्यूभी–३००
भारतीय गाडी उत्पादन कम्पनी महिन्द्राले उत्पादन गरेको एक्सयूभी–३०० यो वर्षको नाडा अटो शोमा नेपाल आउने भएको छ । कम्पनी यो एसयूभी केही महिना अघि आयोजना गरेको महिन्द्रा उदयमा शोकेस गरेको थियो । आगामी भदौमा हुने अटो शोमा भने एक्यूभी–३०० बिक्री गर्ने गरि नै ल्याउने जनाएको छ ।
कम्पनीले यसको मूल्य अहिलेसम्म निर्धारण नगरेतापनि ४१ लाख रुपयाँ हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
किया निरो
नेपालमा कियाका कार कन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको छ । कियाको नयाँ इलेक्ट्रीक कार निरो यो वर्षको अटो शोमा सार्वजनिक हुने भएको छ । किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा दिइएको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम–टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको रफ्तार पकड्न सक्ने कम्पनीले दाबी गरेको छ । एक पटकको फुलचार्जमा निरोले ४८० किलोमिटर माइलेज दिनेछ ।
होन्डा नयाँ सिभिक
होन्डाले आफ्नो मिड साइज सेडान कार सिभिकको १०औं संस्करण केही महिनाअघि भारतीय बजारमा सार्वजनिक गरेको छ । उक्त कार यो वर्षको अटो शोमा नेपाली बजारमा आउने भएको छ ।
होन्डाले सिभिक १.८ लिटरको पेट्रोल इन्जिनले १४१ बीएचपीको पावर र १७४ एनएमको टर्क जेनेरेट गर्छ भने १.६ लिटर ४ सिलिन्डर डिजेल इन्जिनले १२० बीएचपीको पावर र ३०० एनएमको टर्क जेनेरेट गर्छ ।
दाय इलेक्ट्रीक
चिनियाँ ब्रान्ड दायका इलेक्ट्रीक कार नाडा अटो शोमा ल्याउने भएको छ । कम्पनीको ईभी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । लिथियम आयोन ब्याट्रीका साथ आएको सो ईभीले १ सयदेखि १५० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया