ताजा अपडेट »

‘पहिला सत्कार, पछि बलात्कार’

शुक्रबार, १० बैशाख २०७८, १८ : ३६
8 Shares
शुक्रबार, १० बैशाख २०७८
8 Shares

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली सालघारी टोलका दिपक नेपाली स्थानीय एक क्षेत्री थरकी युवतीसँग गहिरो प्रेम सम्वन्ध राख्दै आएका थिए । क्रमशः उनीहरुको प्रेम सम्बन्ध झाङ्गिदै गएपछि उनीहरु अलग–अलग भएर बस्न सकेनन् र भागी विवाह गरेर हिँडे । यो दुई महिना अघिको कुरा हो ।

त्यति बेला उनीहरु भागि बिवाह गरेर बाग्लुङ्गको खर्बाङ्ग स्थित नेपालीको मामा घरमा गएर करिब एक हप्ता बसे । सोही क्रममा ति युवतीका परिवारले प्रहरीमा उजुरी गरे । प्रहरीले खोजतालस गरेर उनीहरु दुबै जनालाई नियन्त्रणमा लियो । उक्त उजुरीपछि छलपलफमा सहभागि एक दलित अधिकारकर्मी भन्छन्–‘ती युवतीले उ बाट छुट्टिएर बस्नु परे झुण्डिएर मर्छु भनेर मानिन । उमेर पुगेको छैन भनेर हामीले समेत सम्झायौं ।’

तर माईती पक्षले भने अनेक उपाय लगाएर घटनालाई अन्तै मोड्ने प्रयासलाई जारी राखे । अन्यत्मा ति युवतीलाई युवाले ललाई फकाई गरी बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता भयो । नाम नबताउने सर्तमा घटनालाई नजिकबाट बुझेका एक प्रहरी भन्छन्-‘बिचरोलाई (युवालाई) नराम्रोसँग फसाइयो ।’ विवाहका लागि ति युवतीको उमेर नपुगेकै कारण त्यस अघि सहमति मै जे सुकै सम्बन्ध भएको भए पनि त्यो बलात्कार मुद्दा बन्यो र अदालतमा पेश भयो । अन्ततः आफ्नै प्रेमीका, अझ भनौं उनकै शब्दमा श्रीमति समेत भइसकेकी ति युवतीको मुद्दापछि बलात्कार अभियोगमा नेपाली प्रहरीको नियन्त्रणमा रहे । अहिले उनी मुद्दा खेप्दै पुर्वक्षका लागि जिल्ला कारागार गुल्मीको थुनामा छन् ।

जिल्लाकै मदानेगाउँपालिका–६ पुर्कोटदहा सुभाष नेपाली पनि यस्तै प्रकृतिको घटनाबाट पीडित भएको गुनासो गर्छन् । उनले पनि जिल्लाको मालिका गाउँपालिका-६ अर्जैकी एक क्षेत्री थरकी युवतीसँग लामो समय प्रेम सम्वन्ध कायम राखे । उनका जेठा बुवा तथा गाउँका एक नेताले समेत उनीहरु बीच करिब ४ वर्षदेखि प्रेम सम्बन्ध रहेको कुरा बताए । यसैबीच गत वर्षको बैशाख १८ गतेका साँझ सुभाषले ति युवतीलाई विवाह गरि घर मै भित्राउन ल्याए । घरमा रमाईलोसँग बेहुली भित्राएको केहि घण्टापछि पुर्कोदहबाट प्रहरी आयो र राती ९ बजेतिर दुबै जनालाई प्रहरीले लगेर गयो । राती नै माइती पक्षले केटीलाई भगाएर लगे । यो घटनापछि सुभाषको परिवारलाई मुद्दा चलाउने धम्कि आउन थाल्यो । धम्किबाट बच्न उनीहरुको परिवार नै विस्थापित भएर भारतर्फ लागे ।

सँगै बाच्ने सँगै मर्ने कसम खाएकी प्रेमीकालाई विवाह गरे ल्याएको केही घण्टामै परिवार र प्रहरीले खोसेर लग्ने मात्र होइन बारम्बार धम्कि आउन थालेपछि आफू तड्पी रहेको पीडित युवाले गुनासो गरे । ‘म उनी बिना बाँच्न सक्दिँन, उनी पनि म विना बाँच्न सक्दिँनन् तर उनका परिवारले उनको फोन नै स्वीचअफ गरि दिएका छन् ।’–पीडा व्यक्त गर्दै ति युवाले भने ‘हाम्रो सँगै जीउँने मर्ने सपनालाई कसरले पूरा गरिदेला ?’ सुभाषले यसरी विनौना गरे पनि उनलाई सहयोग गर्न कानूनी मान्यताले बार लगाएको थियो । उनको उमेर २२ वर्ष पूरा भए पनि ति युवतीको उमेर भने भर्खर १८ पूरा भएर १९ लागेको थियो । कानूनी जग बलियो भएका कारण पनि ति दुई बीचको गहिरो सम्बन्धलाई युवतीका परिवारले अस्विकार गरेका कारण सुभाषलाई मुद्दा चलाएर जेल हालिदिने धम्कि आउने गरेको थियो ।

उल्लेख गरिएका यी घटना प्रतिनिधि पात्र मात्रै हो । गैर दलित समुदायकी युवतीसँग प्रेम सम्बन्ध राख्ने वा विवाह गर्ने अधिकांस दलित युवाहरु जेल जाने वा गाउँबाट विस्थापित हुनु पर्ने समस्या रहेको दलित अगुवाहरु बताउँछन् । गैर दलितसँग प्रेम सम्बन्ध राखेकै कारण सामाजिक रुपमा तिरस्कृत तथा भौतिक रुपमा कुटपिटको समेत सामना गर्नु परेको उनीहरु बताउँछन् । गुल्मीमै दुई वर्ष अघि एक युवालाई आफ्नी प्रेमीकाले होटलमा बोलाएपछि भेट्न पुगे । दुबैजनाको सहमतीमा रात विताएपछि युवतीका परिवारले बलात्कार मुद्दा लगाएर ती युवालाई जेल पुर्याए । अहिले पनि उनी कारागारमा सजाय भोगिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुर्षोतमप्रसाद पाण्डेले उमेर नपुगेकी युवतीसँग शाररिक सम्वन्ध राखे त्यो बलात्कार मुद्दा ठहर हुने र उनीहरु विवाह गरेर हिडेको भए पनि त्यो बैवाहिक सम्वन्ध ठहर नहुने कानुनी प्रवधान बताए । कतिपय युवा युवतीहरुले आपसी सहमतीमै शारीरिक सम्बन्ध तथा वैवाहिक सम्बन्धमा गासिए पनि उजुरी परेको अवस्थामा उमेर नपुगेको छ भने बलात्कार मुद्दामै कारबाही अगाडी बढाउनु पर्ने बाध्यता रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।